Edukhabar
बुधबार, २६ बैशाख २०८१
खबर/फिचर

विद्यालयका गतिविधि : कतै शुरु भए कक्षा, कतै सुनसान

मंगलबार, २० साउन २०७७

काठमाडौं - अवस्था सामान्य भइदिएको भए विद्यालयमा अहिले पहिलो त्रैमासिक परीक्षाको तयारी चलिरहको हुन्थ्यो । कोरोना संक्रमणको जोखिम बढेकै कारण परीक्षा त परको कुरा देशका अधिकाँश विद्यालयहरुले आफ्ना विद्यार्थी समेत यकिन गर्न पाएका छैनन् । 

कोरोना त्रासकै बिचमा पनि स्वास्थ्य सावधानी अपनाएर सरकारी संयन्त्रहरु साविककै शैलीमा सञ्चालित छन् । तर, ठप्प भएको विद्यालयको गतिविधि कसरी सञ्चालन गर्ने ? शैक्षिक सत्र कहिले देखि गणना गर्ने ? विद्यालयका गतिविधि कसरी सञ्चालन गर्ने ? जस्ता विषयमा ४ महिना वितिसक्दा पनि संघीय शिक्षा मन्त्रालय चुपचाप देखिनु विडम्वना भएको छ । 

संकट छ भनेर बालबालिकाको सिकाइ रोक्नु हुँँदैन भन्ने आवाज शुरु देखि नै मुखरित भएकै हो । तर, महामारीमा कसरी विद्यालय खोल्ने ? भनेर विषयान्तर गर्ने शैली जारी राखिएको छ । हो, महामारीमा विद्यालय खोल्न सकिँदैन, तर विद्यालयका गतिविधि सञ्चालन गर्न किन रोक्नु पर्छ ? यसरी रोकिएका विद्यालयका गतिविधि सञ्चालन गर्ने बाटो फुकाउने तर्फ शिक्षा मन्त्रालय गम्भिर बन्नु पर्ने हैन ? 

चिकित्सक, प्रहरी, सेना, कर्मचारी लगायत स्वास्थ्य सजगता अपनाएर आआफ्नो कार्य क्षेत्रमा खटिन हुने, तर विद्यालयका गतिविधि शुरु गर्नु पर्छ भन्ने वित्तिकै किन अधिकाँश शिक्षकहरु आक्रोशित हुनु पर्ने ?  

एकातिर सरकार २५ करोड खर्च गरेर वैकल्पिक सिकाइ विधि शुरु गरेको घोषणा गरेर चुप रहेको छ । असार १ गतेबाट शुरु भएको उक्त विधिमा कति बालबालिका समेटिए ? यसबाट सिकाइमा के प्रतिफल मिल्यो ? जस्ता विषयको मुल्याँकन, गर्नु पर्ने सुधार र अवको योजना जस्ता विषयमा कुनै चासो दिईएको छैन । अर्कातिर अधिकाँश शिक्षकहरु चोक चौतारामा गफिएरै विद्यायको गतिविधि पनि शुन्य बनाउने क्रम जारी छ । बालबालिकाको सिकाइ प्रति संवेदनशील नहुने यी शैली पटक्कै मिलेको छैन । 

शहर बजार तिरका केही निजी विद्यालयले बैशाख देखि नै अनलाईन कक्षा सञ्चालन गरिरहेका छन् । कतिपयले त्रैमासिक परीक्षा पनि लिदैं छन् । यो बर्ष कति बालबालिका विद्यालय भित्रिन्छन् भन्ने संख्या यकिन गर्ने त कहिले हो कहिले ! कतिपय सामुदायिक विद्यायलले चैत ५ अघि लिएको बार्षिक परीक्षाको नतिजा समेत सार्वजनिक नगरेको भन्दै सरकार स्वयं ती नतिजा सार्वजनिक गर्न निर्णय गर्दै छ ! अघिल्लो साता बसेको मन्त्रीपरिषद्को बैठकले नतिजा सार्वजनिक गर्न बाँकी विद्यालयको नतिजा सार्वजनिक गर्ने र पाठ्युस्तक वितरण गर्ने निर्णय गरेको छ । 

