Edukhabar
शनिबार, १२ साउन २०८१
गतिविधि

त्रिवि सेवा आयोग सदस्यमा भट्टराई

खुला विज्ञापनमा आठ जनाले प्रतिस्पर्धा गरेका थिए ।

बुधबार, ०२ जेठ २०८१

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्यमा प्रा.डा.अजय भट्टराई नियुक्ति भएका छन् । 

शिक्षामन्त्री सुमना श्रेष्ठ संयोजक रहेको छनोट समितिले प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाललाई उनीसँगै प्राडा सञ्जय आचार्य को नाम सिफारिस गरेको थियो । प्रधानमन्त्री दाहालले  भट्टराईलाई नियुक्ति गरेका हुन् । खुला विज्ञापनमा उनी सहित आठ जनाले प्रतिस्पर्धा गरेका थिए । भट्टराई यसअघि खुला प्रतिस्पर्धाबाटै त्रिविमा प्राध्यापक भएका थिए ।

महेन्द्र मोरङ क्याम्पसका रसायनशास्त्रका प्राध्यापक भट्टराई सेवा आयोगका सदस्य भएसँगै त्रिविको कर्मचारी, प्राध्यापक लगायतको छनोटको परीक्षा प्रक्रिया अघि बढ्नेछ । ३ सदस्यीय आयोगमा अध्यक्ष, यसरी खुला प्रतिस्पर्धाबाट छानिएका सदस्य र लोकसेवा आयोगका सदस्य हुन्छन् । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको पद रिक्त हुँदा लामो समयदेखि काम अवरुद्ध भएको थियो। मन्त्री श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समिति बनेको थियो।  समितिले ‘त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको सदस्य सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरेको थियो।
मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको भविष्य प्रति आशा जगाउन उच्च गुणस्तरयुक्त प्राध्यापक तथा कर्मचारीहरू नियुक्त गर्ने प्रक्रियाको नेतृत्व लिन सक्ने व्यक्ति छनोट गर्ने दाबी गरेकी   थिइन्। 
आवेदक कम्तीमा १० (दश) वर्ष उच्च शिक्षामा अध्यापनको अनुभव हासिल गरेको प्राध्यापक, कम्तीमा २ (दुई) वर्ष उच्च शैक्षिक संस्थामा व्यवस्थापकीय जिम्मेवारी बहन गरेको, विश्वविद्यालयसँग कुनै स्वार्थ नबाझिएको तथा राजनीतिक दलको सदस्य नरहेको र बौद्धिक चोरी  मा दोषी प्रमाणित नभएको स्व- घोषणा पनि संलग्न गर्नुपर्ने व्यवस्था थियो। 
कुनै किसिमको डरधाक, प्रलोभन तथा राजनैतिक वा अन्य कुनै किसिमको आस्थाको आधारमा गरिने भेदभावबाट प्रभावित नभइ निर्भिकतापुर्वक आफ्नो पदिय दायित्व निर्वाह गर्न सक्ने, जटिल र ठुलो संगठनमा, संगठनात्मक दक्षता, वित्तीय ज्ञान र प्रशासनिक क्षमता भएको, लचिलोपन, निष्पक्षता, पारदर्शिता, समानता र विविधताका मूल्यहरूप्रति प्रतिबद्ध रहेको, व्यावसायिक निष्ठा र प्रतिबद्धता भएको उपयुक्त व्यक्ति छनोट गरिने समितिको दाबी थियो।

 

प्रतिक्रिया