शिक्षकलाई राजनीतिकरणको चक्रव्यूहबाट निकाले पछि बल्ल सैद्धान्तिक र व्यवहारिक कुरा


शिक्षाका बारेमा प्राविधिक र प्रशासनिक कुरा गर्दा हामीले बेला बेलामा एउटा प्रश्न बिर्सन्छौं, शिक्षा भनेको के हो ? 

हाम्रो समाजलाई, हाम्रो मुलुकलाई, हाम्रो राष्ट्रलाई कस्तो शिक्षा चाहिन्छ ? मैले यहाँ राष्ट्र भन्ने शब्दको प्रयोग बडा सोची बिचारी गरेको छु । किन भने शिक्षाको एक कदम अगाडी राष्ट्र भनेको के हो ? भन्ने स्पष्ट हुनु पर्छ । राष्ट्रले जीवनको हरेक पहलुलाई कहिँ न कहिँ स्पर्श गर्छ । हाम्रो मुलुक लामो समय देखि 'एक राजा एक देश, एक भाषा एक भेष' भन्ने नारा अन्र्तगत शासित भयो । प्रष्ट रुपमा राजा महेन्द्रका पालामा यो भयो, तर राजा महेन्द्र भन्दा पहिले पनि 'यो मुलुक साना दुःखले आर्ज्याको हैन, सबैलाई चेतना भया' भन्ने भनाई व्याप्त थियो । तर, पृथ्वीनारायण शाहले यो कसलाई भन्दै हुनुहुन्थ्यो ? त्यसमा केही विद्वानहरुले छलफल गरेका छन्, विजयीहरुका माझमा भनेको हो कि विजितहरुका माझमा भनेको हो ? विजितलाई हेर है तिमिहरुलाई मैले जितेको छु, तरबारका बलले, खुँडाका बलले चेतना भया भन्न खोजेको हो ! अथवा के हो ? यो छलफलको विषय छ । 

यसरी विजयी मानसिकताबाट चलाईएको देश, विजेताको भावनाले चलाएको देश र कालान्तरमा एक भाषा एक भेष भन्ने हिसावले चल्यो । 

त्यसैले मातृभाषाको सवाल गम्भिर सवाल हो । यसका थुप्रै पहलु छन्, नेपालमा थुर्पै भाषा छन्, भाषा के हो र भाषिका के हो भन्ने पनि धेरै समस्या छ । सबैलाई थाहा छ कि मैथीली भाषा अन्त्यन्त समृद्ध भाषा हो, हिजो पनि थियो आज पनि छ । 

यो विषय मैले किन उठाएँ भने शिक्षाको कुनै पनि कुरा गर्दा राज्यको चरित्र नसम्झे सम्म शिक्षाको कुरा गर्न सकिन्न । तर, त्यो स्वयं आफूमा बाधा छ । कागजमा मातृभाषा लेखिन्छ तर व्यवहारमा त्यो गरिएको छैन । 

पालिकालाई जिम्मा दिए पनि राज्यलाई जिम्मा दिए पनि शिक्षामा जारी अस्वस्थ्य राजनीतिकरणले समस्या बनाएको छ । विद्यालय व्यवस्थापन समितिको चुनाव कत्रो तामझामका साथ हुन्छ !

म राजनीतिकरणलाई राम्रो कुरा मान्छु, कसरी भने यदी विद्यालयमा पढ्ने प्रत्येक विद्यार्थी र उनका अभिभावकले आफ्नो अधिकारको समुचित उपयोग गरेर मेरो विद्यार्थी राम्ररी पढ्न पाएको छ की छैन ? भन्ने कुरामा चासो लिन्छन् भने त्यो स्वस्थ्य राजनीति हो । विद्यालयमा चासो लिनु, स्वास्थ्य केन्द्रमा चासो लिनु, बाटोघाटोमा चासो लिनु, यो स्वस्थ्य राजनीति हो । प्रत्येक नागरिकले लिनु पर्छ । राजनीति भनेको बर्षमा एक दिन नाग पुजा गरे जस्तै, कुकुर पुजा गरे जस्तै पाँच बर्षमा एक पटक भोट दिएर सकिने दायित्व हैन । तर, राजनीतिकरणका नाममा शिक्षामा कार्य गर्नु हुँदैन । कुनै शिक्षकको मूल्याँकन पार्टिलाई भोट दिन्छ कि दिदैंन भनेर हेर्छौ, भिसिको मूल्याँकन, डाक्टरको मूल्याँकन उसको पेशागत, व्यवसायिक योग्यता नहेरीकन त्यो कुन पार्टिको हो भनेर हेर्छौ, त्यो राजनीतिकरण अस्वस्थ्य भएर जान्छ । त्यसैले आज नेपालमा शिक्षालाई राजनीतिकरणले धेरै नै बाधा दिएको छ । त्यसले सही मान्छे सही ठाउँमा गएका छैनन् । 

