Edukhabar
सोमबार, ०७ जेठ २०८१
गतिविधि

एनओसी वितरण आजदेखि

अनलाइनबाट पैसा तिरिसकेको, सम्पूर्ण कागज अनलाइनमा हालेर भेरिफिकेशन भइसकेकालाई म्यानुअल्ली भए पनि सुरु गर्ने निर्णय

सोमबार, ०२ पुस २०८०

भक्तपुर-शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चार दिनदेखि रोकिएको नो अब्जेक्सन लेटर (एनओसी) सोमबारदेखि आंशिक रूपमा सेवा सुरु गर्ने भएको छ । 

एनओसीको सफ्टवेयरमा समस्या आएपछि बिहीबार देखि बन्द सेवा सोमबारबाट ‘म्यानुअल्ली’ भए पनि सुरु गर्न लागेको वैदेशिक अध्ययन अनुमति शाखा प्रमुख शान्तिराम पौडेलले बताए । ‘सफ्टवेयर रिकोभर पनि अन्तिम चरणमा पुगेको खुसीको खबर आएको छ । सम्भव भयो भने अनलाइन नै सुचारु गर्छौ,’उनले भने,‘यदि अनलाइन गर्न सकेनौ भने म्यानुअल्ली भए पनि सुरु गर्ने निर्णय गरेका छौ ।’ अनलाइन सिस्टम रहेको सर्भरको हार्डडिक्स फुल भएर अर्को राख्ने क्रममा डाटा नै हराएपछि रिकोभर गर्न समय लागेको मन्त्रालयले जनाएको छ । अनएओसी नपाएपछि विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीले आइतबार दिनभर सानोठिमी स्थित वैदेशिक अध्ययन अनुमति शाखा बाहिर नाराबाजी गरेका थिए । 

विद्यार्थीको समस्या समाधान गर्न तत्काललाई यसअघि अनलाइनबाट पैसा तिरिसकेको, सम्पूर्ण कागज अनलाइनमा हालेर भेरिफिकेशन भइसकेकालाई सेवा दिन लागेको पौडेलले बताए । यो सेवा लिनलाई पैसा तिरेको र भेरिफिकेशन भएको प्रमाण भने विद्यार्थीले पेस गर्नु पर्ने हुन्छ । प्रक्रिया अधुरै रहेकाको भने अनलाइन सिस्टम सुरु भएपछि मात्रै सेवा दिइने उनले बताए । 

अनलाइनबाट जारी गर्दा विद्यार्थीले क्युआर कोर्ड सहित एनओसी पाउँथ्यो भने म्यानुअल्ली गर्दा कुन देशमा के पढ्न जान अनुमति दिइएको हो त्यही विवरण मात्रै टाइप गरेर दिइने शाखाले जनाएको छ । 

प्रतिक्रिया