चैत ११ मा भएको लकडाउनको स्वरुप साउन ७ देखि खुकुलो बनाईए पनि शैक्षिक संस्था बन्द गर्ने पहिलेको निर्णय यथावतै छ । यहाँ स्मरण गर्न जरुरी कुरा के हो भने विद्यालय खोल्ने र विद्यालयको गतिविधि खोल्ने भन्ने कुरा नित्तान्त भिन्नै विषय हो । विद्यालय बन्द भए पनि विद्यालयको गतिविधि सञ्चालन गर्ने काममा केही विद्यालय र शिक्षकहरु जुटिसकेका छन् । उनीहरुलाई स्थानीय सरकारले सघाउने क्रम पनि शुरु भईसकेको छ । 

पढ्नुहोस् केही उदाहरण :

हेलिकप्टर चढेर विद्यालयमा हाजिर

शिक्षक विद्यालयमा मात्रै हैन, पुग्न थाले टोल टोलमा

चौतारो र चौरमै शिक्षक : गफ चुट्नेहरु बसिरहेछन्, काम गर्नेहरु अघि बढि सके !

ईण्टरनेट भएका ठाउँमा ईण्टरनेट, फोन भएका ठाउँमा फोन, जहाँ जे छ त्यही, केही पनि नभएका ठाउँमा विद्यार्थीलाई प्रत्यक्ष भेटघाट गर्ने शिक्षकहरको शैली, चौतारा र चोकमा गफिन व्यस्त शिक्षकहरुलाई रुचेको छैन ! 

उनीहरुको एकोहोरो रटान छ – महामारीमा कसरी विद्यालय खोल्ने ? 

कोरोना संकट कसरी अघि बढ्दै जान्छ भन्ने विषय स्वास्थ्य विज्ञले भन्ने कुरा हो । यसको जोखिम विश्लेषण र स्वास्थ्य सजगताका बारेमा सचेत हुनु पर्नेमा कुनै शंका छैन । विद्यालय खोल्ने कुरा स्वास्थ्य जोखिमको अवस्था यकिन भए पछि मात्रै हुन्छ । तर विद्यालयको गतिविधि सञ्चालन गर्ने काम तत्काल शुरु गर्नु पर्छ । 

स्वास्थ्य सजगता अपनाएर बालबालिकाको सम्पर्कमा जाने, छलफल गर्ने, केही सिकाउने क्रम लकडाउनको सुरुदेखि नै गर्ने सामुदायिक विद्यालय पनि छन् । प्रधानाध्यापक र शिक्षक सक्रिय भएको विद्यालयमा असार अघि देखि नै अनलाइन होस् वा रेडियो टिभीबाट विद्यालयका गतिविधि शुरु भईरहेकै छ, शिक्षक बालबालिका नियमित पढाईमा जुटिरहेकै छन् । 

यही सन्दर्भमा नेपाल सरकारले उत्कृष्ट घोषणा गरेका सामुदायिक विद्यालयहरुले के गर्दै होलान् त ? लकडाउनको बेला कुन विद्यालय, विद्यार्थी र अभिभावकसँग कसरी जोडिएका छन् ? हरेक प्रदेशको कम्तिमा एउटा उत्कृष्ट विद्यालयले अपनाएको शैली समेटेर हामीले यो साताको सामग्री तयार पारेका छौं : 

वरुणेश्वरमा होमवर्क बुक 

ओखलढुङ्गाको वरुणेश्वर माध्यमिक विद्यालय, विद्यार्थीको सम्पर्कसम्म पुगेकै छैन । सरकारले रेडियो र टिभीबाट वैकल्पिक सिकाइ शुरु गरेको सुनेका शिक्षकहरु त्यसकै भरमा छन् । आफ्ना विद्यार्थीले के सिके के सिकेनन् ? सोधि खोजि समेत भएको छैन । 

‘हाम्रो विद्यार्थी टिभी र ईण्टरनेटको पहुँच बाहिर छन्’ प्रधानाध्यपाक कुलप्रसाद खतिवडाले भने, ‘त्यसैले हल्ला गर्न मात्रै अनलाईन कक्षा चलाउनु उपयुक्त देखिएन ।’ 

पहिलो चरणमा विद्यार्थीको रेडियो, टिभी र ईण्टरनेट पहुँचको सर्वेक्षण सकेको उनले बताए  । कक्षा नचले पनि शिक्षकहरु पनि नियमित विद्यालय आएर आगामी दिनको योजना बनाउन लागिरहेको उनले बताए । त्यही अनुसार विद्यालयले आफ्ना विद्यार्थीसंग नियमित सम्पर्क राख्न नयाँ जुक्ति निकालेको उनी बताउँछन् । 

