Edukhabar
सोमबार, ०७ जेठ २०८१
गतिविधि

उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार पौडेललाई, शिक्षक पुरस्कार महतोलाई

उत्कृष्ट  प्रधानाध्यापक सम्मान इलामको सूर्योदय नगरपालिका ११ माघेको भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक रचना देवानलाई प्रदान

शनिबार, ०५ फागुन २०८०

काठमाडौँ–शिक्षा पत्रकार समूहले तीर्थराज भुसालको स्मृतिमा स्थापित उत्कृष्ट पत्रकारिता पुरस्कार एडुखबर डटकमका सम्पादक श्रीधर पौडेललाई प्रदान गरेको छ । 

नेपालको सार्वजनिक शिक्षा सुधारका लागि विगत दुई दशकदेखि पत्रकारिताको माध्यमबाट योगदान पुर्‍याएको भन्दै छनोट समितिले पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । समूहको रजत वर्षको अवसरमा आयोजित कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले पौडेललाई नगद ३५ हजार र प्रमाणपत्र प्रदान गरेका हुन् । 

समूहले सिर्जनशील शिक्षक सम्मान राष्ट्रिय आधारभूत विद्यालय माडी नगरपालिका ३ रतनीकी मिल्सना महतोलाई प्रदान गरेको छ । उत्कृष्ट  प्रधानाध्यापक सम्मान इलामको सूर्योदय नगरपालिका ११ माघेको भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक रचना देवानलाई प्रदान गरेको छ । ०७७ मंसिरमा ८ जना विद्यार्थी रहेको यो विद्यालयमा अर्को विद्यालयमा गाभ्ने अवस्थामा पुगेकोमा अहिले पर्याप्त विद्यार्थी भएको,धुलोरहित कक्षाकोठा बनाउन सफल भएको भन्दै उनलाई सम्मान गरिएको हो । 

उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्षमा काठमाडौँको गागलफेदी स्थित सिद्धि गणेश माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष राजकुमार थापालाई प्रदान गरेको छ । 

समूहले उत्कृष्ट स्थानीय तह सम्मान बर्दियाको ठाकुरबाबा नगरपालिकालाई प्रदान गरेको छ । नगरपालिकाले निःशुल्क शिक्षाको अभ्यास गरेको, तहगत र विषयगत शिक्षकको दरबन्दी मिलान, ५ वर्ष समयावधि पुगेका  शिक्षकलाई अर्को विद्यालयमा सरुवा, नगरपालिकाको कुल बजेटको ३४.२ प्रतिशत बजेट छुटाएर उदाहरणीय कार्य गरेकोले उत्कृष्ट नगरपालिकाको सम्मान गरिएको समूहका अध्यक्ष कृष्ण मल्लले बताए । 

 

प्रतिक्रिया