Edukhabar
आइतबार, ०२ असार २०८१
गतिविधि

छात्रवृत्ति सूची भन्दा फरक नाम सिफारिस विवाद सल्टियो

बंगलादेशले थप आठ नेपालीलाई पनि छात्रवृत्तिमा पढाउने

बुधबार, ०९ जेठ २०८१

काठमाडौं - छात्रवृतिमा अध्ययन गर्न चिकित्सा शिक्षा आयोगले सिफारिस गरेर पनि हटाइएका आठ जनालाई समेत बंगलादेश सरकारले छात्रवृतिमै  एमबीबीएस अध्ययन गराउने भएको छ । बंगलादेश सरकारले  दिने छात्रवृत्तिको लागि १९ जना एमबीबीएस र ३ जना बीडीएसमा सिफारिस भएको थियो । 

आयोगले एकीकृत प्रवेश परीक्षामा मार्फत पास भएका विद्यार्थीको नाम सार्वजनिक गर्दै सिफारिस गरेको थियो । आयोगले निकालेको सूची भन्दा फरक नाम सिफारिस गरेको पाइएको थियो । एमबीबीए र बीडीएस पढ्नका लागि बंगलादेश सरकारले उपलब्ध गराएको छात्रवृत्तिमा आयोगको सिफारिस भन्दा बाहेक अन्य १० जना विद्यार्थी सिफारिस भएको पाइए पछि विवाद सतहमा आएको थियो । शिक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालय हुँदै ३० जनाको नाम अघि बढाएको थियो । सिफारिस भएको आठ जनाको नाम नै हेरफेर भए पछि समस्या भएको हो । बंगलादेश सरकारले अन्तिम सूचिमा छुटेका ८ जनालाई समेत भर्ना दिने निर्णयको पत्र नेपाल सरकारलाई पठाए पछि यो समस्या समाधान भएको हो । 

‘बंगलादेश सरकारले सिफारिस भएका आठ जनालाई समेत छात्रवृत्तिमा अध्ययन गराउने पत्र आएको जानकारी पाएँ’ आयोगका उपाध्यक्ष डा. अञ्जनी झाले भने, ‘हामीलाई पत्र आए पछि अध्ययन अनुमति दिने तयारी गरेका छौँ ।’ 

सिफारिस भएका विद्यार्थीको सूची हेरफेर भएपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेपाल स्थित बंगलादेशी राजदूतसँग छलफल समेत गरेकी थिइन । यही सम्बन्धमा परराष्ट्र मन्त्रालयले बंगलादेश सरकारलाई कूटनीतिक नोट पठाएको थियो । त्यसको जवाफमा बंगलादेश सरकारले छुटेका ८ जनालाई समेत समावेश गर्ने निर्णय भएको पत्र कुटनीतिक नोट मार्फत नै जानकारी आएको मन्त्रालयले जनाएको छ । 

मन्त्री श्रेष्ठले बुधबार आठ जना विद्यार्थीलाई मन्त्रालयमा बोलाएर बंगलादेश सरकारले पठाएको पत्रको जानकारी गराएकी थिइन् ।

प्रतिक्रिया