‘हरेक कक्षाको पाठ अनुसार गृहकार्य गराउन गृहकार्य बुक छापि सकेका छौ’ खतिवडाले भने, ‘जुन गृहकार्य बुक अनुसार विद्यार्थीले पुस्तक पढेर, रेडियो वा टिभी सुनेर उत्तर लेख्नु पर्ने हुन्छ ।’ 

विद्यालयले टोलटोलमा केन्द्र निर्धारण गरेर निश्चित दिनमा भेला हुनु पर्ने सूचना जारी गरेको उनले बताए । त्यहाँ बिषयगत शिक्षक पुगेर गृहकार्य बुकमा दिएको प्रश्नको उत्तर परीक्षण गर्ने र नबुझेको सोध्ने व्यवस्था मिलाईएको छ । 

‘भौतिक दुरी कायम गरेर अर्को साताबाट हामी विद्यार्थीलाई भेट्छौं’ उनले भने, ‘यसले विद्यार्थीले नपढ्ने समस्या पनि हुँदैन । अभिभावकलाई पनि आफ्ना छोराछोरीको पढाईको चिन्ता हट्नेछ ।’ 

४ महिना पछि बल्ल उपाय निकालेका खतिवडा सर भन्छन् – यसो गर्न थाले पछि विद्यार्थीको सिकाइ खस्किने सम्भावना न्यून हुन्छ ! 

सुनसान संकटमोचन 

धनुषाको संकटमोचन माध्यमिक विद्यालयले विगतमा जस्तै शैक्षिक सत्र शुरु भएको एक महिना पछि जेठमा कक्षा सुरु गर्न पहल गर्यो । कम्प्युटर चलाउन जान्ने शिक्षकले जुमबाट कक्षा सुरु पनि गरे । तर, घरमा कम्प्युटर र स्मार्ट मोबाइल नभएको भन्दै अभिभावक र विद्यार्थीले बिरोध गरे । त्यस बेला बिरोध भए पछि बन्द भएको अनलाइन कक्षा सुरु नै भएको छैन । 

‘सरकारले भन्नु भन्दा पहिला नै हामीले प्रयास चाँहि गरेका थियौँ तर, मोबाइल र ईण्टरनेट  नै नहुने अभिभावकको बिरोध पछि हामीले केही गर्नै सकेनौ’ प्रधानाध्यपक बलिराम साहले भने ।  

पछिल्लो समय प्रदेश २ मा कोरोना संक्रमितको संख्या बढेकोले विद्यालय आउन थालेका शिक्षक पनि घरमै बसिरहेको उनले बताए । एउटै कक्षामा एक सय भन्दा बढी विद्यार्थी भएकोले गृहकार्य दिन बोलाउन पनि नसकिएको उनी बताँछन् । किताब लिन भने बोलाइरहेको उनले बताए । 

मेधामा पेन्ड्राईभबाट पाठ 

कम्प्युटर नजान्ने शिक्षक नियमित विद्यालय पुग्छन् । विद्यालयमा आइपर्ने काम गर्छन् । कम्प्युटर जान्ने शिक्षकसंग कसरी अनलाईन कक्षा चलाउने सिक्छन् । जसलाई कम्प्युटर चलाउन आउँछ उसले चाँहि घरमै बसेर नियमित कक्षा लिइरहेका छन् । उनीहरुले कक्षा सुरु हुनु अघि पढाउने सामाग्रीको जोहोे गर्छन् । त्यसैलाई प्रेजेण्टेशन बनाएर ४० मिनेटको कक्षा सुरु गर्छन् । कक्षामा जो विद्यार्थी सहभागि छन् उनीहरुले शिक्षकसंग सिक्छन् । जुन विद्यार्थीसंग अनलाईन कक्षामा सहभागि हुने ईण्टरनेट छैन, एण्ड्रोइट मोवाइल छैन, उसलाई पेन्ड्राईभ लिएर विद्यालय आउन आग्रह गरिन्छ । 

