Edukhabar
विहीबार, ०६ बैशाख २०८१
विचार / विमर्श

शिक्षक सरुवामा भ्रष्टाचार !

शुक्रबार, २० मंसिर २०७६

नेपालमा चरम रुपमा भ्रष्टाचार बढिरहेको समयमा पनि ब्यारेक भित्र रहेका सैनिक जवान र कुनै प्रशासनिक पदमा नरहेका शिक्षकहरु हिजो सम्म यस्मा मुछिन नसक्ने अवस्थामा थिए । शिक्षण पेशा घुस लिने र दिने काममा चाहेर पनि लाग्न नसकिने पेशा थियो तर बदलिदोँ परिस्थिती र नीति नियमहरु संगै शिक्षकहरु पनि घुस लिन र दिन बाध्य भएका छन्, जसको मुल कारण शिक्षक सरुवा प्रकृया हो ।

नेपालमा शिक्षा नीति निरन्तर बदलिरहने गरेका छन् । बदलिदोँ युग सँगै नीति नियमहरु समय सान्दर्भिक हुनु आवश्यक पनि हुन्छ तर कतिपय नियमहरु बहुमत स्वीकृत भए पनि त्यसको दिर्घकालीन असर नराम्रो देखा पर्न थाल्छ । यस्तै एउटा प्रसंग शिक्षक सरुवामा घर पायकको बिवाद पनि हो । उसो त सबै सरकारी कर्मचारीले घर पायक खान पाउने की नपाउने भन्ने मुद्दा पनि होला तर शिक्षकलाई घर पायक दिने की नदिने भन्ने विषय दीर्घकालीन असर सहितको छ ।

एउटा शिक्षक र अन्य कर्मचारीमा धेरै फरक छ । यो सबैले बुझेको कुरा हो की शिक्षक कुनै पनि समाजको र परिवारको दुख सुखसँग नजिकै बाट जोडिएको हुन्छ, उसले एउटा परिवारको बच्चासँगसँगै हुर्किनु पर्छ । समाजको गति संगै बदलिनु परेको हुन्छ । उसो त शिक्षकहरु पनि गुण क्षमता र स्वभाबका दृष्टिले वैयक्तिक रुपमा भिन्न भिन्न होलान् । तर पनि विद्यालय स्तरका शिक्षकको साइनो विद्यार्थि र उसको घर परिवारसँग अनिवार्य रुपमा हुन्छ । गाउँघर र पहाड तीर शिक्षकहरु परिवारका सदस्य जत्तिकै भएका हुन्छन् । यस्तो अवस्थामा एउटा शिक्षकलाइ अनिवार्य रुपमा साथमा चाहिने भनेको आफ्नो पनि परिवार र केटाकेटी हुन् । कतिपयले तर्क गर्छन् शिक्षकहरु जहाँ गए उतै रमाउन सक्छन् पारिवारिक प्रेम पाउँछन सामाजिक सम्मान पाउँछन् । हो यो सहि हो तर यस्को भित्री पाटो के हो त भने एउटा शिक्षक घरबाट टाढा बस्दा पनि आफ्नो घरलाइ सबैको घरमा र आफ्नो बच्चालाइ सबैको बच्चामा खोजिरहेको हुन्छ । यो महानता हो शिक्षकको । साधनाले उसलाइ महान कर्मयोगी, समाजसेवी, राजनितिज्ञ बनाउन सक्छ । कदाचीत यो पवित्र कार्यको दुष्परिणाम पनि देखिन सक्छ । या त शिक्षक अर्को बिहे गर्छ या खराब यौन कर्ममा लाग्छ ।  या डिप्रेस्ड भइ जाँड रक्सी जुवा तासमा वा अस्वस्थ राजनीतिमा लागिरहेको हुन्छ । 

आजको यस युगमा मानवीय संस्कृती र संस्कारहरु अति तरल स्वरुपका भएका छन् । यस्तो बेला एउटा शिक्षक आँफु जन्मे हुर्केको ठाउँ भन्दा टाढा, आफ्नो परिवार नभएको अवस्थामा अनेकौँ सांस्कृतिक स्खलनमा पर्दछ र उसको पेशागत मर्यादा कुल्चिदैँ जान्छ । उ एउटा विद्धान पण्डित शिक्षक बन्नसक्ला तर एउटा बच्चाको मन हृदय बुझ्ने ज्ञानी मनोवैज्ञानिक कदापी बन्दैन । आफ्नो श्रीमती र बालबच्चाको झञ्झटबाट मुक्त भएर एक्लै रमाउन खोज्ने शिक्षक आफ्ना विद्यार्थिका परिवारको समस्यालाइ पनि झञ्झटकै रुपमा ब्याख्या गर्छन् । फलस्वरुप उनले एउटा बच्चालाइ सहि खुशी दिन सक्दैन जुन शिक्षक एउटा बालकलाई खुशी दिन सक्दैन उसले बाँकी अरु के देला ? 

