Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

शैक्षिक संस्था बन्दको निर्णय : केही पालिकाले पठनपाठन नरोक्ने

सोमबार, १६ चैत्र २०७७

काठमाडौं - शिक्षा मन्त्रालयले चार दिन शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेकै दिन केही पालिकाले भने निर्वाध रुपमा पठनपाठन सञ्चालन गर्ने बताएका छन् । आफ्नो क्षेत्रमा वायु प्रदुषणको कुनै समस्या नभएको भन्दै उनीहरुले निर्वाध पठनपाठन गर्ने बताएका हुन् । 

विराटनगर महानगरपालिकाले आफ्नो क्षेत्रमा वातावरणीय असहज अवस्था उत्पन्न नभएको भन्दै सम्पूर्ण शिक्षण संस्थाहरु नियमित सञ्चालन गर्न भनेको छ । कोभिड १९ को महामारीमा लामो समय विद्यालय बन्द भई भर्खरै चालु शैक्षिक सत्रमा शिक्षण सिकाइ कृयाकलाप सञ्चालनले गती लिईरहेकोले पठन पाठन बन्द गर्न नहुने पालिकाले स्पष्टिकरण दिएको छ ।  

यसैगरी तनहुँको भिमाद नगरपालिकाले पनि आफ्नो क्षेत्र भित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेको हुँदा विद्यालयहरु नियमित रुपमा सञ्चालन गर्नु गराउनु भनेको छ । इलाम नगरपालिकाले पनि नियमित विद्यालय सञ्चालन गर्ने जनाएको छ । इलामकै रोङ गाउँपालिकाले पनि आफ्नो क्षेत्रमा कुनै प्रभाव नपरेको भन्दै नियमित पठनपाठन गर्ने निर्णय गरेको छ । कोभिडको कारण शैक्षिक क्षती बेहोरिरहेको अवस्थामा नजिकै आईरहेको परीक्षालाई मध्यनजर गर्दै पठनपाठन नियमित राख्न भनिएको छ । इलामकै माईजोगमाई गाउँपालिकाले पनि विद्यालय बन्द नहुने जनाएको छ । 

पोखरा महानगरपालिका, गोरखा नगरपालिका, तानसेन नगरपालिका जस्ता केही पालिकाहरुले भने शिक्षा मन्त्रालयको निर्णयको हवाला दिदैं शैक्षिक संस्था बन्द गर्ने सूचना जारी गरेका छन् । अधिकाँश पालिकाहरुले भने शिक्षा मन्त्रालयको निर्णय माथि कुनै प्रतिकृया नै जनाएका छैनन् । प्रतिकृया विहीन पालिकाहरुमा शैक्षिक संस्था स्वतः बन्द हुने अनुमान गर्न सकिन्छ । 

संविधानले विद्यालय शिक्षा सम्मको अधिकार स्थानीय सरकार मातहत गरे पनि अधिकाँश पालिकाहरुले यसको अभ्यास नगरेर संघीय शिक्षा मन्त्रालयमै छायाँमा कार्यसम्पादन गर्ने र शिक्षा मन्त्रालय पनि अवस्था हेरी निर्णय गर्ने गरी स्थानीय सरकारलाई जिम्मेवार बनाउनुको साटो केन्द्रबाटै हस्तक्षेप गर्ने पुरातन सोचबाट ग्रसित भएको भन्दै आलोचना जारी छ ।

केही दिन देखिको बढ्दो वायु प्रदुषणका कारण बालबालिकालाई बचाउन भन्दै शिक्षा मन्त्रालयले सोमबार देखि शुक्रबार सम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो । 

चार दिन शैक्षिक संस्था बन्दको निर्णय

सोमबार शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले शैक्षिक संस्थाहरु बन्द गर्ने भने पनि यस अघि नै निर्धारण भएका परीक्षाहरु नियमित सञ्चालन गर्न सकिने निर्णय गरेको थियो । 

पूर्व निर्धारित परीक्षा यथावत सञ्चालन गर्न सकिने

प्रतिक्रिया