Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विचार / विमर्श

कर्तव्य पालनाको अनुपस्थितिमा एसईईको नतिजा

बुधबार, ०३ भदौ २०७७

कोरोना भाईरस (कोभिड - १९) महामारीका कारण अन्योल र अनिश्चयमा रुमलिएको कक्षा १० को अन्तिम परीक्षा (एसईई) को नतिजालाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणिकरण गरेको सार्वजनिक भएसँगै फरक सन्दर्भबाट चर्चा र बहस शुरु भएको छ । अर्थात् विगतका वर्षहरुमा विद्यार्थीको नतिजा कमजोर भएर सरकारको आलोचना हुने गर्दथ्यो, गएको सोमबार सार्वजनिक २०७६ सालको नतिजामा उच्च ग्रेड ल्याउने विद्यार्थीको संख्या अस्वभाविक भयो भनेर बहस शुरु भएको छ ! यो बहसले  यसको वैधानिकतामा माथि नै प्रश्न उठाउने ठाँउ दिएको छ । 

२०७३ सालमा शिक्षा ऐनमा भएको सँशोधनले कक्षा १२ सम्मलाई विद्यालय शिक्षा कायम गरे पछि फलामको ढोकासँग तुलना गरिने कक्षा १० को अन्तमा लिइने तत्कालिन एसएलसीको महत्व घटेको महशुस त्यतिबेला देखिनै भएको थियो । बचेखुचेको पनि अब जाला जस्तो पो देखियो त !

हुन त विगत र यस वर्षको परीक्षा लिने र नतिजा प्रकाशन गर्ने परिवेश फरक भए पनि यसका बारेमा सोच्ने फूर्सद कसलाइ होला र ! अहिले त प्रकृया भन्दा पनि नतिजामा केन्द्रित भएर बहस भएको छ, जुन केहि समय रहने निश्चित छ । 

अहिले बहसको केन्द्रमा केहि विद्यार्थीको ग्रेड किन अस्वभाविक रह्यो त ? भन्ने छ । यस वर्षको उपलब्धि मापनका लागि शिक्षक र विद्यालयलाई जिम्मेवार बनाइएको थियो । अर्थात् शिक्षक र विद्यालयले जे अङ्क पठायो, सोहि आधारमा नतिजा प्रकाशन भयो । यसो भनेर शिक्षक तथा विद्यालय बाहेक अरुको कुनै भूमिका नै थिएन भन्ने पनि होइन । फेरी यसो भनेर सबै विद्यार्थीले पाएको ग्रेड अस्वभाविक छ भन्ने पनि कदापी होइन । हामी कहाँ धेरै राम्रा विद्यार्थी छन् । यस समूहमा पर्ने विद्यार्थी उच्च ग्रेड पाउनका हकदार थिए नै । कतै अहिलेको नतिजाले यस्ता अब्बल विद्यार्थीको मानमर्दन गर्ने त होइन ? भनेर शंका गर्ने ठाउँ दिने जस्तो छ । 

उच्च ग्रेड नपाउनु पर्ने विद्यार्थीलाई किन उच्च अङ्क दिइयो त ?  यसका पछाडि विविध कारण हुनसक्छन् । यसका बारेमा खोजी गर्ने र समाधानका उपाय सुझाउने प्रयास यहाँ गरिएको छ । 

गएको वर्षसम्म विद्यार्थीलाइ अङ्ग्रेजी, विज्ञान, सामाजिक लगाएतका विषयमा २५ नम्बरको प्रयोगात्मक अङ्क विद्यालयले दिइ परीक्षा नियन्त्रण कार्यालयमा पठाउने व्यवस्था थियो । यस्ता विषयमा विद्यालयले पठाएको अङ्कलाइ नै आधार मान्ने गरियो । कति सम्म पनि स्वीकार गरियो भने ७५ अङ्कको लिखित परीक्षा (सैद्धान्तिक पत्र)मा ५ वा ७ अङ्क ल्याउने विद्यार्थीको पनि प्रयोगात्मक विषयमा विद्यालयले २५ पठाउने गर्दथ्यो र हामीले त्यस अङ्कलाइ हुबहु रुपमा मान्ने काम गरर्यौं । यस्तो अस्वभाविक अङक् किन पठाएको ? भनेर न विद्यालयलाई सोधियो न त शिक्षकलाइ सोध्ने काम भयो । औपचारिकता मात्र पनि निभाइएन । कसैलाई कुनै प्रश्न नै गरिएन । शिक्षाका सबै तह र संरचनाले थाहा पाएर पनि नपाए जस्तो गरेर बसियो । यो कटु यथार्थ वर्षौँ चलि रह्यो । यस प्रवृत्तिले निरन्तरता पाएकोले अहिले पनि कसैले सोधखोज गर्दैनन्, किन पूर्णाङ्क नदिने ? भन्ने मानसिकताले काम गरेको हुन सक्छ ।