त्यसो हो भने शिक्षालाई संस्थागत रुपमा कसरी लैजाने ? 

शिक्षालाई सबै मान्छेको चासोको विषय त बनाउने, विद्यालयको अध्यक्ष छान्दाखेरी, शिक्षक छान्दाखेरी, सम्बन्धित विषय शिक्षकलाई दिदाँ कसरी गर्ने ? भन्ने कुरा राजनीतिक पार्टिले एकदमै गम्भिर भएर सोच्नु परेको छ । के राजनीति भनेको सत्तामा जाने माध्यम मात्रै हो ? के सत्ता र राजनीति एक अर्काका पर्याय हुन् ? के राजनीति भनेको पैसा कमाउने वा लुट गर्ने चिज हो ? कि कहिँ कतै टाढा यसको सम्बन्ध मानवीय संवेदनासँग पनि छ, कला, सहित्य, संस्कृति, भाषा उत्थानसँग पनि छ ? 

महत्वपूर्ण प्रश्न शिक्षा भनेको कुनै प्रकारले सर्टिफिकेट लिएर, छिटो छिटो पिएचडी गरेर प्रमोशन हुन्छ लेक्चर रिडर हुन पाउँछ, नम्बर थपिन्छ भनेर लिने हो ? अथवा जागिर खाएर लोकसेवामा जाने बाटो हो ? अथवा शिक्षा भनेको आँखा खुल्नु हो ? म को हुँ भनेर बुझ्नु हो ? 
मेरो पुस्ताले आफ्नो घरमा गाउँमा आँगनमा अलिकति नैतिक कुरा सिक्यो, धर्मं वध, सत्यम चर, मातृ देवो भवः पितृ देवो भवः यी त सारा लोप भईसके । आज शिक्षा भनेको नग्न रुपमा पैसा कमाउने, कमाउना साथ नजिकको ठूलो शहरमा जाने, नजिकको शहरमा यनकेन घर बनाए पछि काठमाडौं जाने र काठमाडौं पुग्नासाथ अमेरिका, अष्ट्रेलिया  जाने । यो शिक्षा हो त ? 

हामीले युवालाई यस्तो शिक्षा दिनु परेको छ जो नेपाललाई काम लागोस् मधेसलाई काम लागोस् । 

अहिले हामीले यस्तो शिक्षा दिदैं छौं, हाम्रा छोरा छोरी सन्ततीले पाएको शिक्षाको मधेसमा कुनै कामै छैन । उसको काम यूरोपलाई लागेको छ अमेरिकालाई लागेको छ । हामीले मरीमरी पढाएको डाक्टरी, हामीले मरीमरी पढाएको ईञ्जिनीयरिङ् त विदेशमा गएर खटिईरहेका छन् र अतिरिक्त मूल्य कमाईरहेका छन् । त्यसैले शिक्षाका प्रति हाम्रो धारणा बदल्नु परेको छ । शिक्षालाई कसरी हुन्छ लोकोपयोगी, समाजोपयोगी र राष्ट्र उपयोगी बनाउन परेको छ । 

हामीले पाएको शिक्षाले हाम्रो गाउँलाई के कति उन्नत बनाउँछ ? 

उन्नत बनाउनका लागि हामीले के पढ्न आवश्यक छ ?

