धिपधिपे दियोका भरमा मौलिक पहिचान


संस्कृत वाङ्मयमा निहित ज्ञान, विज्ञान, अध्यात्म, संस्कृति, कला, साहित्य, दर्शन, गणित, इतिहास, तन्त्रशास्त्र, ज्योतिषशास्त्र, राजशास्त्र, अर्थशास्त्र, धर्मशास्त्र, सङ्गीतशास्त्र र काव्यशास्त्रले समाजको समुन्नतिमा सहयोग गर्दै आएका छन् । अतः यो वाङ्गमयलाई ज्ञानविज्ञानको अक्षय भण्डार भनिएको हो । यही विषयगत महत्वलाई मनन् गरी यो वाङ्गमय सम्बद्ध विषयहरू विश्वभर पठनपाठन हुँदै आएका छन् । धार्मिक, सांस्कृतिक र ऐतिहासिक गरिमाले युक्त शान्तिभूमि नेपालमा संस्कृत शिक्षा औपचारिक तथा अनौपचारिक स्वरूपमा कार्यान्वयन भइरहको छ । अतः बहुलवादयुक्त नेपाली समाजमा संस्कृत शिक्षाले सनातन संस्कृति र विभिन्न जनजातिको संस्कृतिबिचको अन्तःसम्बन्ध केलाई ती भित्रका एकत्व प्रतिपादक पक्षलाई समावेश गर्नु आजको पहिलो प्राथिमकता हो । दोलखामा संस्कृतग्रामको अभियानले यसलाई मुखरित गर्न खोज्यो । दुर्भाग्यवश यस अभियानले विभिन्न आरोह अवरोह भोगेर हाल अस्तित्वको सङ्घर्ष गरिरहेको   छ ।

मौलिक पहिचानको जगमा संस्कृत 

हाम्रो मौलिक पहिचानको मूल कोशी सभ्यता  हो । संस्कृतसँगै कोशी सभ्यता बुझ्न र त्यसबारे खोजी गर्न दोलखामा संमावि स्थापना भयो । उक्त संमावि गौरी वा गौरीशङ्ङ्करमा उदय र काली वा कालिञ्चोकमा अस्त हुने सूर्य परिक्रमा नियाल्ने स्थानमा नै सञ्चालन गरियो तर दुःखको कुरो के छ भने अरूको त कुरै छाडौँ संस्कृत पढेकालाई यसको मूल नै थाहा भएन । नेपालको समय गौरीशङ्करमा हुने सूर्योदयलाई आधार मानेर भइरहेको छ, त्यसका आधारमा समग्र समय निर्धारण भयो तर संमावि फस्टाउन सकेन । सप्तशतीचण्डीले उजागर गरिरह्योः कौशिकीति समस्तेषु ततो लोकेषु गीयते । यसमा खासै ध्यान पुगेन । ऋग्वेद (३/५३/१५ र १६) अनुसार कोशी नदीको किनारमा कौशिक विश्वामित्रले ससर्परीको उपासनाद्वारा गायत्री सिद्धि गरे । अतः कोशी सभ्यताको प्रसङ्गसँगै ऋषि विश्वामित्रको गायत्री साधनाको सन्दर्भसँग जोडिएको छ जसलाई सम्झने गरी यहाँ कुनै कार्यको थालनी भएन । संस्कृत ग्राम अभियानले विषयवस्तु उठान गर्यो पैठान गर्न सकेन।

यो स्थान तामाङहरूको गोल्मा राजा र गोल्मा रानी एवं थामीहरूको स्यो स्यो राजा  र स्यो स्यो रानीको राजधानीका रूपमा परिचित छ । यसको संरक्षण र संवर्धनमा संस्कृतलाई जोड्न सकिएन । तेत्तीसकोटि देवस्थल यहाँको आत्मा हो । यस सन्दर्भमा बृहद् आरण्यक उपनिषद्मा यज्ञवल्क्य र शकल्यले ३३ प्रकारका देव (१२ आदित्य, ८ वासु, ११ रुद्र र २ कुमारः अश्विनी कुमार लगायत) को चर्चा गर्दछन् । संमाविमा केही समय आयुर्वेद पठनपाठन र आयुर्वेद अस्पताल सञ्चालन जस्ता सुखद् संयोग भए पनि अश्विनीकुमारलाई पूज्नेले नै आयुर्वेद, प्राकृतिक चिकित्सा र योगलाई केन्द्रविन्दुमा राख्न सकेनन् । नेपाली भाषामा रहेको आयुर्वेद पनि उपेक्षामा परेकाले यो अभियान मूल उद्देश्यबाट बरालियो । फलतः दोलखाको उत्तरी क्षेत्रको मौलिक पहिचानको जग नै कमजोर बन्यो ।