हामी मध्ये धेरैको भनाई र गराईमा भिन्नता छ । हामी एउटा भन्छौ, तर काम अर्कै गर्छौँ । भनाईमा विद्यार्थीको ल्याकत बमोजिम अङ्क दिनु पर्छ भन्ने गरिए पनि व्यवहारमा बढि अङ्क पाउन कुनै कसर बाँकी राख्दैनौ । धेरैमा जे जसरी भए पनि आफ्ना छोराछोरीलाई बढि अङ्क चाहिन्छ भन्ने मानसिकता छ भन्दा फरक पर्दैन । अहिले यहि मानसिकताले पनि धेरै थोरै मात्रामा काम गरेकै छ । यस्ता अभिभावकले विद्यालय र शिक्षकलाई अनुरोध एवम् अन्य हर्कत गरेनन् होला भन्न सकिदैन । यसै गरी विद्यालयलाई विज्ञापन र प्रचार प्रसार गर्नका लागि पनि धेरै विद्यार्थीले उच्च ग्रेड ल्याएको भन्नै पर्ने थियो । 

यस परीक्षामा विद्यार्थीको उपलब्धि मापन गर्ने जिम्मा विद्यालयलाई दिएर बस्ने केन्द्रिय संरचना र यो काम त संघीय तहको हो भनेर खासै चासो नराख्ने स्थानीय सरकारको भूमिकालाई पनि कसरी बिर्सन मिल्ला र ? अन्य विषयमा अधिकारका कुरा गर्ने प्रदेश तह आँफै यस चक्रमा बेखबर बसेको अवस्थालाइ के भन्ने ? 

जे भए पनि नतिजा त आइहाल्यो । नतिजा आइसके पछि यसका बारेमा अनावश्यक बहस गर्दा विद्यार्थीको मनोभावनामा चोट पुग्न सक्छ । विद्यार्थीको आफैमा के नै दोष छ र ? राम्रा विद्यार्थी उच्च अङ्कका हकदार नै थिए । केहिले पाए भनेर सबैलाइ एउटै दृष्टिकोणबाट हेर्न र व्याख्या गर्न पनि भएन । दिनु पर्नेले पाउने मात्र दिएको भए माग्नेको के जोड चल्थ्यो र ?

यसो भनेर शिक्षक र विद्यालयले अत्यन्त राम्रो काम मात्र गरे भन्ने पनि होइन । यहाँ शिक्षक र विद्यालयबाट मात्र बिगार्ने काम भयो अरु सबैको कुनै भूमिका छैन भन्ने पनि होइन । तर एउटा वास्तविकता के हो भने यो घट्नाले नेपालको विद्यालय शिक्षामा दूरगामी असर पार्ने निश्चित छ । यस पटक शिक्षक र विद्यालयलाई आफ्नो काम देखाउने ठूलो मौका थियो । यस कार्यबाट शिक्षक र विद्यालय आफ्नो मूल कर्तव्यबाट चुकेका मात्र नभइ विद्यालय आफैले विद्यार्थीको मूल्याङ्कन गर्न सक्छ र ? भन्ने शंकालाई अझ बलियो बनाउने काम गर्यो । अबका दिनमा हुने निर्णय पनि यस घटनाबाट प्रभावित नहोलान् भन्न सकिदैन । 

नेपालको शिक्षा प्रणालीमा धेरै राम्रा पक्षका साथमा कमी कमजोरी पनि प्रसस्त मात्रामा छन् । समय समयमा पदाधिकारी र निकाय आफ्नो कर्तव्य पालनामा चुक्ने गरेका कैयौँ उदाहरण छन् । अहिलेको घटना अहिलेको कारणबाट मात्र आएको भनियो भने यथार्थतालाई नबुझेको हुनसक्छ । विगतदेखि सबैले कर्तव्य निर्वाह गरेका भए यस्तो अवस्था नआउन सक्थ्यो । अहिलेको यस घटनालाइ लिएर समग्र प्रणालीकै कर्तव्य र जिम्मेवारीका बारेमा चिरफार हुनु आवश्यक छ । यस्ता घटनाका पछिल्तिर कर्ता अनुसार दोषको मात्रा घटिबढि छ नै । यसका साथै समग्र शिक्षा प्रणाली र यसका अवयव पनि कम जिम्मेवार छैनन् । यस्ता घटनालाई समग्रतामा विश्लेषण गरेर समाधानका प्रयास गरिएन भने यस्ता समस्याहरु एकपटक होइन कि पटक पटक आउने निश्चित छ । अनि हरेक पटक कति अर्कोलाइ देखाएर उम्कने ? 

