Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विचार / विमर्श

कहाँ छ खोट लगाउने ठाउँ ?

मंगलबार, १६ भदौ २०७७

परीक्षा सञ्चालन हुन १२ घण्टा पनि बाँकी नहुँदा कोरोना माहमारीको जोखिमका कारण सरकारले गत २०७६ सालको चैत ६ गतेका लागि निर्धारित कक्षा १० को अन्तिममा लिईने एसईई स्थगित गर्ने निर्णय गरेको थियो । करिब ४ लाख ८५ हजार विद्यार्थी तथा परीक्षा सञ्चालनमा खटिएका कर्मचारीहरु आ–आफ्नो परीक्षा केन्द्रमा पुगिसकेको अवस्थामा परीक्षा सञ्चालन गर्न सम्भव नभएको सरकारलाई अनुभुति भयो र परीक्षा स्थगित गरियो । जुन निर्णय अनुपयुक्त समयमा गरिएको भए पनि सान्दर्भिक थियो । त्यस यता महामारी झन जटिल बन्दै गयो, करिब ३ महिनाको पर्ख र हेर पछि पनि विद्यार्थी परीक्षा केन्द्रमै उपस्थित भएर परीक्षा लेख्ने वातावरण बनेन । फलस्वरुप शैक्षिक सत्रको क्षति तथा विद्यार्थीको मानस पटलमा आघात नपुगोस् भनेर जेठ २८ गते बसेको मन्त्रीपरिषद्ले कक्षा १० का विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि जारी गरी काम गर्न राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मा दिने निर्णय गर्यो । सोही कार्यविधि अनुसार विद्यालयले सञ्चालन गरेको आन्तरिक परीक्षामा प्राप्त गरेको प्राप्ताङ्कलाई आधार मानी विद्यालय स्तरीय ३ सदस्यीय सिफारिस समितिले  सिफारिस गरी पठाएको अङ्कका आधारमा शिक्षा विकास तथा समन्वय इकाइहरुबाट प्रमाणित गरी बोर्डमा पठाउने र बोर्डले त्यसरी आएको प्राप्ताङ्कलाई संकलन, रुजु र ग्रेडिङ् गरी नतिजा प्रमाणीकरण गर्ने व्यवस्था भयो ।  यी सबै प्रक्रिया पूरा गरी गत भदौ १ गते बोर्डले प्रमाणीकरण गरी सार्वजनिक गर्यो । 

उल्लेखित विधि र प्रक्रियामा कहिँ खोट लगाउने ठाउँ देखिदैन । विद्यार्थी कुनै प्रक्रियामा समावेश पनि देखिएको छैन । परीक्षा दिन जाने बेला भयो गयो, परीक्षा कैन्द्रमै पुगेर मात्र परीक्षा स्थगितको सूचना पायो घर फर्केर आयो । लामो समय परीक्षाको पर्खाइमा बितायो । जब परीक्षा नहुने सूचना पायो तब पनि चुप नै रह्यो । आन्तरिक परीक्षामा प्राप्त गरेको प्राप्ताङ्कलाई नै आधार मानेर नतिजा सार्वजनिक हुने हल्ला चल्यो त्यस बेला पनि कुनै प्रतिक्रिया जनाएन । नतिजाको प्रमाणिकरण पछि पनि विद्यार्थी स्वयम्को कुनै गुनासो आएको सुनेको  छैन । 

तर नतिजा प्रकाशन पश्चात थुप्रै राम्रा नराम्रा टिका  टिप्पणीहरु आएका छन् ।  यसले फेरी एक पटक शिक्षक र विद्यालय प्रति भ्रम फैलाएको छ । अविश्वास खडा गराएको छ । धेरै शिक्षाविद् जन्माएको छ । भएको बचेको शिक्षाको शाख गिराउन खोजिएको छ । अवोध बालबालिकाको प्रचुर क्षमता माथि अनावश्यक शंकाको बहस चलाउन खोजिंदै छ । भविष्यको सुनौलो सपना बोकेका बालबालिकाको खुसी अपहरण गर्न खोजिएको छ । उत्कृष्ट सिकाइ तथा क्षमता प्रदर्शनामा रमाउन खोज्ने जो कोहि विद्यार्थीको मष्तिस्कमा गम्भिर चोट पुगेको छ । 

