काठमाडौं - पूर्व शिक्षा मन्त्री प्रदीप नेपालको निधन भएको छ । लामो समय देखि पार्किन्सन रोगबाट पीडित ७१ वर्षीय नेपालको मंगलबार दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको छ ।
२०६४ सालको पहिलो संविधान सभा निर्वाचन अघिको चुनावी सरकारमा उनी शिक्षा मन्त्री थिए । सार्वजनिक शिक्षाका पक्षधर नेपाल अभिभावकको सहभागिता विना सामुदायिक विद्यालय सुधार असम्भव हुने विचार राख्थे ।
वामपन्थी राजनीतिक वृत्तमा प्रष्ट वक्ता र ईमानको पर्याय बनेका नेपाल साहित्यिक क्षेत्रमा पनि सकृय थिए । यिनले सञ्जय थापाको नामबाट प्रगतिशील साहित्य लेख्ने गर्थे ।
नेपालमा कम्युनिष्ट पार्टिको पहिलो सरकारका रुपमा गठित मनमोहन अधिकारीको ९ महिने शासनकालमा उनी सञ्चारमन्त्री थिए । २०५६ सालको चुनावी सरकारमा जलश्रोत मन्त्री रहेका नेपाल एमालेका पूर्व स्थायी कमिटी सदस्य हुन् । नेपालमा एउटै कम्युनिष्ट पार्टि बनाउने लक्ष्यसाथ तत्कालिन माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपाको विवादका बेला उनी माधवकुमार नेपाल पक्षमा थिए । पछि नेकपा विभाजन पछि नेपाल नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादीले उनलाई सल्लाहकार बनाएको थियो ।
प्रतिक्रिया