एउटा शिक्षकले आफु जहाँ कार्यरत छ त्यहिँ आफनो परिवार लिएर पनि जान सक्छ तर कतिपय अवस्थामा यो विभिन्न कारणले असम्भव पनि बनेको हुन्छ । कतिपय अवस्थामा यो अव्यबहारिक भएको देखिन्छ आफुले मेहनत गरेर घर ब्यवस्था बनाउनु परेको ठाउँमा नै शिक्षकलाई असली खुशी मीलेको हुन्छ चाहे त्यो विकसीत सुगम ठाउँ होस् वा दुर्गम पहाडी ठाउँ, शिक्षकले आफ्नो कमाइले जे जस्तो भौतिक सुविधा जुटाउँछ त्यो उसको स्थायी बसोबासको ठाउँ हुन्छ । यदि उसले त्यो सुविधा आफु र आफ्ना बालबच्चा परिवारजनसँग उपभोग गर्न पाएन भने उसको पेशा प्रती खीन्न  हुन्छ । खिन्नता र नैराश्यताले भरिएको शिक्षक के शिक्षण गर्न सक्ला ? 

अब  घर पायकका शिक्षकका अवगुण वा बेफाइदाका तर्कहरुलाइ गहिराइमा बुझौँ, घर पायक शिक्षकलाइ लाग्ने सबै भन्दा ठुलो आरोप गलत राजनीतिक फाइदा उठाउनु, नियमित नहुनु र पेशागत क्षमता विकास नगर्नु आदि हुन् । यि कुराहरु शिक्षकलाइ एउटा सामाजिक अगुवा, प्रवुद्ध व्यक्ति र भोलीको भविष्यको आधार कोर्ने मान्छेका रुपमा  हेर्दा सकारात्मक र उचित देखिन सक्छन घरको काम भ्याउँदै स्कुल पुग्न ढिलो गर्दा उसलाई पारिवारिक उत्तरदायित्व र स्कुल एउटै जस्तो लाग्छ । त्यो एउटा आत्मीयताको पक्ष पनि हो । स्कुल नजिकै बारी छ भने खाली पिरियडमा बारीमा हलो जोत्न जान्छ त उसले आफ्नो पारिवारिक वृत्ति जस्तै पेशागत वृत्ति हाँकेको छ त्यसरी नै उसले आफ्ना बच्चा काममा लगाए झै स्कुलका अन्य बच्चा काममा लगाउँछ । 

यस सन्दर्भमा आज नेपालका शहरी क्षेत्रका उत्कृष्ट भनिएका निजी विद्यालयहरुले आफ्ना विद्यार्थिलाई यस्तो वातावरण कृत्रिम रुपमा तयार गरी बिभिन्न काममा लगाइरहेका छन भने गाउँका मास्टर साहेबहरुले आफ्ना नानी बाबुहरुलाई जीवनको यथार्थ देखाइ र भोगाइ रहेका छन् ।  शिक्षण को यो अति उत्तम र सुन्दर पक्ष हो । यसमा विज्ञ नीति निर्माताको टाउको दुखाइ केवल अल्पकालीन भ्रम हो कीनकी आजका विज्ञहरु हिजो आ आफ्ना गाउँमा तिनै गाउँले शिक्षकहरुको आत्मीयता, सदासयता र उत्प्रेराणाका कारण यहाँ पुगेका हुन् । हाम्रो पुर्वीय दर्शनमा वर्णित गुरुकुलको झलक दिने यस्ता शिक्षकले भविष्यका असल गुणी र महान नागरिक उत्पादन गर्न सक्छन् ।