सुधार गर्न के गर्ने भनेर सोच्नु भन्दा अगाडि यस्ता कार्यका असर वा प्रभाव के होलान् ? एकपटक अनुमान गरौँ । 

अस्वभाविक ग्रेड दिनुमा तत्कालमा हेर्दा विद्यार्थीलाइ माया गरेको देखियो, तर वास्तविकता सोचे जस्तो नहुन पनि सक्छ । यस कार्यबाट यस्ता विद्यार्थी र उनका अभिभावक ठगिएका पनि हुन सक्छन् । अन्ततोगत्वा मुलुक नै ठगिएको हुन पनि सक्छ ।

असरको अवस्था बुझ्नका लागि एउटा उदाहरण लिउँ । 

एक नव साधु जङ्गलको बाटो हुदैँ एक गाँउबाट अर्को गाउँ तर्फ जाँदै थिए । दिउँसोको समय चर्को घाम लागेको थियो । थकाई र तिर्खाका कारण उनी लखतरान परे । अनि जङ्गलमा पानी खोज्न लागे । पानी पिए । अनि एक छिन आराम गर्न त्यहि नजिकै स्याउलामा बसे । सितल छहारीमा सुस्ताउँदै गर्दा उसका आँखा झाडीमा रहेको पुतलीका लार्भाको झुण्डमा पुग्यो । त्यस झुण्डमा लार्भाबाट पुतली निस्कदँै रहेछन् । यस क्रममा लार्भा हुदाँ बनेको जालो तोडेर बाहिर निस्कनका लागि पुतलीले ठूलो सङ्घर्ष गर्दै थिए । पहिलो, दोश्रो र तेस्रो पुतली क्रमैसँग लार्भाबाट बाहिर निस्कदै उड्दै थिए । अन्य केहि अझ पनि सङ्घर्षरत नै थिए । यहि क्रममा साधुको मनमा दया पलायो । उसले मनमनै बाँकीको उपकार गर्ने सोच्यो र छेस्काको सहायताले लार्भाको जालो च्यातिदियो । केहि पुतली जालोबाट बाहिर त आए, तर उड्न सकेनन् । बटुवाले सहयोग गरेका पुतलीका अगाडी जम्मा दुइओटा बाटो रहे । उड्न नसकेका कारण जिन्दगी भर अपाहिज भएर रहने वा सजिलैसँग शत्रुको आक्रमणमा परी जिवन लिला सक्ने ?

एक छिन सोचौँ त उक्त साधुले ती पुतलीलाइ सहयोग गरे कि असहयोग ? माया वा अन्य जे कारणले भए पनि केहि विद्यार्थीलाइ दिएको अस्वभाविक ग्रेडको असर कतै भविष्यमा यस्तै हुने त होइन ? कतै मायाको नाममा अन्याय त भइरहेको छैन ।

यस्ता समस्या कसरी समाधान गर्ने त ?

पहिलो कुरा, यस घटनाका दोषी अहिले भनिए जस्तै शिक्षक मात्र होइनन्, विद्यालय मात्र दोषी होइनन् । कुनै एक पक्षलाई मात्र दोष लगाउन थालियो भने हामी दोषारोपणको दुष्चक्रमा पर्नेछौँ । अरुको दोष देखाउन कोहि कम छैनन् यहाँ । यहाँ त नहुने काम मात्र हो । कुरामा सबै अब्बल नै छन् । त्यहि भएर सामूहिक रुपमा कस कसका के के जिम्मेवारी र कर्तव्य थिए खोजी गरौँ ।

दोश्रो, समग्र प्रणालीको केहि केहि मात्रामा कमजोरी भएर नै हाम्रो शिक्षाको गति यो अवस्थामा पुगेको हो । तत्कालमा आफूले गरेको काम राम्रो लाग्नु अस्वभाविक नलाग्ला । जुन मानवीय स्वभाव पनि हो । हामीले गरेका कार्यका असर धेरै समय पछि मात्र देखिन्छन् । त्यहि भएर गरेका काम अरुका आँखाबाट पनि हेर्न र बुझ्न आवश्यक हुन्छ । कर्तव्य पुरा गर्दा बैधता भएर मात्र पुग्दैन यसका साथमा नैतिकता र इमान्दारिता पनि चाहिन्छ ।