‘अनलाइन कक्षा पढाउँदा रेकर्ड गरिएको हुन्छ । त्यही रेकर्ड भएको पाठलाई अनलाइनको पहँुचमा नभएका विद्यार्थीलाई पेन्ड्राईभमा दिइन्छ’ प्रधानाध्यापक गंगाधर हाडाले भने, ‘विद्यार्थी यहीे सामाग्री घरमा टिभी वा साउण्ड बक्समा राखेर सुन्दै पढ्ने व्यवस्था मिलाइएका छौ ।’ 

यो व्यवस्था कुनै दुर्गम गाउको सामुदायिक विद्यालयको होइन । 

शिक्षा मन्त्रालयले गतवर्ष मुलुककै उत्कृष्ट छनौट गरेको भक्तपुर दरबार क्षेत्र नजिकैको मेधा माध्यमिक विद्यालयले गरेको यो प्रयास अरु विद्यालयले पनि सिको गर्न सक्छन् । विद्यालयमा नियमित अनलाइन कक्षा भइरहेको छ । कक्षा ८, ९ र १० मा दैनिक ६ पिरियड हुने गरेको हाडाले बताए । कक्षामा सहभागि हुन नसक्नेलाई पनि संगसंगै लगिरहेको उनले बताए । माथिल्लो तहको कक्षाका विद्यार्थीको पनि ईण्टरनेटको पहँुच नभए पछि शिक्षकले जुम प्रविधिबाट पढाएको सामाग्री रेकर्ड गरेर पेन ड्राइभबाट दिने व्यवस्था मिलाएको उनले बताए । जुमबाट पढाएको सामाग्री कक्षा सकिए पछि शिक्षकले विद्यालयमा पठाउनु पर्ने व्यवस्था गरेको छ । विद्यालयले हरेक कक्षाको विद्यार्थीलाई समेटेर भाइबरमा समूह बनाएको छ । कुन कक्षा कुन बेला कसले पढाउँछन ? जुम कक्षाको लिंक त्यही भाइबर समूहमा पठाउने गरिएको छ । 

‘भाइबरमा विद्यार्थीले बारम्बार सन्देश आदान प्रदान गर्न थालेको पायौँ । अब इमेल मार्फत नै विद्यार्थी र शिक्षक जोडिने प्रयोग गर्दैछौ’ हाडाले भने, ‘होमओर्क चाँहि गुगल क्लासबाट पठाउने व्यवस्था मिलाएका छौ ।’ 

कक्षा सुरु हुनु अघि विद्यायलले स्वास्थ्य सावधानी सहित अभिाभवकलाई बोलाएर कक्षा कसरी सञ्चालन हुन्छ ? भनेर जानकारी दिएको थियो । अभिभावक भेला गरेकै दिन पुस्तक वितरण गरिएको थियो । कक्षा सञ्चालन गरेको एक महिना पछि भने देखिएको समस्याको बारेमा विद्यार्थीलाई नै बोलाइएको थियो । 

‘केही विद्यार्थीले जुम कक्षामा च्याट गरेर बसेको र क्यामेरा अफ गरेर बसेको पाइए पछि सचेत गराउन कक्षाका सबै विद्यार्थीलाई बोलाएर सचेत गरायौ,’ उनले भने । 

ज्ञानोदयमा गृहकार्य दिने र बुझाउने काम विद्यालयमै  

काठमाडौं बाफलको ज्ञानोदय माध्यमिक विद्यालयले पनि माथिल्लो तहमा अनलाइन कक्षा सुरु गरेको छ । तर, प्रभावकारी नभएको प्रधानाध्याक नातीकाजी महर्जनको निष्कर्ष छ । तल्लो तहका विद्यार्थीलाई भने विद्यालयमा बोलाएर गृहकार्य दिने र परीक्षण गर्ने व्यवस्था गरेको उनले बताए । 

‘म नियमित स्कूल जान्छु । विद्यार्थी छैनन् । नरमाइलो लाग्छ,’ उनले भने, ‘५ देखि १० सम्म अनलाइन कक्षा चलाएका छौँ, तर, उपस्थिति न्यून छ । तल्लो तहको भने कक्षा अनुसार विद्यालयमा गृहकार्य दिने र परीक्षण गर्ने गरेका छौ ।’ 

