Edukhabar
बुधबार, १२ बैशाख २०८१
गतिविधि

नेपाललाई 'अवार्ड'

सोमबार, २७ साउन २०७६

काठमाडौं - शिक्षा मन्त्रालयका सहसचिव खगेन्द्र नेपाललाई डेडिकेशन 'अवार्ड' बाट सम्मान गरिएको छ । प्रशासनमा रहेर शिक्षा क्षेत्रमा योगदान गरेको भन्दै उनलाई शिक्षालय मासिकले उक्त सम्मान प्रदान गरेको हो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले उनलाई उक्त सम्मान प्रदान गरेका हुन् । 

तत्कालिन परीक्षा नियन्त्रक नेपाललाई एसएलसी प्रश्नपत्र छाप्न जनक शिक्षा सामग्री केन्द्रको गोप्य प्रेसमा बसेका बेला २०७२ साल माघ २८ गते बेलुका मष्तिस्क घात भएको थियो । मष्तिस्कमा रगत जम्ने क्रम बढ्दै गए पछि उनको टाउकोको अपरेसन गरिएको थियो । उपचार पछि स्वास्थ्यमा उल्लेख्य सुधार भए पनि उनको दाहिने हात र खुट्टा अझै पनि स्थिर हुन सकेको छैन । उनलाई हिँडडुलमा समस्या छ । 

शारिरिक रुपमा समस्या भएर पनि शिक्षा क्षेत्रमा योगदान पुर्याईरहेको सम्मान स्वरुप थप उत्साहका लागि नेपाललाई उक्त अवार्ड प्रदान गर्ने निर्णय गरिएको शिक्षालयका प्रधान सम्पादक श्याम तण्डुकारले बताए । 'मृत्यसंग विजय प्राप्त गरी हाल शारीरिक अस्वस्थताका बावजुद पनि कार्यरत रहेकोले उक्त सम्मान गरिएको' उनले बताए ।  

उपचार पछि २०७३ साउनबाट उनी काममा फर्केका थिए । तत्कालिन शैक्षिक जनशक्ति विकास केन्द्रको मानव संशाधन विकास महाशाखामा प्रमुखका रुपमा कार्यरत उनी अहिले शिक्षा तथा मानव श्रोत विकास केन्द्र मातहत रहेको सोही महाशाखामा सोही पदमा कार्यरत छन् । 

शिक्षालयले आफ्नो १५ औं संस्करणमा उनलाई सम्मानित गर्न बोलाए पनि मञ्चमा उक्लिन असहज भए पछि उनलाई सम्मान गर्न दाहाल र पौडेल उनी बसेकै दर्शकदिर्घामा ओर्लेका थिए । सम्मान ग्रहण गर्दा निकै भावुक देखिएका नेपालले सम्मान ग्रहण पछि एडुखबरसँग संक्षिप्त प्रतिकृया दिदैं 'जस्तै परिस्थितीमा पनि कर्म गर्न छाड्न हुन्न भन्ने आफ्नो मान्यता' अटल रहेको उल्लेख गरे । 

२०५३ सालमा शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेका नेपाल २०६८ सालमा खुल्ला प्रतियोगिताबाट सिधै सह सचिव भएका थिए । सहसचिव भए पछि उनी पूर्वाञ्चलको क्षेत्रीय शिक्षा निर्देशनालयमा निर्देशक, शिक्षक सेवा आयोगमा प्रशासकीय प्रमुख र तत्कालिन शिक्षा विभागमा निर्देशक रहेका थिए । शिक्षा विभागमा निर्देशक रहेकै बेला नेपाललाई अघिल्लो पटक गिरिराजमणि पोखरेल शिक्षा मन्त्री भएका बेला परीक्षा नियन्त्रक बनाईएको थियो । उनी नियन्त्रक भए पछि एसएलसीमा सहभागि विद्यार्थीको विवरणमा हुने गल्ति सच्याउने  नयाँ ब्यवस्था गरेका थिए । 

एसएलसी सकेकै दिन थाह हुन्छ, गल्ति भए नभएको 

एसएलसी परीक्षाको सुधार र व्यवस्थापनमा अत्यन्तै गम्भिर उनी परीक्षाको तयारीका अन्य काम सकेर जनकको प्रेसमा छिरेका बेला दुर्घटना भएको थियो । 

परीक्षा नियन्त्रक नेपालको ९ दिन पछि होस आयो

यसै बीच शिक्षालयको अवार्ड वितरणको १५ औं संस्करणमा पत्रकारद्वय नेपाल टेलिभिजनका रविचन्द्र पराजुली र कारोबारका गोपाल संग्रौलालाई यस बर्षको  पत्रकारिता पुरस्कार प्रदान गरियो । पत्रकार राजन शर्मा र दहालले संयुक्त रुपमा उनीहरुलाई पुरस्कृत गरेका थिए । 

कार्यक्रममा हनुमन्ते मावि दोलखाका शिक्षक गोपालध्वज श्रेष्ठलाई उत्कृष्ट शिक्षकका रुपमा सम्मान गरियो । उनलाई शिक्षक महासंघका अध्यक्ष बाबुरामथापार दाहालले सम्मान गरेका थिए । देशभरीबाट उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा सुर्खेतको जनज्योती मावि र निजी तर्फ रुपन्देहीको न्यू होराईजनलाई सम्मान गरियो । 

उक्त अवसरमा पूर्व सचिव तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल सहित विभिन्न १४ विधामा व्यक्ति र संस्था गरी १७ जनालाई सम्मान गरिएको थियो । 

कार्यक्रममा बोल्दै दाहालले संसारका विकसित देशहरुले शिक्षालाई प्राथमिकतामा राखेकै कारण अहिलेको उपलब्धि हासिल भएको उल्लेख गरे । शिक्षा विकासको आधारका रुपमा रहेको भन्दै उनले सरकारले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको दावी पनि गरे ।  

'शिक्षा नीति बनाउन उच्च स्तरीय शिक्षा आयोगले प्रतिवेदन बुझाईसकेको छ' उनले भने, 'आवश्यक विधयेकहरु निर्माणको काम पनि अघि बढेको छ ।' 

तर शिक्षा मन्त्री पोखरेलको अध्यक्षतामा गठित आयोगले गत माघमा प्रधानमन्त्री केपी ओलीलाई बुझाएको प्रतिवेदन अहिले सम्म सरकारले सार्वजनिक गरेको छैन । यस्तै शिक्षा मन्त्रालयले तयार पारेको शिक्षा विधेयक पनि अलपत्रै परेको छ । 

पढ्नुहोस् : मन्त्रीको सचिवालय हावी हुँदा शिक्षा ऐन अलपत्र, कानूनको पनि असहमती

 

प्रतिक्रिया