र, गाउँका खानेपानी, स्वास्थ्य, रोजगार, स्वयं शिक्षाको समस्या पहिचान गर्न के गर्ने ? 

यो सबै कुरा आएर जोडिन्छ गाउँको अर्थ व्यवस्थाको आधार कृषिमा । कृषि सिङ्गो विश्वमा पाखा परेको छ । यसका आफ्ना कारण छन् । किन भने सिङ्गो विश्वलाई के लाग्छ भने जहाँ औद्योगिकीकरण छ, बडाबडा हतियार जहाँ बन्छन्, जहाँबाट हवाईजहाज र बम वर्षक विमानको निर्यात हुन्छ सबै पैसा त्यहाँ छ । 

कृषिलाई मजाक गरेर भनिन्छ कि कृषिले हाम्रो राष्ट्रिय आम्दानीमा २७ प्रतिशत मात्रै योगदान गरेको छ । कृषक कति छन् ? ७० प्रतिशत । 

ति कृषकको भोटले सत्तामा जाने, कृषि मन्त्री हुने, प्रधानमन्त्री हुने, मुख्य मन्त्री हुने तर ति कृषकले के कति कारणले राष्ट्रिय आयमा समुचित योगदान गर्न सकेनन् ? संख्या धेरै भए पनि उत्पादन किन थोरै भयो ? भन्ने विषयमा ध्यान नदिने ! यो पनि हाम्रो शिक्षाको विषय हुनु पर्छ । 

नियम थुप्रो बनेका छन्, कानून थुप्रो बनेका छन् । जिल्लामा रहेका शिक्षाका कर्मचारीसँग आफ्नै अधिकार छ, व्यवस्थापन समितिसँग आफ्नै अधिकार छ । तर, शिक्षाका उपर स्थानीय निकायको नियन्त्रण छैन । त्यहाँ फेरी जनताको नियन्त्रण छैन । यी सबै समस्यालाई हामीले केलाउँदै जानु जरुरी छ । 

देशमा विद्यमान भाषागत र जातीय भेदभावको समस्या, देशमा विद्यमान कृषि र कृषकका प्रति विद्यमान उपेक्षाको परिस्थिती, देशमा विद्यमान शिक्षा सम्बन्धि भ्रान्त धारणा र शिक्षाको वर्गीय स्थिती, यी र यस्ता विषयमा समुचित ध्यान जानु जरुरी छ । 

अन्तिम कुरो र मेरा विचारमा महत्वपूर्ण कुरा – आज शिक्षक गाउँको सबै भन्दा बलियो मान्छे छ । गाउँका सारा हुनेखाने काठमाडौं गईसकेका छन्, अमेरिका गईसकेका छन् ! गाउँको शिक्षक भोटका बेलामा कता लाग्छ त्यो बडा महत्वपूर्ण छ । फलस्वरुप त्यो प्रधानाध्यापकलाई कसैले केही भन्न सक्दैन । काँग्रेस पार्टिले उ सँग कडाईको कुरा गर्यो भने नेकपामा लाग्छ, नेकपाले कडा कुरा गर्यो भने काँग्रेसमा जान्छ ! यो प्रवृत्ति नबदलिईकन शिक्षालाई राजनीतिकरणको चक्रव्यूहबाट निकाल्न कठिन छ । यो चक्रव्यूहबाट निकाले पछि बल्ल सैद्धान्तिक कुराहरुले व्यवहारिक रुपमा निकास पाउँछन् । कहीँ न कहीँ कार्यपालिकाले, स्थानीय नगरले हस्तक्षेप गर्नु पर्छ । नियम कानून मान्यताका आधारमा काम गर्नु पर्छ । राजनीतिक अनुहारका आधारमा हैन ।

- राजनीतिक चिन्तकका रुपमा परिचित नेपाली काँग्रेसका नेता तथा सांसद गिरीद्वारा शिक्षा नीति तथा अभ्यास केन्द्रले बुधबार गरेको 'मधेशमा शिक्षाका सवालहरु' विषयक भर्चुअल अन्तरक्रियामा व्यक्त धारणाको मुख्य अँश ।