तेस्रो, माथिको घटना त प्रतिनिधि मूलक घटना मात्र हो । यस्ता उदाहरण धेरै क्षेत्र र स्थानमा पाउन सकिन्छ । सार्बजनिक पद धारण गरेकाबाट जिम्मेवारी र कर्तव्य पालना नभएका घटना धेरै छन् । यसलाई मात्र उठाएर शिक्षकले मात्र कर्तव्य पालना गरेनन् भन्दा अरुका बारेमा के त ? भन्ने प्रश्न आउनुलाई अस्वभाविक नमान्दा हुन्छ । 

यस घटनालाई प्रतिनिधी मूलक मानेर अवस्था केलाउँदा समाधान एक वाक्यमा छ – सबैले जिम्मेवारी र कर्तव्य पालना गर्ने हो भने अवस्था सुध्रन समय लाग्दैन । 

हामी कहाँ नैतिकता एवम् वैधता विनाको अधिकार प्रयोग बढि भयो । यसो हुनु भनेको अराजकता जस्तै हो जुन नहुनु पर्थ्यो त्यहि भई रहेछ । अधिकारलाई युक्ति संगत र वैद्य बनाउने भनेको विवेकले हो, नैतिकताले हो, कर्तव्यले हो । हामीसँग अरु सबै थोक छन् केवल कमी छ त यसैमा छ । 

शिक्षाका समस्या समाधानका लागि ठूला कुरा गर्दै गरौँला, जसका लागि समय लाग्न सक्छ । कानूनमा सँशोधन आवश्यक हुनसक्छ । धेरै स्रोत र प्रयास चाहिएला । सो गर्दै गरौँला । अहिले तत्काल गर्न सकिने भनेको सबैले आफ्नो संस्कारमा परिमार्जन वा सुधार नै हो । सबैले नगरे बुझेकाले गर्दै जाँदा पनि हुन्छ । यो भनेको अधिकारका साथमा कर्तव्य र जिम्मेवारी पालना गर्नु हो । तलदेखि माथिका सबैले यसलाई पालना गर्ने हो भने समस्या समाधान हुनसक्छ । 

व्यक्तिलाइ कर्तव्य पालना र जिम्मेवारी बोध सहितका कार्य गराउन के गर्नुपर्ला त ? 

पेशा धर्मिता पालन गर्ने गराउने । 

यो कुनै एक व्यक्ति वा पदाधिकारीको मात्र नभएर समग्र व्यक्ति वा निकायको हकमा लागू हुनुपर्छ । सानो कार्यबाट ठूलो काम गर्ने उपायका लागि महाभारतको कथाबाट एउटा घटना लिउँ । 

भनिन्छ, महाभारतमा नभएका घटना मानिसको जीनवमा घट्दैनन् । महाभारत नै हरेक मानवको सम्पूर्ण जीवन हो । माथिको सन्दर्भका लागि महाभारतको एउटा उदहारण उपयुक्त नै हुन्छ । 

जब महाभारत युद्धमा सबै योद्धा सकिए, अनि जिवित रहेका मध्ये पाँच पाण्डव र श्रीकृष्ण बाणको शैय्यामा रहेका भीष्म पितामहलाई भेट्न गए । ईच्छा मरणको आर्शिवाद पाएका भीष्म प्राण त्यागका लागि सुर्य उत्तरायण हुने दिन पर्खेर शैयामा सुतेका थिए । यसै क्रममा युधिष्ठिरले भीष्म पितामहसँग शासन सञ्चालनका लागि आवश्यक ज्ञान उपदेश सुन्न चाहे, जसको प्रबन्ध श्रीकृष्णले मिलाएका थिए । यो उपदेश महाभारतको शान्ति पर्वमा उल्लेख गरिएको छ । भीष्म पितामहले राजधर्म शीर्षकमा व्यक्तिका कर्तव्य र जिम्मवारी बोध एवम् पालनाका लागि सरल र सुक्ष्म विषयवस्तु बताएका छन् । त्यसमा ठूला सिद्धान्त भन्दा पनि अत्यन्त सरल काम उल्लेख गरिएका छन् जुन हामी सबैमा लागू हुन सक्छ । 