घरमा ईण्टरनेट र कम्प्युटर नहुने विद्यार्थी विद्यालयमा आउने गरेका छन् । उनीहरु विद्यालयको कम्प्युटर ल्याबमा आएर पढ्छन् कक्षा सके पछि घर जान्छन् । माथिल्लो कक्षाका शिक्षकलाई विद्यालय आउनै पर्ने बाध्यकारी व्यवस्था गरेको छैन । 

‘साधन हुने शिक्षकहरु आउनु हुन्छ । कतिपय शिक्षकहरु उपत्यका बाहिरबाटै अनलाइन कक्षा लिइरहनु भएको छ’ महर्जनले भने । 

ज्ञानोदयमा उपत्यका बाहिरका विद्यार्थी पनि उत्तिकै छन् । बाहिर गएकालाई यसवर्ष उतै पढाउन आग्रह गरेको उनले बताए । 

‘यसवर्ष मिलेसम्म गाँउमै पढाउनुस् भनेका छौ’ उनले भने, ‘काठमाडौंमै भएकालाई  किताब दिएर पठाएका छौ ।’ 

विद्यालयमा पढ्ने ५० प्रतिशत विद्यार्थी उपत्यका बाहिर गएको उनले बताए । 

पाउद्वारका विद्याथी विद्यालय आउँछन् 

म्याग्दीको पाउदार माध्यमिक विद्यालयले त आधारभूत तहमा नियमित कक्षा नै सुरु गरिसकेको छ । म्याग्दीको अन्नर्पूर्ण गाउँपालिका ५ मा बाहिर गाउँबाट प्रवेश निषेध गरिएको छ । अन्यत्र गएका गाउँले फर्कदा क्वारेण्टाईन बस्नु पर्ने हुन्छ  । त्यसैले यहाँको विद्यालय भने नियमित पठन पाठन समेत सुरु भइसकेको छ । 

‘जुन ठाउँका विद्यार्थी र अभिभावक  पहिलादेखि काँही गएका छैनन् । बाहिरबाट कोही आएका छैनन् भने किन विद्यालय सुरु नगर्ने भन्ने ? भेलाले निर्णय गरेपछि आधारभूत तहमा नियमित पढाइ भईरहेको छ’ प्रधानाध्यापक थममाया पुनले भनिन,‘माध्यमिक तहमा भने शिक्षक बाहिर जिल्लाका भएकोले अनलाइन कक्षा भइरहेको छ ।’ 

आधारभूत तहको पनि सामुदायिक दुरी कायम गरेर भीडभाड नगरी एक दिनमा एउटा कक्षाका विद्यार्थीलाई मात्रै बोलाएर कक्षा चलाइरहेको उनले बताईन् । उनका अनुसार आइतार कक्षा १ को मात्रै पढाई हुन्छ । 

‘विद्यालय समयमा विद्यार्थी आउँछन् । दिनभरी पढाई हुन्छ । एकसातालाई पुग्ने गृहकार्य दिन्छौ’उनले भनिन् ‘अर्को साता आइतबार आउदा गृहकार्य लिएर विद्यार्थी पढ्न आउँछन् । नियमित पढाई पनि हुन्छ । गृहकार्य पनि परीक्षण गरेर फेरी अर्को सातालाई गृहकार्य दिन्छौ ।’ 

आइतबार कक्षा १ को पढाई हुन्छ भने सोमबार कक्षा २ को मात्रै विद्यार्थी पढ्न आउँछन् । यसरी नै फेस टु फेस कक्षा चलाइरहेको उनले बताईन । 

‘माथिल्लो कक्षा पनि यसरी चलाउन हुन्थ्यो तर, माध्यमिक तहका शिक्षकहरु बाहिर जिल्लाको भएकोले उहाँहरुले गाँउबाटै अनलाइनबाट पढाइरहनु भएको छ’ उनले भनिन् ।  

आधारभूत तहमा एउटा कक्षाको सातामा एक दिन हुने गरेकोमा अर्को सातादेखि दुई दिन पढाउने योजना बनाएको उनले बताईन । इडीसीका विद्यार्थीलाई समेत अरु तहको जस्तै सातामा एक दिन भरी पढाउने योजना छ । 

