Edukhabar
सोमबार, १६ असार २०८२
गतिविधि

सहमती अनुसार विधेयक दर्ता नभएकोमा शिक्षक महासंघको आक्रोश

केही दिन यता विधेयकमाथि समितिमा लगातार छलफल भईरहेको छ । तर, विधेयक माथि विलम्ब र षडयन्त्र भएमा आन्दोलनमा जान वाध्य हुने उल्लेख गर्दै आन्दोलनबाट सिर्जना हुन सक्ने परिणाम प्रति सचेत रहन महासंघले धम्कि दिएको छ ।

सोमबार, १६ असार २०८२

काठमाडौं - सहमती अनुसार शिक्षा विधेयक पारित नभएको भन्दै नेपाल शिक्षक महासंघले आक्रोश व्यक्त गरेको छ । सोमबार महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा असार १५ गते भित्र विधेयक पारित गर्ने प्रतिवद्धता अनुरुप प्रतिनिधि सभामा विधेयक पेश नहुँदा आफूहरु सशंकित र आक्रोशित भएको उल्लेख छ । 

यस अघि सडक प्रदर्शनमा उत्रिएको महासंघसँग असार १५ गते भित्र प्रतिनिधि सभाबाट विधेयक पारित गर्न सहमती भएको थियो । प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा र सत्ताधारी दल एमाले र काँग्रेसका प्रमुख सचेतकहरु महेश बर्तौला र श्यामकुमार घिमिरेले बैशाख १७ गते गरेको उक्त लिखित सहमतीमा 'असार १५ गते भित्र प्रतिनिधिसभाबाट विधेयक पारित गराउन आआफ्नो तहबाट सम्पूर्ण प्रयास गर्न प्रतिवद्ध रहेको' उल्लेख छ । 

'समितिमा चलिरहेको छलफल शिघ्रातीशीघ्र सम्पन्न गरी विगतमा भएका सहमतीहरु समावेश भएको अग्रगामी विद्यालय शिक्षा विधेयक अविलम्ब प्रतिनिधि सभामा पेश गरी पारित गराउन हामी सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछौं' विज्ञप्तिमा भनिएको छ । 

यसमा कुनै विलम्ब र षडयन्त्र भएमा महासंघ तुरुन्तै आन्दोलनमा जान वाध्य हुने उल्लेख गर्दै विज्ञप्तिमा आन्दोलनबाट सिर्जना हुन सक्ने परिणाम प्रति सचेत रहन पनि महासंघले धम्कि दिएको छ । 

केही दिन यता विधेयकमाथि समितिमा लगातार छलफल भईरहेको छ । सोमबार पनि विहानै देखि समिति छलफलमा जुटेको छ । 

प्रतिक्रिया