उक्त कथामा राज धर्म भनेर राजालाइ भनिएको अर्थ लाग्न सक्ला । कथामा राज धर्म भनिए पनि व्यवहारमा सबैका हकमा लागू हुनसक्छ । राज्य कोषको सुविधा लिइ तोकिएका काम गर्ने अधिकारी राज्यका प्रतिनिधि वा जिम्मेवार अधिकारी हुन् । उच्च ओहदामा रहेका व्यक्ति मात्र राज्यका अधिकारी हुन अरु होइनन् भन्ने होइन । राज्य कोषबाट तलब भत्ता लिने सबैले कानून बमोजिम अधिकार पाएका हुन्छन्, ती सबै राज्यका प्रतिनिधी हुन् । यी सबैको अधिकार र कर्तव्य दुवै हुन्छन् । मात्रामा घटि बढि होला तर सबैलाइ कानूनले अधिकार प्रदान गरेको हुन्छ र कर्तव्य पनि तोकेको हुन्छ । हुन त नागरिक समाज, राज्य भित्र रहेका सामाजिक मूल्य मान्यता र संघसंस्था एवम् अनौपचारिक संघ संस्थाआदि राज्यका अङ्ग हुन् भन्ने गरिन्छ, जहाँ राज्यका कार्यमा यी सबैको भूमिका र कर्तव्य हुन्छ । राज्य कोषबाट सुविधा लिनेका अधिकार र कर्तव्य हुन्छन् भने नागरिकका हक र कर्तव्य हुन्छन् । प्रश्न त के कति मात्रामा अधिकार र कर्तव्यको पालना गरियो भन्ने मात्र हो । महाभारत शान्ति पर्वमा भीष्म पितामहले भनेको राज धर्म माथिको घटना सँग सम्बन्ध राख्ने अधिकारिक व्यक्ति र निकायका हकमा पनि लागू हुन सक्छ ।

महाभारतको शान्ति पर्वको प्रसङ्ग किन उठाइएको हो भने राज्यका प्रतिनिधी र अङ्ग दुवैले राज धर्मको पालना गर्नुपर्छ । त्यति वेलाको राजधर्म र अहिलेको पेशा धर्मिता उस्तै उस्तै देखिन्छ जुन सबैका हकमा लागू हुन्छ । यहाँ कोहि दिने र कोहि पाउने होइन । कानूनले तय गरेका विषय र काम हुन । आधुनिक राज्यको अवधारणामा राज्यका प्रतिनिधी अझ सेवकका रुपमा रहेका हुन्छन् । किनकी यीनले नागरिकले तिरेको करबाट सेवा सुविधा लिने गर्छन् । राज्यका सेवकले जनताको नासो लिएका हुन् जसलाइ निश्चित समयमा अरुलाई बुझाउनु पर्छ वा हस्तान्तरण गर्नुपर्छ। यीनका कर्तव्य धेरै हुन्छन् । 

राजधर्म वा पेशा धर्मिता पालनाको सन्दर्भमा दुई पक्ष हुन्छन्, जसको बारेमा चर्चा गर्नु आवश्यक हुन्छ । पहिलो, राजनीतिक प्रणाली अन्तर्गत आवधिक निर्वाचन मार्फत विभिन्न राजनीतिक पद र तहमा रहने व्यक्तिहरु । दोश्रो, निश्चित विधी र पद्धतीबाट योग्यताको आधारमा छनोट भई आउने जनशक्ति । यी दुवैका पेशाधर्मिता हुन्छन् । अर्थात राजधर्म हुन्छन् । राज्यका कार्य सञ्चालनमा यी दुवै पक्षका आ आफ्नै स्थानमा महत्व छ र कर्तव्य पनि छन् । यीनका पेशा धर्मिता वा राज धर्म (अधिकार र कर्तव्य) कानूनद्धारा लिपीवद्ध छन् । महाभारत कालिन समाज धार्मिक नीति अनुसार सञ्चालित थियो होला । तर अहिलेको समाज कानूनद्वारा सञ्चालित हुन्छ भन्ने गरिन्छ । सामाजिक मुल्य मान्यता पनि कानूनको सर्वोपरिता अन्तर्गत रहन्छन् भन्ने गरिन्छ ।

माथिको घटनामा यी दुइ पक्षको राजधर्म वा पेशाधर्मिता के थियो र के कति मात्रामा पालना गरियो त ?  यी मध्ये शिक्षक एउटा पक्ष हो, जसका आफ्नै राजधर्म वा पेशाधर्मिता हुन्छन् । यसै गरी विद्यालयका पनि स्वधर्म छन् । अरुका धर्मिता कहाँ गए त ? 