सत्यवतीमा फोन मार्फत विद्यार्थीसंग सम्पर्क  

तनहुँको सत्यवती माध्यमिक विद्यालयले अनलाइन कक्षा सुरु गरेको छ । विद्यालयका सबै विद्यार्थी जुम लगायत अन्य प्रविधिबाट कक्षा सञ्चालन गर्न सक्ने थिएनन् । जुन विद्यार्थी अनलाइनको पहुँचमा छैन अभिभावकको फोनमा कुरा गरेर विद्यार्थीसंग नियमित सम्पर्क गरिन्छ । 

‘सुरुमा शिक्षकलाई कसरी कक्षा चलाउने भनेर तालिम दियौ’ प्रधानाध्यपाक इन्द्रप्रसाद पौडेलले भनेले भने ‘त्यस पछि कक्षा ६ देखि १० सम्म कक्षा चलायौ । तल्लो तहमा भने अलि ढिला कक्षा चलायौँ ।’ 

कक्षा १० मा ८० प्रतिशतसम्म विद्यार्थी सहभागि भए पनि तल्लो तहमा न्यून सहभागि रहेको उनले बताए । विद्यालयमा स्थानीय तहल क्वारेण्टाईन बनाएको छ । अनलाइनको पहुँचमा नभएका विद्यार्थीलाई फोन गरेर सम्पर्क गरिरहेको उनले बताए । 

‘रेडियो टिभीको कार्यक्रम सुन्न भनेका छौ,’उनले भने,‘यसकै आधारमा गृहकार्य दिने गरेका छौँ । शिक्षकले अभिभावकलाई फोन गरेर विद्यार्थीलाई फलो गरिरहेका छौँ ।’ 

पहिला टिभीबाट अहिले अनलाईनबाट 

बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयले भने लकडाउन लगत्तै आफैले कार्यक्रम उत्पादन गरेर टिभीबाट पढ्ने व्यवस्था मिलाएको थियो । बैशाख १८ गतेबाट टेलिभिजनमा कक्षा सुरु भएको थियो । जुन बेला प्रदेश ५ कोरोना हटस्पट थियो त्यति बेला पनि शिक्षकहरु विद्यालयमा उपस्थित भएर टेलिभिजन कक्षाको लागि सामाग्री जुटाउन आउँथे । टिभी स्टेशनमा गएर नियमित पढाउँथे । विद्यालयले सुरुमा बुद्ध टेलिभिजनबाट  र पछि लुम्बिनी टेलिभिजनबाट पढाउने व्यवस्था मिलाएको थियो । त्यही कार्यक्रम रेडियो मार्फत पनि प्रशारण हुने व्यवस्था मिलाएको थियो । 

‘टेलिभिजन र रेडियो नहुनेलाई समस्या देखिए पछि पाठ्यपुस्तक वितरणलाई प्राथमिकता दियौ’ तत्कालिन प्रधानाध्यापक घनश्याम  पाठकले भने, ‘मोबाइल, ईण्टरनेट र टेलिभिजन नहुने विद्यार्थीले पढ्न नपाए पछि घरमा एक खालको द्वन्द्व नै सृजना भएको पायौं  । बाबुआमालाई छोराछोरीले यस्तो मोबाइल किन्दे भन्न थाले । ईण्टरनेट जोड्दे भन्न थाले । तर, बाबुआमाको हैसियत थिएन । हाम्रो ध्यान यतातिर केन्द्रित गर्यौ । जुन विद्यार्थी प्रविधिको पहुँच बाहिर थिए । उनीहरुलाई भेट्न हामी घरघरमा गयौँ ।’ 

जसको घरमा टिभी थिएन उनीहरुलाई रेडियो सुन्न र किताब पढ्न भन्दै शिक्षक गएको उनले सुनाए । 

‘किताब पढ्दा र रेडियो सुन्दा नबुझेको कुरा शिक्षकलाई फोन गर्न भनेर नम्बर दियौ’उनले भने । 

विद्यालयले पछिल्लो समय भने अनलाईनबाट पढाउन सुरु गरेको छ । अनलाईनमा माथिल्लो तहको पढाई भए पनि तल्लो तहमा सृजनात्मक क्रियाकलापसंग मात्रै जोड्ने गरेको छ ।  पाठकले साउन ६ मा अवकास पाए पछि बिष्णुहरी ज्ञवाली निमित्त प्रधानाध्यपक भएका छन् । 

