Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

शिक्षक तलबको विवरण पठाउन स्थानीयलाई ताकेता, नपठाए आफैं व्यवस्था गर्नु पर्ने

विहीबार, ०१ फागुन २०७६

काठमाडौं - पुस मसान्त भित्र पठाउनु पर्ने शिक्षक तलब भत्ता सम्बन्धि विवरण  अझै सम्म नपठाएको भन्दै शिक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् ३ सय ३५ स्थानीय सरकारलाई ताकेता गरेको छ । चालु आर्थिक बर्षका लागि आधारभूत तथा माध्यमिक तहमा स्वीकृत दरबन्दी तथा अनुदानमा कार्यरत शिक्षकका लागि प्राप्त तबल भत्ता पुग नपुग भएमा पुस मसान्त भित्र माग गर्नु पर्ने भए पनि उक्त समय सम्म ४ सय १८ स्थानीय सरकारले मात्रै विवरण पठाएको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले जनाएको छ । 

कार्यक्रम कार्यान्वयन पुस्तिकाले तोकेको समयमा उक्त विवरण प्राप्त नभए पछि शिक्षा मन्त्रालयले सात दिन भित्र विवरण मगाईदिन संघीयलाई पत्राचार गरेको थियो । सोही आधारमा संघीयले गत सोमबार पत्राचार गरेको हो ।  

अब विवरण पठाउन बाँकी रहेका ३ सय ३५ स्थानीय सरकारले उक्त दिन देखि ७ दिन भित्र विवरण पठाउनु पर्ने छ । अन्यथा कार्यक्रम कार्यान्वयन पुस्तिकामा भएको व्यवस्था अनुसार सम्बन्धित स्थानीय सरकारले उक्त रकम आफैं व्यवस्था गर्नु पर्ने हुन्छ । 

पु्स्तिकाको परिच्छेद १ मा रहेको कार्यक्रम कार्यान्वयन मार्गदर्शनको बुँदा १० मा उक्त व्यवस्था गरिएको छ । स्थानीय तहमा सशर्त अनुदान शिर्षकमा विनियोजित शिक्षक तलब भत्ता तथा शैक्षिक कार्यक्रम सञ्चालन अनुदान शिक्षा विकास तथा समन्वय ईकाईबाट प्राप्त प्रमाणित तहगत श्रेणीगत शिक्षक संख्या तथा शैक्षिक तथ्याङ्कका आधारमा हिसाब गरी पठाईएको थियो । 

उक्त बजेटमा छुट एवं पुग नपुग भएमा पुस्तिकामा समावेश गरीएको ढाँचामा भरेर इकाइमा पठाउने र इकाइले जिल्ला भित्रका सबै स्थानीय सरकारको एकिकृत विवरण तयार गरी सिफारिस सहित पुस मसान्त भित्र शिक्षा तथा मानव श्रोत विकास केन्द्रमा  पठाउनु पर्ने व्यवस्था छ । 

'तोकिएको मितिमा विवरण प्राप्त नभई रकम प्राप्त हुन नसक्ने अवस्था आएमा सम्बन्धित स्थानीय तह नै जिम्मेवार हुने छ' मार्गदर्शनमा भनिएको छ । 

प्रतिक्रिया