यति भनिरहँदा त्रुटी कहाँ भयो केलाउनु जरुरी छ । शिक्षकले विद्यार्थीको सहि मुल्याङ्कन कर्ताको मुख्य पात्रको भूमिकामा प्रश्न उठाउने ठाउँ अवश्य पनि दिनु हुने थिएन । अनेकन पत्रपत्रिका तथा आधिकारीक डकुमेण्टले विश्लेषणात्मक तथ्याङ्क नै सार्वजनिक गरिरहँदा म एउटा शिक्षकको नाताले नतमस्तक छु । यो क्रम सामुदायिक विद्यालयको तुलनामा अझ बढी संस्थागत विद्यालयमा पाइयो । हुन त ग्रेडिङ पद्धतिमा हामीलाई अंकन गर्दा उनान्नब्बेलाई नब्बे   बनाउन त निर्देशन नै हुन्थ्यो तर अहिले हामीलाई स्वतन्त्र छोडिदिंदा केहि गढबढी भयो । हामी प्रण गरौं भविष्यमा यस्तो हुने छैन, विश्वसनीय र बस्तुनिष्ठ हिसाबले मुल्याङ्कन हुन्छ । सिर्जनशिलता, मौलिकता, प्रतिष्पर्धामा अधिक विश्वास गर्ने जो कोहि विद्यार्थीले बेखुसी महशुस गर्नु नपर्ने स्थिति सिर्जना हुन्छ ।

अझ प्रश्न उठ्छ के यो सब शिक्षककोे कारणबाट उब्जेको परिणति हो ? वा समय र परिस्थितिले उब्जाएको हो । यसको सबै जिम्मेवारी शिक्षकले मात्र व्यहोर्नु पर्ने हो वा अरुले पनि । अन्य पद्धतिगत तथा संस्थागत त्रुटीहरु नभएका हुन् त ? संविधानको मर्म अनुसार पनि माध्यमिक तह सम्मको शिक्षाको जिम्मेवारी स्थानीय निकायको हो, उक्त तह सम्मको शिक्षाको व्यवस्थापन स्थानीय तहले गर्नु पर्ने तर संविधान कार्यान्वयनको थुप्रै वर्ष गुजारीरहँदा पनि संघीय शिक्षा ऐन जारी गर्न सकिएन । जसले गर्दा शिक्षा ऐन २०२८ को आठौं संशोधनको व्यवस्था अनुसार राष्ट्रिय परीक्षा बोर्डबाट नै कक्षा १० को परीक्षा सञ्चालन गर्नुपर्ने स्थिति आयो । संघीय संरचना अनुसार परीक्षाको सञ्चालन व्यवस्थापन गर्न सकेको भए केहि अन्य उपाय आउन सक्थे कि ? 

विशेष गरी यस लेखको मूल आशय सङ्गीन पीडाबोधमा रहेका बालबालिकाको चिन्तनलाई बदल्न खोज्नु मात्र हो । विद्यार्थी भाइ बहिनीहरु अब आफूले पाएको शैक्षिक प्रमाणपत्रको साख जोगाउने जिम्मा तिमीहरुको काँधमा पक्कै आएको छ । लामो इतिहास बोकेको लामो समय आफूले अध्ययन गरेको विद्यालयको प्रतिष्ठा गुम्न दिनु भएन ।  यहाँ म केहि ऐतिहासिक तथा हिन्दु धर्म ग्रन्थ भागवत गीताका केहिसन्देश राख्न चाहन्छु  - गीताामा भनिएको छ

“गलत सोचाइ जीवनको समस्या हो”। 

“जीवनमा अगाडि बढ्नु छ भने आफ्नो कर्तव्य र बाटो कहिल्यै छाड्नु हुन्न ।”

अमेरीकी पूर्व राष्ट्रपति अब्राहम लिङ्कनमा सत्य माथिको अटुट आस्था थियो । त्यसैले उनी प्रखर रुपमा वास्तविक र अवास्तविक छुट्याउन सक्थे । यहि विवेक प्रयोग गर्नसक्ने गुणले गर्दा उनले जीवनमा जस्तोसुकै उतारचढावको सामना गर्नुपरे पनि कहिल्यै निराश भएनन् । स्वच्छ तरीकाले अगाडि बढ्दै जाँदा अमेरीका जस्तो शक्तिशाली राष्ट्रको राष्ट्रपति बन्न सके । 

