Edukhabar
विहीबार, ०३ जेठ २०८१
गतिविधि

आफ्नो टोली आफै बनाउन पाउने प्रावधानको पक्षमा पूर्व उपकुलपतिहरु

विश्वविद्यालय राजनीतिबाट मुक्त हुनु अव्यवहारिक हुने हुँदा उपकुलपति नियुक्ति प्राज्ञिक एवं विश्वविद्यालय हाँक्ने क्षमता भएकालाई नै प्राथमिकता दिन सुझाव दिईएको छ ।

शुक्रबार, २६ माघ २०८०

काठमाडौं - त्रिभुवन विश्वविद्यालयमा नयाँ उपकुलपति छनोटको प्रकृया जारी रहेका बेला पूर्व उपकुलपतिहरुले नयाँ उपकुलपतिले आफ्नो टोली आफै बनाउन पाउनु पर्ने प्रावधानको पक्षमा वकालत शुरु गरेका छन् । शिक्षा मन्त्री अशोक कुमार राई संयोजकत्वको उपकुलपति छनोट समितिले उपकुलपति हुन ईच्छुक ४३ मध्ये सर्टलिष्टमा परेका १४ जनाको नाम सार्वजनिक गरेको भोलीपल्ट शुक्रबार पूर्व उपकुलपतिहरुको उक्त धारणा सार्वजनिक भएको हो । 

पूर्व उपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नविन जङ्ग शाहले शुक्रबार सार्वजनिक विज्ञप्ति मार्फत् उक्त धारणा सार्वजनिक गरेका हुन् । 

'उपकुलपतिको राम्रो छनोट नै सबै समस्याको समाधान होईन । नियुक्त हुने उपकुलपतिले अन्य पदाधिकारीहरु समेतको आफ्नै टोली बनाएर काम गर्न पाए मात्र उपकुलपतिको नेतृत्व प्रभावकारी हुने हुँदा उपकुलपतिले आफ्नो टोली आफैं बनाउन सक्ने प्रावधानको प्रादुर्भाव हुनु पनि उत्तिकै आवश्यक छ' विज्ञप्तिमा भनिएको छ, 'विश्वविद्यालयलाई अहिलेको समस्याबाट मुक्त गर्न व्यापक सुधार गरी अघि बढाउन सबै दलहरुको राजनीतिक सहमती प्राप्त गर्नाका लागि राज्यले अग्रसरता लिनु आवश्यक छ ।'

उपकुलपति नियुक्तिमा दलगत राजनीतिले प्रश्रय पाईरहेको स्मरण गर्दै उनीहरुले विश्वविद्यालय राजनीतिबाट मुक्त हुनु अव्यवहारिक हुने हुँदा उपकुलपति नियुक्ति प्राज्ञिक एवं विश्वविद्यालय हाँक्ने क्षमता भएकालाई नै प्राथमिकता दिन सुझाव दिईएको छ । नयाँ नेतृत्व दलगत राजनीतिबाट मुक्त गर्ने अभिप्रायले उपकुलपतिको नियुक्तिका लागि सिफारिस गर्न बनेको समितिले योग्य ईच्छुक उम्मेद्वारहरुबाट दरखास्त आह्वान गर्नुलाई उनीहरुले सकारात्मक रुपमा लिएको बताएका छन् । 

'विश्वका अन्य विश्वविद्यालयहरुमा प्रचलित यस्ता नियुक्तिहरुमा आफूले योग्य देखेका व्यक्तिलाई सोझै सम्पर्क गरी चयन गरेको पाईन्छ' विज्ञप्तिमा भनिएको छ, 'कतिले त अन्तरराष्ट्रिय प्रतियोगिताबाट छनोट गर्ने गरेको पनि देखिन्छ  ।'    

देशकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय राष्ट्रको एक धरोहर संस्था भएको बताउँदै पूर्व उपकुलपतिहरुले यसको सुधारले देशको विभिन्न पक्षमा सकारात्मक असर पार्ने उल्लेख गरेका छन् । लामो समय नेतृत्व विहीन भएको विश्वविद्यालयमा ढिलो नगरी उत्कृष्ट उम्मेद्वारको सिफारिस गर्न उनीहरुको आग्रह छ । विश्वविद्यालयको नेतत्व चयनमा अदृष्य रुपमा भागवण्डाले आश्रय पाएमा नेपालको उच्च शिक्षालाई अझ कमजोर बनाउने ठहर गर्दै विज्ञप्तिमा यस तर्फ निर्णायकहरुको ध्यान आकृष्ट पनि गरिएको छ ।

सम्बन्धित खबर पनि पढ्नुहोस् :

त्रिविको उपकुलपति बन्न अनुसन्धानलाई कम महत्व दिदा तजबिजको नम्बर निर्णायक

त्रिवि उपकुलपतिको सर्टलिष्टमा परेका को हुन् ?

प्रतिक्रिया