नेपालले सन् २०१९ मा राष्ट्रिय शिक्षा नीति र राष्ट्रिय पाठ्यक्रम प्रारूप जस्ता मार्गनिर्देशक नीति मार्फत विद्यालय शिक्षाको सबै तहहरूमा त्रयभाषिक नीति प्रस्तुत गरेको छ । जसले यस शिक्षामा संस्कृतको ढोका खोल्छ । संस्कृतलाई नेपाली भाषामा खस्कँदो विद्यार्थी उपलब्धिस्तर बढाउने नीतिका साथ पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा कार्यान्वयन भइआएको छ । धार्मिक तथा सांस्कृतिक महत्वलाई मनन् गर्दै भाषा आयोगले संस्कृतलाई शास्त्रीय भाषाका रूपमा संरक्षण तथा संवर्धन गर्ने गरी सिफारिस गरेको छ । अनौठो संयोग नै मान्नुपर्छ भारत सरकारले जुलाई २०२० मा राष्ट्रिय शिक्षा नीतिमा संस्कृतलाई औपचारिक शिक्षामा ‘आधुनिक भारतीय भाषाहरू’ मध्ये एकका रूपमा समावेश  गर्यो । यस नीतिअनुसार संस्कृतलाई “विद्यालय र उच्च शिक्षाको सबै तहहरूमा तीन–भाषा सूत्रमा विकल्पका रूपमा सहित विद्यार्थीको लागि महत्त्वपूर्ण, समृद्ध विकल्पका रूपमा प्रस्ताव गरिनेछ” भनिएको छ । भारत सरकारले पनि संस्कृत–भाषा प्रवर्धनमा गत तीन वर्षमा अन्य शास्त्रीय भाषाहरूको तुलनामा धेरै गुणा बढी खर्च गरेको छ । हाल संस्कृतका विद्यार्थीलाई अवसरका दृष्टिले यो सुनौलो अवसर हो । धेरैले यसको लाभ लिइरहेका छन् तर भारतमा पढ्दा भारतका भाषा, भेष, उनीहरूको मौलिक संस्कृति लगायत राष्ट्रियतालाई प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव पार्ने धेरै तत्व सँगसँगै आउँदा रहेछन्, हामीलाई वृक्ष र यसको मूल थाहा हुँदो रहेनछ र फलमा रमाउँदा रहेछौँ । अतः नेपालको मौलिक पहिचान र त्यसको कार्यक्रम अनिवार्य भएको हो । 

वेद र विज्ञानको अन्तरसम्बन्ध

संस्कृत ग्रन्थहरूका धेरै सन्दर्भ तथा कथाहरू अनुसन्धान र त्यस पछि प्राकृतिक विज्ञानको आधार हुन्, जस्तैः ईशोपनिषद्मा गतिहीन आत्मा मनभन्दा छिटो दौडन्छ भन्ने सन्दर्भ छ । अतः असीमित र सर्वव्यापी भएकाले आत्मा चल्दैन तर चलिरहेको मन र इन्द्रियहरूसँगको सम्बन्धका कारण यो चलिरहेको देखिन्छ । यसैमा टेकेर वर्नर हाइन्सवर्गले प्रतिपादन गरेको क्वान्टम सिद्धान्त गैर–असीमित (non-infinite) हुनुका साथै यसले सामान्य ज्ञान (common sense) लाई परिभाषित गर्दछ । क्वान्टम सिद्धान्त गणितीय प्रक्रियासँग पनि सम्बन्धित छ । गणितीय प्रक्रियाका सूत्ररूपको मूल आधार वैंदिक गणित हो भन्ने तथ्यमा हाल पश्चिमी विद्वान् पनि सहमत भइरहेका छन् । त्यसैले क्वान्टम फिजिक्सलाई संस्कृत वाङ्मयसँग जोडेर हेर्न थालिएको हो । कृष्णयजुर्वेदीय शाखा कठोपनिषद्मा वाज्रश्रवापुत्र उद्दालकको यज्ञ र त्यसमा नचिकेताका प्रश्न तथा पिताको क्रोध देखि यमराजसँग भेटसम्मको रोचक कथा छ । यसले ब्रह्मविद्याको पृष्ठभूमिलाई व्याख्या गर्छ । यस उपनिषद्मा आत्माले आकार र आकार भएका सबै वस्तुहरूलाई ग्रहण गर्छ भन्ने सन्दर्भ छ । यही सन्दर्भलाई स्वामी विवेकानन्दले स्थानीयकृत (Localized) र अनन्तकृत (Delocalized) सँग अन्तरसम्बन्धित गरी मानिस अर्थात् स्थानीयकृत स्वयम् र भगवान् अर्थात् अनन्तकृत स्वयम्का रूपमा व्याख्या गरेका छन् । यो डार्विनको मानव विकास सिद्धान्त र हिन्दुले मान्ने गरेको दश अवतार बिच समान अवधारणा पाइन्छ जहाँ सबै भेर्टेब्राटाको प्रारम्भिक पूर्वज एक जलीय जनावर हुनुपर्छ भनिएको छ । दश अवतारको विकासक्रमले वैज्ञानिक विकासक्रमको चरणलाई पुष्टि गर्दछ । अतः वेद र विज्ञान परस्पर विरोधी नभएर परिपूरक हुन् । दोलखाको संस्कृत ग्रामको अवधारणाले उक्त सन्दर्भ चर्चामा ल्यायो तर स्थापित गर्न सकेन ।

अब के गर्ने त ?