सबैभन्दा महत्वपुर्ण कुरा के हो भने घरपायक शिक्षकले आफ्ना बच्चा र गाउँका लागि बाहिरका शिक्षक भन्दा कम मेहनत गर्ला भन्नु सरासर मुर्खता हो किनकी सबैका छोराछोरी पढेमा उनका आफ्नै छोरा छोरी पनि पढलान् गाउँको विकास भएमा आँफैलाई फाइदा होला । तर यहाँनेर शहरमा घरपायक खोज्ने र छोरा छोरी निजीमा पढाइ, आफु चाँहि राजनीतिक आडमा मनोमानी गर्ने शिक्षकको प्रसंग अलि फरक छ । त्यस्ता शिक्षकहरु या त पैसा मुखी हुन्छन् या सम्मानका भोका हुन्छन् त्यस्ता वर्गका शिक्षकका लागी पहिलो कुरा छोरा छोरी सरकारी स्कुल पढाउन बाध्य पार्नु पर्छ । दोस्रो निजी शिक्षालयमा लगानी गर्न दिनु ह्ँदैन । तेस्रो राजनीतिक पहिचान बनाउन दिनु हुँदैन । यदि त्यस्तो पाइएमा मात्र अनिवार्य सरुवा गर्नु पर्दछ तर नेपालमा त्यस्ता पहुँचवालालाई कसैले अन्त सरुवा गर्न सक्दैन तीनै शिक्षकले मात्र घरपायक शहर पायक पाइरहेका हुन्छन् । 

पहाडबाट शहर जान शिक्षा का कर्मचारी देखी नेता र शिक्षकका नेता सबैलाइ उनिहरुको रेट अनुसार घुस दिइरहेका हुन्छन् । यो क्रम बढिरहेको छ । मधेसतिर बिहेमा दाइजोको रेट तोकिए जस्तै यता तीर शिक्षक सरुवाको रेट तोकिएको हुन्छ । वास्तबिक पीडा कसलाइ छ ? कसैले बुझेको हुँदैन, बुझ्न खोज्दैन । 

शिक्षक पेशामा बढ्दै गएको यो सरुवा प्रकरणमा हुने घुसखोरी, भ्रष्टाचारको अल्पकालीन असर भन्दा पनि दिर्घकालिन रुपमा अनैतिक भ्रष्ट र दुराचारी समाजको बिज छरिरहेको छ ।

अन्तमा,

भ्रष्टाचारको त्यसमा पनि घुस ख्वाउनु को एउटा कारण अधैर्यता हो । छाटो बाटो खोज्ने नेपालीको चरित्र भईसकेको छ । धेरै जना रातारात अरबपती बन्न चाहन्छन्, लाइनमा पालो पर्खिन जान्दैनन् घुस ख्वाएर भए पनि चाँडो, छोटो तरिका तिर लाग्छन् । उसो त नेपालीहरु दुइ चार बर्षमै नेपाललाई सिंगापुर जति धनि बनाउन खोज्छन् भने प्रतिस्पर्धा त तिब्र नै हुने भयो । मन्त्री भएको दुइ बर्ष मै सिंगापुरे जति धनि बन्नु पर्ला ! सरकारी नोकरी खाएको ५ बर्षमै घर जग्गा गाडी जोडी सक्नु पर्ला ! नोकरी खाँदै काठमाडौको कमाइ हुने ठाउँमा सरुवा हुनु पर्ला ! एकले अर्कोलाइ उछिन्ने एक मात्र हतियार घुस दिनु हो त्यसैले कुन मान्छेले घुस खाएर काम गर्छ त्यस्को ठुलो माग भइरहेको हुन्छ ! त्यसलाईनै उच्च स्थान मिलेको हुन्छ ! एउटा सामान्य सरकारी काम गर्न जाँदा नियम मिचेर पालो मिचेर गर्ने र गराउने कै हतार भएपछि घुसको टेण्डर खोलीने त भैहाल्यो । जसले सबै भन्दा उचो बोली लगाउँछ उसैको काम हुन्छ । हिजो आज नेपालमा शिक्षक सरुवाको पनि बोली लाग्न शुरु गरेको छ । न्युनतम ३ लाख भन्दा बढी ! जसले सबै भन्दा बढी दिन सक्यो उसले चाहेको ठाउँमा सरुवा पाउँछ  ।

बडो दुखको कुरा स्रोत साधनको सहि परिचालन र उपलब्धि बिना दुइ बर्षमै नेपाल धनि बनाउन त भ्रष्टाचार बाहेक अर्को विकल्प नै छैन । त्यसैले जब शिक्षकले यो कुरा बुझेर भ्रष्टाचार गर्न शुरु गर्छन् तब यो भ्रष्टाचार पनि एउटा उच्च आदर्शको कुरा बन्नेछ ।

बुढाऐर, श्री पदम पव्लिक मुक्तिनारायण माध्यमिक विद्यालय सिलगढी, डोटीका शिक्षक हुन् । 

प्रतिक्रिया