तर, विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षा र सिकाइका विधि निरन्तर छन् । आफू आएपछि जारी  कार्यक्रमको प्रभावकारिता र चुनौतीका बारेमा तीन दिनसम्म समिक्षा गरेको ज्ञवालीले बताए ।  अनलाइन कक्षा चले पनि शिक्षक नियमित विद्यालय हाजिर गर्नु पर्ने व्यवस्था बनाएको उनी बताउँछन् ।

छोराछोरी पढाउने जिम्मा अभिभावकलाई नै 

सुर्खेतको जनज्योती माध्यमिक विद्यालयमा अझै पनि क्वारेण्टाइन नै छ । पाठ्यपुस्तक पनि विद्यालय नजिकैको चौतारोमा विद्यार्थीलाई बोलाएर वितरण गरिएको थियो । विद्यालयले न त अनलाईन कक्षा सञ्चालन गरेको छ न त शिक्षकलाई घर घरमा विद्यार्थी भेट्न पठाएको नै छ । प्राविधिक तह शिक्षा लिइरहेका विद्यार्थीलाई भने घर घरमै काम गर्न लगाएको प्रधानाध्यापक नारायण सिग्देलले बताए । 

‘कक्षा ४ र ५ का विद्यार्थीलाई कुखुरा पाल्न भनेका छौ’ उनले भने, ‘अरु तहका विद्यार्थीलाई जो जहाँ छन् घरमै खेती र व्यवसाय गर्न भनेका छौं  । साधारण तर्फको भने केही गरेकै छैनौँ ।’ 

विद्यालयले विगतमा गठन भएको टोल शिक्षा समितिलाई भने ब्यूँत्याएको छ । जुन समितिमा अभिभावक र विद्यार्थी छन् । टोल टोलमा गठन भएको यस्ता समितिले टोलभरीका विद्यार्थीलाई बिहान बेलुका पढाउनु पर्ने हुन्छ । 

‘टोल भरीका बालबालिका भेला हुन्छन् । विद्यालयमा जस्तै नियमत पढाई हुन्छ । जसको निगरानी अभिभावकले गरिरहेका हुन्छन् । माथिल्लो कक्षाका विद्यार्थीले तल्ला कक्षालाई पढाउँछन्’ उनले भने, ‘आवश्यक पर्यो भने शिक्षकलाई फोन पनि गर्छन् ।’ 

अवस्था सामान्य नभएसम्म विद्यालय खोल्न नसकिने भएकोले विगतमा गठन भएको टोल शिक्षा सदनलाई व्यूताएर विद्यालयको गतिविधि शुरु गरेको उनले बताए । 

चामुण्डामा विद्यार्थीको निगरानी विद्यार्थीलाई जिम्मा 

दैलेखको चामुण्डा माध्यमिक विद्यालयमा प्राविधिक धारतर्फको तीन वर्षे कार्यक्रमको नियमित प्रयोगात्मक कक्षा चलिरहेको छ । विद्यालयले २५ रोपनीमा फलफूल लगाएको छ । ‘कहिले बाहिर लैजान्छौ । धेरैजसो विद्यालयकै फार्म हाउसमा प्रयोगात्मक गरिरहेका छौँ,’ प्रधानाध्यापक जयप्रसाद तिमिल्सिनाले भने । 

कक्षा १ देखि १० सम्म भने शिक्षक टोलटोलमै गएर पाठ्यपुस्तक वितरण गरेका उनले जानकारी दिए । 

‘टोलटोलमा सधैँ जसो शिक्षक पठाउन सम्भव भएन त्यसैले टोलकै माथिल्लो तहमा पढ्ने विद्यार्थीलाई तल्ला तहका विद्यार्थीको निगरानी जिम्मा दिएका छौ,’उनले भने,‘रेडियो टिभीबाट पढेको कुरा बुझ्यो कि बुझेन ? किताब पढ्दा नबुझेको कुरा बझाउने जिम्मा पनि माथिल्लो तहका विद्यार्थीलाई दिएका छौ ।’ 

शहरमा कलेजमा पढ्ने विद्यार्थी पनि गाउँमै फर्केकोले अब न्यून पारिश्रमिक दिएर पनि थप व्यवस्थित गराउन लागेको उनले बताए । 

‘घरमा त्यतिकै बसिरहने भन्दा कलेज र माथिल्लो कक्षाका विद्यार्थीबाट सिकाउने प्रयास गरिरहेका छौ’ उनले भने । 

प्रतिक्रिया