भीष्म पितामहले युधिष्ठरलाई एउटा राजाले २४ घण्टामा गर्नु पर्ने कामको फेहरिस्त बताएका थिए । त्यस क्रममा राजाका अधिकारलाई भन्दा कर्तव्यलाई बढि जोड दिएका छन् । राज्यका कार्य जिम्मा लिएका व्यक्तिहरुको कर्तव्य अति महत्वपूर्ण हुन्छ । तसर्थ राज्यका पदाधिकारीको पेशा धर्मिता के त ? सुधार यसैबाट खोजौँ । महाभारतमा राजाले गर्नु पर्ने काम भनिए पनि हरेक सार्वजनिक पदाधिकारीका हकमा उहि रुपमा लागू हुन सक्छन् । 

सुधारका लागि जुन काम जसको जिम्मामा छ वा जसलाइ तोकिएको छ उसैले विधिपूर्वक सम्पन्न गर्नुपर्छ । पहिला कर्तव्य पुरा गर्नुपर्छ, अनि मात्र अधिकार खोज्नुपर्छ । यतिबेला हामी सबैले आफैलाई प्रश्न गर्दा हुन्छ, के मैले आफ्नो कर्तव्य पुरा गरेको छु त ? मलाइ जे काम गर्नुपर्छ भनेर तोकिएका छन् ती सबै काम मैले गरेको छु त ? आफूलाई तोकिएका काम नगर्ने अरुका बारेमा मात्र प्रश्न गर्ने संस्कारले कहि लैजाँदैन । दुष्चक्रमा मात्र लैजान्छ । महाभारतमा भीष्म पितामहले युधिष्ठरलाई पढाएको राजधर्म भनेकै कर्तव्य पालना रहेछ । कर्तव्य पालनाका लागि हामीमा रहेको संस्कार परिवर्तन गर्नुपर्छ । यदि यस संस्कारमा परिवर्तन आएन भने सारमा सुधार हुदैन । अहिले हामीकहाँ भएको यहि हो ।

महाभारतको यस शान्ति पर्वमा राजामा आठ वटा अवगुण भएमा राजधर्म पालना नगरेको ठहरिन्छ र त्यस अवस्थामा राज्य नष्ट हुन्छ भनिएको छ । त्यी आठ ओटा अवगुणलाई केलाउने हो भने अहिले आधुनिक राज्य सञ्चालनका क्रममा गर्नै हुदैन भनिएका कार्य जस्तै देखिन्छन् । राजधर्म निर्वाहको क्रममा दुश्मन, रोग र ऋणलाई सम्झिरहनु पर्छ भनिएको छ । गरीबी, अव्यवस्था, कुपोषण, प्रकोप, कर्तव्य पालना नहुनु आदि सबै दुश्मन त हुन नि हाम्रा लागि । माथि भनिए जस्तै शिक्षामा हाम्रा अगाडि धेरै समस्या छन् । समस्यालाई दुस्मनको रुपमा लिने हो भने सबैले कर्तव्य निर्वाह गरेर लड्नु पर्छ । समस्या समाधानका लागि सबैले कर्तव्य पालना गर्नुपर्छ ।

देङ् सियाङ् पीङ्ले सन् १९८० को दशकमा नै चीनले सन् २०२० सम्ममा अमेरिकालाई उछिन्नु पर्छ, सो गर्न नसके सँगै पुग्नुपर्छ वा भेटाउनु पर्छ भनेका थिए । त्यस समय सम्म भेट्न नसके सन् २०३० भन्दा उता त कसैगरी पनि कटाउन हुँदैन भनेका थिए । माथिल्लो तहको राजधर्म यस्तो हुन्छ । 

यसो भन्दै गर्दा तलका र अन्य तहका पदाधिकारी एवम् विद्यालय तहका शिक्षक र कर्मचारीको पनि यस्ता कर्तव्य र पेशा धर्मिता हुन्छन् है । कमी यीनैको पालनामा छ  । माथिका र यस्तै अन्य घटनाको सम्बोधन तत्कालमा गर्नु पर्ने भनेकै कर्तव्य पालना हो । जब यो कार्य हुन्छ अनि अन्य सुधारका काम शुरु गर्दै गर्दा हुन्छ ।

लम्साल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशका सचिव हुन् ।

प्रतिक्रिया