वैदिक र बौद्ध विद्याको मूल आधार संस्कृत हो । हाल वैदिक स्वघोषित बाहुन र बौद्ध नेवाः तथा भोट समुदाय जस्तो सामान्य बुझाइ रहेको छ । गौरवमय इतिहासले पनि के भन्छ भने वैदिक र बौद्ध विद्या सबैका हुन् । सबैभन्दा पहिले यो तथ्य स्थापित गर्न जरुरी छ । त्यसैगरी श्रीमद्भागवतले भ्रुण कसरी बन्छ, कसरी बिस्तारै रूपान्तरण हुन्छ र बच्चाका रूपमा जन्म लिन्छ भनेर बताउँछ । आधुनिक विज्ञानले पनि त्यही सत्य स्थापित र पुष्टि गरेको छ । भागवतले ब्रह्माण्ड शून्यबाट बनेको हो भन्छ जुन बिग ब्याङ्ग सिद्धान्तसँग मिल्दोजुल्दो छ । हिन्दु शास्त्रहरूले सर्वव्यापी ईश्वरीय शक्ति ब्रह्माण्डले स्वसमाहित गर्छ भनी तर्क गर्छन् भने विज्ञानले ब्रह्माण्डमा इलेक्ट्रोन स्वरूमा रहने विद्युत् चुम्बकीय विकिरण ऊर्जालाई नै यस्तो शक्तिका रूपमा ग्रहण गरेको छ जुन ब्ल्याक होल सिद्धान्त अनुसार ब्रह्माण्डमा समाहित हुन्छ । नेपालमा यसको तुलनात्मक अध्ययन हुन सकिरहेको छैन । महाभारतमा सञ्जयले कुरुक्षेत्रबाट सयौँ माइल टाढा बसेर धृतराष्ट्रलाई युद्धको वास्तविक रूपमा व्याख्या गर्छन् । अहिले विभिन्न घटनाको प्रत्यक्ष प्रसारणबाट विज्ञानले प्रमाणित गरेको छ । ब्रह्मास्त्रलगायतका अस्त्रहरू र परमाणु बम लगायतसँग तुलना हुने हो वा होइन भनी विवाद चलिरहेको छ । श्रीकृष्णले अर्जुनलाई दिनुभएको दिव्यदृष्टिलाई गुगल अर्थसँग तुलना गर्ने र नगर्नेका बिच दन्त बझान भइरहेकै छ । यसको निकास खोज्न आवश्यक छ ।

भगवद्गीताले प्रतिपादन गरेको र क्वान्टम भौतिकशास्त्रीहरू तथा सापेक्षताको सिद्धान्तले पुष्टि गरेको ब्रह्माण्ड भ्रम हो र वास्तविक होइन भन्ने सत्य खोज खबरी गरिएको छैन । विनायकलाई हात्तीको टाउको प्रदान गर्दा प्लास्टिक शल्यक्रिया भयो, टेस्टट्युब बेबीलाई कौरवहरू जन्माउँदा गान्धारीले प्रयोग गरिन्, अर्धनारीश्वर भगवानले समय समयमा बहुरूप धारण गरेबाट लिङ्ग परिवर्तन गरेको सन्दर्भले पुष्टि गर्छ भन्ने जस्ता धेरै पक्ष अनुसन्धान हुन आवश्यक छन् । यसले संस्कृतानुरागीले समय भन्दा परको व्यवहार गर्छन्, कर्मकाण्डलाई मात्र साध्य र साधन बनाउँछन्, आफ्नो अघिल्लो जन्म र भविष्यको कुरा गर्छन् भन्ने जस्ता आरोपबाट मुक्त गर्न सहयोग गर्छ । खुला दिमागका साथ शास्त्रका यस्ता धेरै भनाइहरूका आधारमा खोजी गर्ने जनशक्ति तयार हुन जरुरी छ । शास्त्रका भनाइहरूलाई पन्छाएर खिल्ली उडाइरहेका आवाजका तर्कसङ्गत उत्तर खोज्न जरुरी छ । नयाँ अनुसन्धान प्रचलनहरूसँगै उदाएका द्वैधसांस्कृतीकरण तथा भिन्न सांस्कृतिक संवर्धनलाई विश्लेषण गर्न जरुरी छ । यी प्रचलनले विभिन्न धार्मिक तथा सांस्कृतिक पृष्ठभूमिमा पश्चिमी धर्मको उपयोगलाई जोड दिइरहेका छन् । यसलाई बुझ्ने जनशक्ति उत्पादन हुन जरुरी छ । हिजो संस्कृत ग्राम अभियानले मौलिक पहिचानको जगमा यसका लागि सान्दर्भिक आवाज उठाएको थियो । आज अभियान नै धिपधिपे दियो जस्तो भएको छ । अतः दियोसँगै मौलिक पहिचान जोगाउन आवश्यक छ । अन्त्यमा संस्कृत ग्राम अभियानले घोषणा गरेको विश्वामित्रको प्रतीमा निर्माणका हातेमालो गर्न आवश्यक छ जुन पूर्वी नेपालको मात्र नभएर समग्र नेपालको अमूल्य धरोहर पनि हो ।