Edukhabar
विहीबार, १५ चैत्र २०८०
गतिविधि

प्याव्सन सल्लाहकारको 'शंकास्पद' मृत्यु

विहीबार, २३ माघ २०७६

भक्तपुर - निजी विद्यालय सञ्चालकहरुको संस्था प्याव्सनका भक्तपुर सल्लाहकार हरिदेव गिरीको शंकास्पद मृत्यु भएको छ । काठमाडौं ३१ बानेश्वर आलोकनगर स्थित रेष्टुरेष्टमा बुधबार राती गम्भिर अवस्थामा भेटिएका गिरीलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । 

भक्तपुरको एसएस कलेजका सञ्चालक, रेम्बो ईङ्लिस स्कुलका संस्थापक प्रिन्सिपल समेत रहेका गिरीको शरीरका बिभिन्न भागमा निलडाम देखिएको थियो । नाक र माथिल्लो ओठमा गहिरो चोट तथा टाउकोमा गहिरो चोट लागेर रगत बगेको अनी देब्रे खुट्टा भाँचिएको अवस्थामा भेटिएको गिरीका आफन्त एवं नेपाल दशनामी युवा संघका भक्तपुर अध्यक्ष गोकुल वनले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी काभ्रेका नेता तथा नेपाल दशनामी समाजका केन्द्रीय कोषाध्यक्ष समेत रहेका गिरीको हत्या भएको दावी सहित आफन्तले प्रहरीमा सामूहिक जाहेरी दिएका छन् । प्रहरीले किटानी जाहेरी लिन इन्कार गरेपछि पीडित पक्षले सामुहिक जाहेरी दिएका हुन् । प्रहरी बृत्त वानेश्वरका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले घट्नाको अनुसन्धान सुरु गरेको र पोष्ट मार्टम रिपोर्ट आए पछि मात्रै यकिन रुपमा घटनाबारे भन्न सकिने बताए ।  

गिरीका ७४ वर्षीय पिता शिवशंकर गिरीले रेष्टुरेष्टमा कुटपिट गरि छोराको हत्या भएको दावी गरेका छन् । रेष्टुरेष्ट संचालक एवं अन्य व्यक्तिको घट्नामा संलग्नता रहेको आफन्तको दावी छ । रेष्टुरेष्ट संचालकले सिसि क्यामरा फुटेज समेत मेटाएको पाईएको आफन्तहरुलाई उदृत गर्दै नेपाल दशनामी पत्रकार समाजका अध्यक्ष रमेश गिरीले जानकारी दिए । 

बुधबार राति नै शिक्षण अस्पताल महाराजगञ्जमा उनको शवको पोष्टमार्टम गरी पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटा आर्यघाटमै पुगेर घट्नाप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए ।  

घटनाको छानबिन गरि दोषीलाई कारबाही गर्न नेपाल दशनामी समाज र नेपाल दशनामी पत्रकार समाजले माग गरेको छ । 

प्रतिक्रिया