Edukhabar
सोमबार, ०७ जेठ २०८१
गतिविधि

उच्च शिक्षाको पुर्नसंरचना गर्ने अभियाननै शुरु गरेको दावी

नयाँ उपकुलपति योग्यताकै आधारमा : प्रधानमन्त्री

विहीबार, ०३ फागुन २०८०

काभ्रे - प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपति योग्यताकै आधारमा छनौट गर्ने दोहार्याएका छन् । काठमाडौं विश्वविद्यालय (केयू) ले आयोजना गरेको दुई दिने अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलनको बिहीबार उद्घाटन गर्दै दाहालले नेपालले उच्च शिक्षाको पुर्नसंरचना गर्ने अभियाननै शुरु गरेको दावी पनि गरे । 

'नेपालको उच्च शिक्षा पुर्नसंरचना गर्दै छौं, त्यसका लागि उच्च शिक्षा विधेयक संसदमा लैजाने प्रकृया शुरु गरिएको छ' उनले भने 'उच्च शिक्षा सुधारका लागि देशकै जेठो विश्वविद्यालयमा नयाँ उपकुलपतिको छनौट मेरिटोक्रेसीको आधारमा गर्दै छौं ।' 

यस अघि विश्वविद्यालयको दीक्षान्त समारोहमा उच्च शिक्षा सुधारका लागि त्रिविमा योग्य उपकुलपति छनोट गर्ने सार्वजनिक अभिव्यक्ति दिदैं दाहालले विश्वविद्यालयको नियुक्तिमा दलगत भागवण्डा नगर्ने वाचा  गरेका थिए । उनको उक्त भनाई विपरित उपकुलपति छनोटको मापदण्ड खकुलो बनाएको भन्दै आलोचना भए पछि मापदण्ड नै फेर्नु परेको थियो

सोही मापदण्ड अनुसार आवेदन हालेका ४२ जना मध्ये बाट सर्टलिष्टमा परेका १४ जनाको प्रस्तुती सकिएको छ । यद्यपी विवादित व्यक्तिलाई नयाँ उपकुलपति बनाउन लागिएको भन्दै संसदीय समितिमा पनि आवाज उठिरेहेको छ । यही सन्दर्भमा प्रधानमन्त्री दाहालले योग्यताका आधारमा नयाँ उपकुलपछि छनोट गरेर उच्च शिक्षा सुधारको प्रकृया शुरु गर्न लागेको उक्त सम्मेलनमा बताएका हुन् । 

पूर्वीय दर्शनका ज्ञाता पाणिनी र बौद्ध धर्मका प्रवर्तक गौतम बुद्धको ज्ञानको चर्चा गर्दै उनले आफ्नो सम्बोधनमा उच्च शिक्षाको जगमा यस्ता ज्ञानलाई स्मरण गर्नु पर्ने पनि उल्लेख गरे । 

शुक्रबार सम्म सञ्चालन हुने कार्यक्रममा नेपाल र भारत सहित युरोप, अफ्रिकाका विभिन्न देशका १ सय ५० जना उपककुलपति र शिक्षाविद्को सहभागिता रहेको काठमाडौं विश्वविद्यालयले जनाएको छ । अधिकांश सहभागीहरू भारतीय विश्वविद्यालयहरुबाट आएका छन् । 

‘विशेष गरी दक्षिण एसियाली क्षेत्रका शैक्षिक समुदायहरू बीच सांस्कृतिक विचार आदान प्रदानलाई बढवा दिनेछ, सम्मेलन अवधिमा सहभागीहरूले उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्ने प्रभावकारी रणनीतिका बारेमा छलफल गर्नेछन्’ केयूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जसमा विद्यार्थी आदान प्रदान, संयुक्त अनुसन्धान र पाठ्यक्रम विकास सहितका विषयहरू समावेश छन् ।’

कार्यक्रममा अनुसन्धान साझेदारीका लागि अन्तर्राष्ट्रिय सहयोगका साझा मार्ग निर्माण, नियमन र नीति निर्माणका साझा मुद्दाहरू, गुणस्तर, सुनिश्चितता तथा प्रत्यायन संयन्त्र, विदेशी मान्यता, सामन्जस्य र विद्यार्थीको गतिशीलता र त्यसको विविधताका अन्तर्राष्ट्रिय अनुभव गरी कार्यक्रममा तीन वटा प्राविधिक सत्रहरू सञ्चालन हुने जनाइएको छ । 

सन् १९२५ मा स्थापित भारतीय विश्वविद्यालय संघको आयोजना तथा काठमाडौं विश्वविद्यालयको तत्त्वावधानमा कार्यक्रम भएको हो । 

प्रतिक्रिया