सिद्धार्थ गौतम सानै देखि जिज्ञासु थिए, उनमा सोधपुछ गर्ने उत्साह थियो, जुन बानीले उनलाई हरेक क्षेत्रमा ज्ञानको खोजि गर्ने सन्दर्भमा साथ पुग्यो र जीवन जगतको सत्य पत्ता लगाई महामानव गौतम बुद्धको रुपमा जगत पुजनीय भई अमर बने । 

युधिष्ठिर कहिल्यै बकबक बोल्दैनथे किनकि बोली अन्तर हृदयको अवाज हो । बकबके पनाले झुट पैदा गर्छ, एक अर्कालाई हानी गर्छ, कम बोल्ने र धेरै सुन्ने बानीले सबैलाई सत्यको नजिक पुर्याउँछ भन्ने उनले बुझेका थिए ।

एसईई नतिजाका बारेमा धेरै भ्रम र थोरै वास्तविकता देखिने गरी टिप्पणीहरु आए । त्यस कुरालाई एसईई को नतिजा प्राप्त विद्यार्थीले गलत अर्थमा नलिनु किनकि गलत सोचाइले समस्या ल्याउँछ , त्यसलाई सकारात्मक टिप्पणीका रुपमा बुझेर अगाडि बढ्नु । तिम्रो बाटो कसैले भनेजस्तो समस्या ग्रस्त छैन अनि बाटामा संगीन मोडहरु पनि छैनन् । तिम्रा भित्री चाहना र आकांक्षाले जस्तोसुकै पहाड फोर्न सक्छ यदि तिमीहरुमा साहास अनि इच्छा शक्ति छ भने । सहि विवेकले विवेकहिन तर्कलाई परास्त गर्न सक्नु पर्छ बुझ । जीवन र जगत हामीले सोचे जस्तो सरल र सहज छैन । असल ज्ञानको खोजि गर्दै रहनु जसले संसार बुझ्न अनि सुख दुःख को यथार्थ भ्रम चिर्न मद्दत गर्दछ । क्षणिक सुखको अनुभूतिले थोरै समय रमाउन सकिन्छ तर जिन्दगी भर आनन्द दिदैन । 

एसईई नतिजाको कटु आलोचकहरुलाई आलोचित व्याक्तिहरुले यस सवालमा उठेका कैयन प्रश्नको जवाफ भोलिका दिनमा दिनु पर्नेछ र त्यो जवाफ यस्तो हुनुपर्नेछ ।

एसईई. नतिजाको नकारात्मक टिका टिप्पणी भ्रम तथा एउटा कुण्ठा मात्र थियो ।

शिक्षकहरुले गरेको मुल्याङ्कन विश्वसनीय र तथ्यपरक नै हुँदो रहेछ ।

संस्थागत रुपमा विद्यालयहरु माथि भए गरेको अविश्वास र शंका मिथ्या रहेछ ।

बालबालिकाहरु माथि पनि अथाह क्षमता,औकात र उर्जा हुँदोरहेछ ।

विद्यार्थी मुल्याङ्कन सिकाइमा नै आधारित हुने रहेछ ।

प्रगतिको बाधक कोहि पनि हुनै सक्दैन, त्यो त खाली नकारात्मक सोंच मात्र हो । 

समय परिस्थिति अनुसार विभिन्न समयमा विभिन्न मापदण्डमा आधारित मूल्याङ्कन पद्धति हुँदा को जनशक्ति पनि कामै नगरेर बसेको छैन ।

शिक्षकहरुले जिम्मेवारी तथा जवाफदेहिता बहनमा कुनै कन्जुस्याँइ गरेका रहेनछन् ।

त्रुटी तथा कमजोरीलाई सबैले अपनत्व ग्रहण नगरी बस्न वा आफू पन्छिन नसकिने रहेछ ।

ऐन कानुन तथा नीति निर्माणमा भएको ढिलासुस्ती वा संरचनागत अन्योलता पनि यस कुराको जड रहेछ ।

“भवतु सर्व मंगलम्”

दाहाल गोकुण्डेश्वर बाल मन्दिर मा.वि. धनकुटा –५ का शिक्षक हुन् । 

प्रतिक्रिया