Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

सबै प्रकारका सिकाइ सहजीकरणका क्रियाकलाप स्थगित गर्न निर्देशन

विहीबार, २२ साउन २०७७

हेटौंडा - गाउँमा कोरोना संक्रमित भेटिए पछि मकवानपुरगढी गाउँपालिकाले सबै प्रकारका सिकाइ सहजीकरणका क्रियाकलापहरु स्थगित गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । बुधबार गाउँमा २ जनामा कोरोना पोजेटिभ फेला परेको थियो । 

विश्वव्यापी महामारीका कारण गाउँ पनि अछुतो नरहेको भन्दै पालिकाले अनलाईन मार्फत भैरहेका सहजीकरण कार्यक्रम बाहेकका सबै प्रकारका सिकाइ सुहजीकरणका क्रियाकलापहरु स्थगित गर्न निर्देशन दिएको हो । तर यस बिचमा विद्यालयहरुको आन्तरिक प्रशासनिक कामकाज सञ्चालनमा वाधा नपर्ने भन्दै पालिकाले सूचना जारी गरेको छ । अहिले सम्म गाउँमा सक्रमण नदेखिएकोले कुनै कुनै विद्यालयहरुले भौतिक दुरी र स्वास्थ्य सचेतना अपनाउँदै विद्यालयमा विद्यार्थीहरुलाई आलोपालो बोलाएर सिकाइ जारी राखेका थिए । कतिपय शिक्षकहरुले विद्यार्थीलाई पायक पर्ने ठाउँमा सिकाइ केन्द्रहरु बनाएर आलोपालो गर्दै सिकाइ सहजीकरण गर्दै आए पनि ती सबै कृयाकलाप रोक्न भनिएको पालिकाका शिक्षा अधिकृत रामबहादुर घलानले जानकारी दिए । 

पालिकामा ४० वटा सामुदायिक र एउटा निजी विद्यालय छ । यी मध्ये केही विद्यालयले अगुवाई गर्दै बालबालिकाको घर घरै जाने वा सिकाइ केन्द्रमा जाने शैली शुरु गरेका थिए । 

'गाउँमै कोरोना संक्रमण देखिए पछि सचेत हुनै पर्यो, त्यसैले तत्कालका लागि सिकाइ क्रियाकलाप स्थगित गर्न सूचित गरिएको हो' घलानले भने, 'अब कहिलेबाट कसरी सिकाइ शुरु हुन्छ भन्ने कुरा अहिल्यै भन्न सकिने अवस्था छैन ।'

राज्यद्वारा घोषित वैकल्पिक विधि रेडियो र टिभि मार्फत् बालबालिकाको सिकाइ  जारी रहने पालिकाका अध्यक्ष बिदुर हुमागाईं बताउँछन् । 

'संकटको बेला पठन पाठनको कुरा परको कुरा हो' उनले भने 'अहिले त हामी कसरी गाउँलाई सुरक्षित राख्ने भन्ने तिर सोच्दै छौं' लक गर्ने की शिलै गर्ने भन्ने सम्मको छलफल जारी छ ।'

प्रतिक्रिया