Edukhabar
बुधबार, १२ बैशाख २०८१
विचार / विमर्श

अदालतको तारिख शैलीमा परीक्षा नियन्त्रण कार्यालयमा हैरानी

शनिबार, ०९ कार्तिक २०७६

२०७५ सालको एसईई परीक्षाको नतिजा प्रकाशन हुँदा, हिमालय मावि निशङ्खे केन्द्रबाट परीक्षा दिने, सरस्वती मावि खानीभञ्ज्याङ, ओखलढुङ्गाका विद्यार्थीमध्ये पाँचजनाको नतिजा कम्प्युटर सिस्टमले देखाएन । पहाडी भौगोलिक विकटताका कारण, ती विद्यार्थीको नतिजा प्रकाशन गराउने कार्यवाही अगाडि बढाउनका लागि, ‘नट फाउण्ड केस’ अन्तर्गत आवश्यक पर्ने सम्पूर्ण कागजातहरू (सम्बन्धित विद्यार्थीको सक्कल नक्कल दुवै थरी प्रवेशपत्र, विद्यालयको सिफारिस, समष्टिगत परीक्षा आवेदन फारामको प्रतिलिपि, प्रति विद्यार्थी परीक्षा आवेदन फारामका लागि रकम जम्मा गरेको भौचरको प्रतिलिपि, केन्द्राध्यक्षको सिफारिस, शिक्षा विकास तथा समन्वय इकाईको सिफारिस) जुटाउन निकै समय र श्रम लागेको थियो । सम्बन्धित विद्यार्थीबाट त्यो काम सम्भव हुँदैन भन्ने लागे पछि , जसरी तसरी सबै कागजात जुटाएर म असार २४ गते परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरमा फाइल दर्ता गर्न पुगें । त्यस पछिका दिनहरूमा कार्यालयमा सम्पर्क राख्दै गर्दा, तीन जना विद्यार्थीको नतिजा साउनको पहिलो हप्ता नै प्राप्त भयो । तर, त्यस पछिका दिनहरूमा उपत्यकामै बसेर, दर्जन पटक कार्यालयमा सम्पर्क गर्दा पनि बाँकी दुईजना विद्यार्थीको नतिजा प्राप्त हुन सकेन ।

त्यति खेर परीक्षा नियन्त्रण कार्यालयमा देशैभरिका निकै टाढा टाढाबाट आएका समस्याग्रस्त मानिसहरूको सधैं भीड देखिन्थ्यो । कार्यालयमा कर्मचारी थोरै भएर पनि हो कि ! शायद त्यो, व्यस्त हुने ‘सिजन’ नै भएर पनि होला, सबै कर्मचारीलाई भ्याइनभ्याइ थियो । विभिन्न् व्यक्तिले भोगेका भिन्दा भिन्दै हैरानी सहितका प्रश्नहरूको उत्तर दिई सबैको चित्त बुझाउन त्यहाँका कर्मचारीलाई पनि गाह्रो परिरहेको थियो ।

बिचरा ! कहाँ कहाँदेखि आएका सेवाग्राहीका अनेक समस्याहरू (नाम बिग्रिएका, जन्ममिति बिग्रिएका, प्रयोगात्क अङ्क छुटेका) थिए । एक थरी, आवश्यक कागजात नपुगेर निल्ल देखिन्थे । अर्का थरी, कागजात पुग्दापुग्दै पनि र धेरैपटक धाउँदा पनि काम नभएकोमा बेचैन र निराश देखिन्थे ।

हाम्रो विद्यालयको भने सबै कागजातहरू पुगेको थियो । तर त्यहाँका केही कर्मचारीहरूको झर्कोफर्को, भाका रखाइ, तल्लोे स्तरको व्यवहार र एकअर्कामा सम्पर्क राख्नू भन्ने सल्लाह व्यहोरेर अदालतको तारिख खेपेझैं कार्र्यालयमा धाइरहँदा पनि पनि संकेत नं ०१३२४३५ ‘क्यू’ र ०१३२४३६ ‘आर’ भएका दुईजना विद्यार्थीको नतिजा हात परेन । ‘यो कारणले भएन’ भन्ने उत्तर पनि आएन । प्रक्रिया लामै भए पनि त्यतिञ्जेलसम्म त अवश्यै सक्किनु पर्ने थियो । तर सकिएनछ ! त्यत्तिकैमा पूरक परीक्षाको आवेदन फाराम भर्ने म्याद सकियो ।

काम होला भन्ने आशै आशामा पर्खेर विद्यालय फर्कनु अघि भदौ ५ गते कार्यालयमा सम्पर्क राख्दा, ‘केही दिनमै काम हुन्छ’ भनियो । त्यसैलाई विश्वास गरी, ‘काम पक्कै पनि हुन्छ’ भन्ठानेर ढुक्क मानियो । वर्षे बिदा पछि विद्यालय सञ्चालन हुन थालिसकेको थियो । त्यहाँका कर्मचारीहरूको फोन नं उपलब्ध नभएको हुँदा, यसै बीच कुनै सम्पर्क पनि हुन सकेन । पछिल्लोपटक यही कात्तिक ४ गते परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गरेर फेरि शुरुदेखिको सबै कुरा भनेर आग्रह गर्दा पनि समस्या समाधान भएन । बरु त्यहाँका एकजना कर्मचारीबाट, ‘कम्प्युटरको सर हुनुहुन्न । अब तिहारको भोलिपल्ट आउनू’ भन्ने ‘अमूल्य सल्लाह’ प्राप्त भयो ।

यता विद्यार्थीको एसईई परीक्षा आवेदन फाराम खुलिसक्यो र त्यसको म्याद यही २५ गतेसम्म छ । ‘तिहारको भोलिपल्ट’ सम्म पनि ग्रेड सिट प्राप्त नभएमा, ती दुईजना परीक्षार्थीको फाराम भर्ने/भराउने उपाय के होला ? यस्तो समस्या अरूलाई पनि परेको छ कि !

श्रेष्ठ ओखलढुङ्गाको खानीभञ्ज्याङ स्थित सरस्वती माविका शिक्षक हुन् । 

प्रतिक्रिया