Edukhabar
विहीबार, २७ बैशाख २०८१
गतिविधि

त्रिवि सुधार गर्ने कार्ययोजना पेश गर्न शिक्षामन्त्रीको निर्देशन

त्रिविलाई शिक्षामन्त्रीको ५ प्रश्न

शुक्रबार, २३ चैत्र २०८०

काठमाडौं -शिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा देखा परेको समस्याको समाधान गर्न कार्य योजना पेस गर्न निर्देशन दिएकी छन् । 

पठनपाठन, परीक्षा सञ्चालन, नतिजा प्रकाशन, शैक्षिक क्यालेन्डरको प्रयोग तथा शैक्षिक वातावरण सुधारको योजना मन्त्रालयमा पेस गर्न उनले सहकुलपतिको हैसियतले उपकुलतलाई निर्देशन दिएकी हुन् । 

‘विश्वविद्यालयको सेवा प्रवाह र सुशासनका सम्बन्धमा विभिन्न प्रश्न उठिरहेको, सञ्चार माध्यमहरूमा समाचार प्रकाशन, प्रसारण भएको तथा सरोकारवाला पक्षहरूको समेत गुनासो प्राप्त भएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको छ,’त्रिविलाई लेखेको निर्देशनमा भनिएको छ,‘ प्रणालीगत सुधार, चुस्त र गुणस्तरीय सेवा प्रवाह, शैक्षिक क्यालेन्डर कडाइका साथ लागु गर्ने लगायतका विषयहरू समेटी विश्वविद्यालयको समष्टिगत सुधारको कार्य योजना तयार गरी यथाशीघ्र मन्त्रालयमा पेस गर्नुहुन निर्देशन गरेको छु ।’

शिक्षामन्त्रीको निर्देशन 

१. मानविकी तथा समाजशास्त्र संकायको संवत् २०८० वैशाखमा सम्पन्न स्नातक तह प्रथम वर्षको ‘जनसङ्ख्या तथा स्वास्थ्य’ र शिक्षाशास्त्र संकायको ‘शिक्षाको आधार’ विषयको उत्तर पुस्तिकाहरू हराएको विषयमा गठित उच्चस्तरीय छानबिन समितिको काम कारबाहीको प्रगति के छ? ३० दिनभित्र उक्त समितिले पेस गर्ने भनिएको प्रतिवेदन कार्यान्वयनको सुनिश्चितता सहित सम्बन्धित प्रक्रियामा संलग्न दोषी उपर कारवाहीको सुनिश्चितता कसरी हुन्छ?

२. मानविकी तथा समाजशास्त्र संकायकै स्नातकोत्तर चौथो सेमेस्टरअन्तर्गत अर्थशास्त्र विषयको प्रश्न पत्रमा एउटै प्रश्न दुई ठाउँ सोधिएको विषयमा सम्बन्धित प्रक्रियामा संलग्न दोषी उपर कारबाही कसरी हुँदैछ?

३. इन्जिनियरिङ अध्ययन संस्थानतर्फ स्नातक तहमा ‘अटोमोबाइल’ विषयमा पुरानो सेमेस्टरकै पाठ्यक्रम अनुसार प्रश्नपत्र सोधिएको भन्ने सम्बन्धमा के भएको हो? उक्त प्रक्रियामा संलग्न जिम्मेवार पदाधिकारी को हुन्? त्यस्तो लापरवाहीपूर्ण कार्य गर्ने पदाधिकारीहरू माथि के कस्तो कारबाही कसरी अघि बढ्दै छ ?

४. शैक्षिक क्यालेन्डरको कार्यान्वयन हुन नसक्दा तोकिएको शैक्षिक सत्रभित्र पठनपाठन कार्य सम्पन्न गरी, परीक्षा लिने र समयमै नतिजा प्रकाशन गर्ने कार्य सम्पन्न हुन नसक्दा विद्यार्थीहरूको वर्षौँ समय खेर गएको भन्ने समेतका प्रश्नहरू विश्वविद्यालयमाथि उठेका छन्। शैक्षिक क्यालेन्डर प्रभावकारी रूपमा लागु गर्ने सम्बन्धमा के कस्तो कार्य योजना रहेको छ? विश्वविद्यालयमा समयमै पठनपाठन कार्य सम्पन्न गरी परीक्षा गर्न र सोको नतिजा शैक्षिक क्यालेन्डर बमोजिम समयमा नै प्रकाशन गर्ने सम्बन्धमा जिम्मेवार पदाधिकारीहरूलाई कसरी जवाफदेही बनाउँदैछ?

५.  उल्लेखित विषयहरूले विद्यार्थीहरूलाई प्रत्यक्ष मर्का परेको विषयमा संवेदनशील र जवाफदेही हुँदै विश्वविद्यालयले विद्यार्थीहरुसँग माफी मागेको छ कि छैन? यी घटनाहरूपश्चात परीक्षा प्रणालीलाई सुधार गर्न के गरिँदै छ? यी घटनाहरूबाट  विद्यार्थीहरूमा पर्न गएको क्षतिको क्षतिपूर्ति कसरी हुँदैछ? 

प्रतिक्रिया