Edukhabar
शनिबार, १२ साउन २०८१
गतिविधि

संसदीय समितिले बोलायो शिक्षा मन्त्रीलाई

विवादित व्यक्तिलाइ उपकुलपति छनोट प्रक्रियाको सर्टलिष्टमा पारे पछि जानकारी लिन मन्त्रीलाई बोलाउने निर्णय गरिएको हो ।

आइतबार, २८ माघ २०८०

काठमाडौ - त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा विवादित व्यक्तिलाई समेत सर्टलिष्टमा पारे पछि संसदीय समितिले उपकुलपति छनोट समितिका संयोजक शिक्षा मन्त्रीलाई बोलाउने निर्णय गरेको छ । 

समितिको आइतबार बसेको बैठकमा सांसदहरुले उपकुलपतिमा गलत व्यक्तिलाई नियुक्ति गर्न लागेको भन्दै बिरोध भए पछि सभापति भानुभक्त जोशीले छनोट प्रक्रियाको जानकारी लिन मन्त्रीलाई सोमबार विहान ११ बजे बोलाउने निर्णय गरेका हुन् । 

बौद्धिक चोरीको आरोप लागेको तिर्थ खनियाँ, सम्बन्धनमा विवादित पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति केशरजंग बराल, सूचना आयोगले जरिवाना गरेका त्रिविका बाहलवाला उपकुलपति शिवलाल भुसालको नाम सर्टलिष्टमा निकालेपछि छनोट समिति विवादमा परेको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैनिक प्रशासन चलाउनको लागि भुसाललाई उपकुलपतिको जिम्मेवारी दिईएको भए पनि उनले कर्मचारी सरुवा गर्ने, पार्टीको भागबण्डामा सहायक डीन, विभागीय प्रमुख र क्याम्पस प्रमुख नियुक्ति गरेका छन् । उनको यो निर्णयको पनि समितिमा बिरोध भएको छ ।

‘उपकुलपतिको सर्टलिष्टमा विवादित व्यक्तिलाई समावेश गरेको विषय र कार्यवहाक उपकुलपतिले गरेको सरुवा र नियुक्तिको बारेमा छलफल गर्न लागेका छाँै,’समिति सभापति जोशीले भने । 

त्रिवि कार्यकारी परिषद्ले कांग्रेस निकट प्रा.चिरञ्जीवि आचार्यलाई मानविकी तथा सामाजिक शास्त्र संकायको सहायक डीनमा नियुक्त गरेको छ । राजनीतिक भागबन्डाका आधारमा क्याम्पस प्रमुखहरू नियुक्ति गरिएको छ । 
माओवादीको भागमा गोरखा र लमजुङ क्याम्पस प्रमुख पारिएको छ  । गोरखा क्याम्पसमा उपप्राध्यापक नवराज पाण्डे र लमजुङ क्याम्पसमा उपप्राध्यपाक मिलन सुवेदी नियुक्त भएका छन् । कांग्रेस निकट उपप्राध्यापक रामेश्वर आचार्यलाई पब्लिक युथ धोबीचौरको क्याम्पस प्रमुख बनाईएको छ । 

एमालेको भागमा इलाम स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस प्रमुख दिईएको छ । इलाम क्याम्पसमा सहप्राध्यापक गंगाराम पौडेल नियुक्त भएका छन् । 

रामपुर क्याम्पसमा उपप्राध्यापक कपिल काफ्ले र नेपाल ल क्याम्पसमा सहप्राध्यापक श्यामबहादुर कार्कीलाई क्याम्पस प्रमुख नियुक्त गरिएको छ । काफ्ले कांग्रेस निकट र कार्की माओवादी निकट हुन् ।

प्रतिक्रिया