Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

शिक्षक अनुदान कोटा पाएपछि...

शुक्रबार, ०८ पुस २०७९

भक्तपुर - चाँगुनारायण नगरपालिकाले विद्यालयलाई शिक्षक अनुदान कोटा दिएपछि प्रधानाध्यापकहरु खुसी भएका छन् । आफ्नो नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा रहेको शिक्षक अभाव पूर्ति गर्न नगरपालिकाले अनुदान शिक्षक दिएपछि विद्यालयका प्रधानाध्यापकहरु खुसी भएका हुन् । 

त्यसका लागि नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गरी बजेट समेत बन्दोबस्त गरेको थियो । सोही बन्दोबस्ती अनुसार नगरका विभिन्न विद्यालयहरुलाई अनुदान कोटा दिएको नगरपालिकाले जनाएको छ ।

‘सामुदायिक विद्यालयहरु अहिले पनि शून्य दरबन्दीको भरमा चलिरहेका छन्, त्यसले विद्यालयको पठनपाठनमा समेत समस्या भएको छ, गुणस्तर कायम गर्न पनि समस्या भएको छ, सो समस्या समाधान गर्नका लागि शिक्षक अनुदान कोटा दिएका हौं’, शिक्षा शाखा प्रमुख वीरबहादुर खड्काले भने ।

नगरका ३४ सामुदायिक विद्यालयमध्ये २० वटा विद्यालयलाई एकएक वटा अनुदान कोटा दिइएको उनले जानकारी दिए । अनुदान कोटा पाइसकेपछि चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको फैढोका स्थित फैढोका आधारभूत विद्यालयका प्रधानाध्यापक सत्यराम प्रजापतिले अनुदान कोटाले विद्यालयलाई राहत पुगेको बताए ।

उनले नगरपालिकाले दिएको कोटाले विद्यालयले भोग्दै आएको जनशक्तिको अभाव टार्न निक्कै सहयोग पुगेको जनाए । त्यसले शिक्षामा गुणस्तर भित्र्याउन निक्कै सहयोग पुग्ने उनको भनाइ छ ।
शिक्षा शाखा प्रमुख खड्काले चालू आर्थिक वर्षमा इसिडी कोटा १, प्राथमिक तहका ४, निमावि तहका ४ र माध्यमिक तहका ७ वटा अनुदान कोटा विद्यालयलाई वितरण गरिएको जानकारी दिए । 

सो कार्यक्रमका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा ८० लाख ७७ हजार रुपैयाँ बजेट विनियोजन गरेको बताउँदै सो प्रकृतिका शिक्षकको बन्दोबस्तीका लागि नगरपालिकाले शिक्षक शिक्षण सहायता अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि समेत तयार गरेको छ । 

नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा निः शुल्क शिक्षा व्यवस्थापनका लागि तथा विद्यालयमा शिक्षक विद्यार्थीको अनुपातको आधारमा शिक्षकको दरबन्दी कम भएको विद्यालयमा शिक्षक पूर्ति गर्न नगरपालिकाले सो अनुदान बन्दोबस्त गर्ने तयारी गरेको नगरपालिकाले जनाएको छ । 

‘सधैं दरबन्दी छैन भनेर बसेर हुन्न, सरकारले दरबन्दी दिने कुनै ठेगान छैन, दरबन्दी नहुँँदा परेको समस्या समाधानका लागि पालिका आफैंले केही गर्न खोजेको हो’, शिक्षा शाखा प्रमुख खड्काले भने । 

नगरपालिकाले सो अनुदान शिक्षकको बन्दोबस्त गर्नका लागि सुरुमा विद्यालय छनोट गरेको र विद्यालयको आवश्यकता अनुसार विषयको शिक्षकको पद खुल्ला प्रतियोगितामार्फत् प्रक्रिया पुर्याइ छनोट गर्ने निर्देशन सहित विद्यालयलाई कोटा दिएको शिक्षा शाखाले जनाएको छ । 

पालिकामा १४ वटा माविमा ५१ दरबन्दीका शिक्षक, र २० आविमा निमाविका ६८ शिक्षक, प्रावि तहका २१४ शिक्षक र ६५ बाल विकास सहजकर्ता रहेका छन् । 

 

प्रतिक्रिया