काठमाडौ - बौद्धस्थित अरुणिमा शैक्षिक प्रतिष्ठानले २०८१ सालको एसईईमा ग्रेडेड विद्यार्थीलाई सम्मान गरेको छ । विद्यार्थीलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ इञ्जिनियर सुरेशकुमार पुडासैनीले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्न विद्यार्थीको मेहनतका अलावा विद्यालय सञ्चालक, शिक्षक–कर्मचारी तथा अभिभावकको विशेष भूमिका रहने बताए । विद्यार्थीलाई भविष्यमा उचित विषय छनौट गरी अध्ययन गर्न परामर्श दिँदै पुडासैनीले शैक्षिक क्षेत्रको विकासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने बताए ।
प्रतिष्ठानका कार्यकारी प्रिन्सिपल ईश्वरीप्रसाद लामिछानेले विद्यार्थीको परीक्षाफल विश्लेषण गर्नुका साथै प्रतिष्ठानको समग्र शैक्षिक कार्यक्रमबारे उल्लेख गरेका थिए । प्रतिष्ठानका अध्यक्ष भीमानन्द ढुङ्गानाले गुणस्तरीय शिक्षाका सवालमा प्रतिष्ठानले कसैसँग पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरे । अरुणिमा कलेजका प्रमुख केशवप्रसाद जोशीले कक्षा ११ र १२ मा अध्ययन गर्नका निम्ति उचित विषय तथा गुणस्तरीय विद्यालय छनौटमा चनाखो रहन सुझाव दिए ।
अरुणिमा मावि बौद्धका एक सय ११६ जना, नव अरुणिमा मावि आरुबारीका ३७ जना र अरुणिमा शिक्षा सदन मावि महाङ्कालका ३६ जना विद्यार्थी गरी जम्मा एक सय ८९ जना विद्यार्थी समारोहमा अभिनन्दित भएका थिए । उच्चतम जिपिए प्राप्त गर्ने विद्यार्थी युनिशा चौलागाईं, स्मृति तिमिल्सिना (अरुणिमा मावि,बौद्ध), सभ्यता श्रेष्ठ (नव अरुणिमा मावि आरुबारी) र प्रतिष्ठा कोइराला (अरुणिमा शिक्षा सदन मावि,महाङ्काल) लाई नगद पुरस्कारसहित विशेष अभिनन्दन गरिएको थियो । कार्यक्रममा तीनवटै विद्यालयका सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने छात्राहरूले आफ्ना अनुभवहरू बाँड्दै सफलतामा योगदान पु¥याउने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
सोही समारोहमा पत्रकारितामा विशेष योगदान पुर्याएको कदर स्वरुप पत्रकार तथा सर्जक निर्मल अर्याललाई अभिनन्दन गरिएको थियो । समारोहमा विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया