Edukhabar
सोमबार, ०७ जेठ २०८१
गतिविधि

केएमसीका सञ्चालक शर्माको चुनौती - ‘शिक्षामन्त्रीको चिठ्ठीले हामीलाई केही फरक पर्दैन । सम्बन्धन खारेज गरेर देखाऊ’

‘गोविन्द केसीले शिक्षामन्त्रीको राजीनामा माग्देला भनेर मन्त्रीज्यूले हामीलाई पत्र काटेको होला । हामीलाई केही फरक पर्दैन । एक महिनासम्म पनि ती विद्यार्थी सुध्रिएन भने तिम्रो विद्यार्थी फिर्ता लैजाऊ भनेर विश्वविद्यालय पठाइदिन्छौ ।’

मंगलबार, २४ पुस २०८०

काठमाडौँ -काठमाडौँ मेडिकल कलेज (केएमसी)का सञ्चालक सुनिल शर्माले एक जना विद्यार्थी निलम्बनको विषयमा शिक्षामन्त्रीले पदको दुरुपयोग गरेर कलेजलाई पत्र पठाएको भन्दै कानुनी बाटो खोज्ने चुनौती दिएका छन् ।

‘मन्त्री जस्तो व्यक्तिले आचरण विपरीत काम गरेका एक जना विद्यार्थीलाई निलम्बन गरेको विषयलाई लिएर पत्र काट्नु हास्यास्पद र लज्जास्पद हो,’ काँग्रेसका सांसद समेत रहेका शर्माले भने,‘शिक्षा मन्त्रीको चिठ्ठीले हामीलाई केही फरक पर्दैन । हामी ३५ दिन भित्र अदालत जान्छौ ।’ 

शिक्षा मन्त्रालयमा सोमबार भएको छलफलपछि वार्ता गरेर समाधान गर्ने तयारी भइरहेको बेला मन्त्रीको चिठ्ठीले वातावरण थप बिगारेको उनले बताए । 

केएमसीमा अध्ययनरत डा. विशद दाहालले स्वास्थ्य शिविरको विरोध गरेको भन्दै एक महिना निलम्बन गरेपछि १३ दिन दिन देखि कलेजमा आन्दोलन भइरहेको छ । कलेज प्रशासनले डा. दाहाललाई प्रवेश दिएको छैन । अस्पतालको चार वटै गेटमा दाहालको फोटो टाँसेर प्रवेश नदिएको हो । 

यही विषयमा संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सांसद डा. तोसिमा कार्की लगायतका सांसदले मन्त्रालयले केही नगरेको भन्दै हरेक दिन प्रश्न उठाएपछि शिक्षामन्त्री अशोक राईले सहकुलपतिको हैसियतले मङ्गलवार विश्वविद्यालयलाई निलम्बन फुकुवा गर्न निर्देशन दिएका हुन् । मन्त्रीले दिएको निर्देशनमा भनिएको छ,‘हेल्थ क्याम्प, फिल्ड भिजिट सम्बन्धी कार्यविधि तर्जुमा भए पछि मात्रै स्वास्थ्य शिविरमा विद्यार्थीलाई खटाउने कार्य गर्नु गराउनु हुन र निलम्बित विद्यार्थी डा. विशद दाहालको निलम्बन तत्काल फिर्ता गरी कलेजमा स्वस्थ शैक्षिक वातावरण तयार गराउन काठमाडौँ विश्वविद्यालय ऐन २०४८ को दफा १३ क उपदफा ३ बमोजिम निर्देशन दिएको छु ।’ 

bisad_t8Sx30UBC8

यो पत्र राष्ट्रिय स्वतन्त्र पार्टीको सांसदको दबाबमा आएको कलेज सञ्चालक एवं सांसद शर्माले आरोप लगाए । ‘यसको अर्थ दूर दराजका गरिब जनतालाई सेवा नगर्नु भनेको हो । हेल्थ क्याम्प गर्नु अपराध हो ?,’शर्माले एडुखबरसंग भने,‘गोविन्द केसीले शिक्षामन्त्रीको राजीनामा माग्देला भनेर डराएर मन्त्रीज्यूले हामीलाई पत्र काटेको होला । हामीलाई केही फरक पर्दैन । एक महिनासम्म पनि ती विद्यार्थी सुध्रिएन भने तिम्रो विद्यार्थी फिर्ता लैजाऊ भनेर विश्वविद्यालय पठाइदिन्छौ ।’ 

डा. दाहाललाई निलम्बन फुकुवा गर्न सरकारलाई दबाब दिएको भन्दै शर्माले रास्वपाका सांसद कार्कीलाई गोविन्द केसीको कार्यकर्ताको संज्ञा दिए । केसीको टिम सडक र सदनमा भएकाले आफ्नो कलेजको बदनाम गराउन लागि परेको उनको आरोप छ । 

‘तोसिमा कार्की लगायतले हिजो नेपालको मेडिकल कलेज, नर्सिङ कलेज बन्द गराउँदै हिँड्यो त्यस विरुद्धको हाम्रो अभियान जारी रहन्छ,’शर्माले भने । संसदीय समितिमा रास्वपाका सांसदले केएमसीको मनोमानी, विश्वविद्यालय र मन्त्रालयलाई अटेरी गरेको विषयमा प्रश्न उठाएको भन्दै शर्माले उनले आपत्ति जनाए । 

डा. दाहालको निलम्बन फुकुवा गर्न विश्वविद्यालयले निर्देशन दिँदा पनि नमानेपछि १९ गते यता संसदीय समितिमा नियमित यही विषयमा छलफल हुने गरेको छ । समितिको निर्देशनमा शिक्षा मन्त्री राईले मङ्गलवार पत्र काटेको हो । केएमसीले डा. दाहाललाई गोविन्द केसीको पक्षमा आन्दोलनमा लागेको रिस अहिले पोखेको शर्माको अभिव्यक्तिबाट प्रस्ट हुन्छ । ‘त्यो भाइ गोेबिन्द केसीको झन्डा बोकेर हिँड्ने अभियन्ता हुन् । ठुलठुला गफ दिँदै हिँड्छन् । कलेजले मेरो छोरालाई त ११ दिन सस्पेन्स गरेको छ भने नियम नमान्ने उसलाई किन नगर्ने ?,’शर्माले भने,‘उसलाई हामीले सेल्फ रियलाइज गर भन्दा म देखाइदिन्छु भनेर हिँडिरहेका छन् । १ जना विद्यार्थीको कारणले २२ सय विद्यार्थी पढ्ने कलेजको सम्बन्ध कसरी खारेज गर्दो रहेछ हेरौला ।’

 

यो विषयसँग सम्बन्धित अन्य खबर पनि पढ्नुहोस् :

शिक्षा मन्त्रालयको २४ घण्टे निर्देशन केएमसीद्वारा अवज्ञा

केएमसीले शिक्षा मन्त्रालय चलाएको कि मन्त्रालयले केएमसी ?

‘गेटमा फोटो टाँसेर छिर्न नदिँदा कतिसम्म टर्चर छ भन्ने मलाई मात्रै थाहा छ’

 

प्रतिक्रिया