Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

लाखौं बालबालिकालाई वेवास्ता गर्दै वैकल्पिक सिकाइ शुरु, २५ करोड खर्चको औचित्य माथि प्रश्न

सोमबार, ०१ असार २०७७

काठमाडौं - सरकारले सोमबारबाट शुरु गरेको वैकल्पिक सिकाइमा  लाखौं बालबालिका छुटेका छन् । हरेक बर्ष कक्षा १ मा भित्रिने, आधारभूत तहका विभिन्न कक्षाबाट माथिल्लो कक्षामा प्रवेश गर्ने र विभिन्न कारणले विद्यालय परिवर्तन गर्न वाध्य लाखौं बालबालिकालाई वेवास्ता गर्दै वैकल्पिक सिकाइ शुरु गरिएको छ ।  

शिक्षा तथा मानव श्रोत विकास केन्द्रको पछिल्लो फ्लास रिपोर्ट अनुसार देशभर ३५ हजार ९ सय ९३ प्रारम्भिक बालविकास र पूर्व प्राथमिक कक्षा सञ्चालनमा छन् । यी मध्ये ३० हजार ९७ सामुदायिक प्रारम्भिक बालविकास केन्द्र छन् । पूर्व प्राथमिक शिक्षा कक्षा सञ्चालन गरेका मन्टेसरी लगायत निजी क्षेत्रका संस्थाहरुको संख्या ५ हजार ८ सय ९६ छ । प्रारम्भिक बालविकास कक्षा विद्यालयमै रहेको मन्त्रालयका उच्च कर्मचारीको अर्ध बुझाई भएका कारण अहिले प्रारम्भिक बालविकास तर्फका ९ लाख ९३ हजार ९ सय बालबालिका कक्षा १ प्रवेश गर्नबाटै रोकिएका छन् । टेलिभिजन र रेडियोमा कक्षा सञ्चालन गर्ने गरी केन्द्रले बनाएको तालिकामा कक्षा १ का विद्यार्थीलाई पनि पढाउने कुरा उल्लेख छ । तर अहिले प्रारम्भिक बाल कक्षा नभएका अधिकाँश विद्यालयका कक्षा १ खाली छन् । उक्त कार्यक्रम कसलाई हो ? मन्त्रालयका उच्च कर्मचारीसँग पनि उत्तर छैन ।   

कतिपय बालविकास केन्द्र समुदाय स्तरमा पनि सञ्चालित छन् । त्यस माथि निजी क्षेत्रबाट पूर्व प्राथमिक शिक्षा कक्षा सञ्चालन गरेका मन्टेसरीहरुमा माथिल्लो कक्षा छैनन् । नयाँ भर्ना लगायतका कार्य नगर्न मन्त्रालयले रोकेका कारण ती कक्षाबाट एक कक्षामा भित्रिन तयार भएका लाखौं बालबालिका सिकाइबाट वञ्चित भएका हुन् । हरेक बर्ष बैशाख पहिलो साता भर्ना अभियान सञ्चालन गरेर विद्यालय प्रवेश गराउने चलन भए पनि यस बर्ष कोभिडका कारण उक्त कार्य हुन सकेन । जसले गर्दा ती बालबालिका सहित पूर्व प्राथमिक शिक्षा कक्षा सञ्चालन गरेका निजी मन्टेसरीमा पढ्ने बालबालिकालाई कसरी विद्यालय प्रवेश गराउने भन्ने विषय अन्योलमा परेको छ । वैकल्पिक माध्यमबाट सिकाइ शुरु हुँदा सम्म पनि यो अन्योल हटाउने विषयमा मन्त्रालय मौन छ । 

यसले गर्दा आधारभूत तहको कक्षा १–३, १–५ र ६–८ सञ्चालित सामुदायिक र निजी विद्यालयबाट माथिल्लो कक्षा प्रवेश गर्न तयार भएका लाखौं बालबालिकाको सिकाइ पनि अवरुद्ध बनेको छ । कुल ३५ हजार ५ सय २० विद्यालय सञ्चालनमा रहेकोमा आधारभूत तह १ – ५ सञ्चालित विद्यालय ३५ हजार ६३, आधारभूत ६– ८ सञ्चालित विद्यालय १६ हजार ७ सय ७० र १ – ८ सञ्चालित विद्यालय ३५ हजार २ सय ६२ रहेको शिक्षा मन्त्रालयको तथ्याङ्क छ । अर्थात् ६ हजार विद्यालयका विद्यार्थी कक्षा ९ पढ्न अर्को विद्यालय जान्छन् र करिब २० हजार विद्यालयका विद्यार्थी कक्षा ६ मा अध्ययन गर्न अर्को विद्यालय जानु पर्ने अवस्थामा छन् । यी विद्यालयबाट विभिन्न कारणले अर्को विद्यालय परिवर्तन गर्न पर्ने बालबालिकाको सिकाइ पनि रोकिएको छ ।

यस्तै शहरी क्षेत्रमा रहेका विद्यालयमा पढ्ने बालबालिका आआफ्नो थात थलोमा पुगेको अवस्थामा तिनीहरुको सिकाइ कसरी सुनिश्चित गर्ने भन्ने विषय पनि अस्पष्ट छ । उनीहरुका लागि पाठ्यपुस्तक सम्बन्धित विद्यालयमा पुगेको छ, तर बालबालिका विद्यालय भएको क्षेत्र भन्दा टाढा छन् । जसले गर्दा उनीहरुको सिकाइ सुनिश्चित गर्न पनि मन्त्रालयले थप निर्णय गर्नु पर्ने छ । 

सोमबारबाट शुरु वैकल्पिक सिकाइ कार्यक्रमका लागि सरकारले २५ करोड १८ लाख रुपैंया खर्च गर्दै छ । कोरोना भाईरस कोभिड १९ का कारण विद्यालयमा पठन पाठनमा वाधा आएकोले वैकल्पिक सिकाइमा खर्च गर्ने गरी अर्थ मन्त्रालयले २४ करोड ६ लाख रुपैंया निकासा गरेको छ । उक्त रकम शिक्षा मन्त्रालय मार्फत पालिकाहरुमा रहेका विद्यालय संख्याका आधारमा वित्तिय हस्तान्तरण गरिने मन्त्रालयले जनाएको छ । बाँकी १ करोड १२ लाख रुपैंया सामग्री विकास र टेलिभिजन रेडियोबाट कक्षा सञ्चालन गर्ने गरी शिक्षा तथा मानव श्रोत विकास केन्द्रबाटै खर्च गरिदैं छ । यो रकम असार महिना भित्रै सक्ने गरी कार्यक्रम निर्धारण गरिएको हो । कोभिडका कारण सिकाइमा आएको चुनौती समाधान गर्न आगामी बर्षको बजेटमा १ अर्ब ६४ करोड छुट्याएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले गत मंगलबारको संसद बैठकमा जानकारी गराएका थिए ।

यही बर्षका लागि उक्त रकम खर्च गरिए पनि माथि उल्लेखित लाखौं बालबालिकाका विषयलाई मन्त्रालयले सम्बोधन नगर्दा सम्म उक्त खर्चको औचित्य पुष्टि हुन कठिन छ । प्रविधि मार्फत् हुने सिकाइका चुनौती प्रयोग सँगै विस्तारै सल्टिदैं जाला तर प्रविधिको पहुँचमै नभएका बालबालिकालाई हुने सिकाइ अर्को गम्भिर विषय छ । किन भने निर्धारित पाठ्यसामग्रीको प्रयोगका लागि शिक्षकबाटै गर्नु पर्ने सहजीकरणको उचित प्रवन्ध पनि गरिएको छैन । यस बारेमा मन्त्रालयले ठोस निर्णय नगर्दा सम्म वैकल्पिक सिकाइबाट लाखौं बालबालिका वञ्चित भईरहने छन् ।  

यसैबिच प्रधानमन्त्री केपी ओलीले वैकल्पिक कक्षा सञ्चालन शुरु भएको सन्दर्भमा शुभकामना व्यक्त गर्दै जुन विधि सम्भव छ, त्यही माध्यमबाट पठनपाठन गर्न आह्वान गरेका छन् । शैक्षिक सत्र प्रभावित हुन नदिन र विद्यार्थीको सिकाइलाई निरन्तरता दिन वैकिल्पक कक्षा सञ्चालन गरेको बताउँदै उनले विद्यार्थी, अभिभावक र शिक्षकहरुलाई स्थानीय स्तरमा अनलाइन, अफलाइन, टेलिभिजन, रेडियो र स्वअध्ययन सामग्रीको प्रयोग गर्दै सिकाइ क्रियाकलापमा सहभागी हुन आग्रह गरेका हुन् । 

शैक्षिक प्रणाली परिमार्जन गर्ने अवसर आृको भन्दै उनले कोरोनाको जोखिम विश्लेषण गर्दै जतिसक्दो छिटो विद्यालयहरु पुन सञ्चालन गर्ने पनि बताए । शिक्षा मन्त्री पोखरेलले पनि शुभकामना व्यक्त गर्दै सिकाइलाई निरन्तरता दिन घरलाई नै शिक्षालय बनाउने अवधारणा अनुसार वैकल्पिक विधि लागू गरिउको बताएका छन् । वैकल्पिक कक्षा सञ्चालन अभियानको नेतृत्व स्थानीय तहले गर्ने, प्रदेश र संघीय सरकारले सघाउने उनको भनाई छ ।

तस्विर : पूर्व प्राथमिक शिक्षामा कुल भर्ना दर र बालविकास केन्द्रको अनुभव लिई आएका बालबालिकाको विवरण, श्रोत : आर्थिक सर्वेक्षण २०७६/०७७ 

प्रतिक्रिया