काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि)का विभिन्न संकायबाट अध्ययन पुरा गरेका ८९ हजारभन्दा बढी विद्यार्थीलाई जापानी नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी काजिताले दीक्षित गराएको दीक्षान्त समारोह सम्पन्न भएको समाचार छ । २०८१ असार १ देखि २०८२ जेठ ३१ गतेसम्म उत्तीर्ण भएका (एक शैक्षिक सत्रका) स्नातक, स्नातकोत्तर, विद्यावारिधि (पीएचडी) तहका ८९ हजार एक सय ९९ विद्यार्थी मध्ये १८ प्रतिशत (१६ हजार तीन ८० जना विद्यार्थी मात्रै) दीक्षान्त समारोहमा सहभागि भएको समाचार छ ।
समारोहमा स्वर्ण पदक र पुरस्कार जित्ने कमल पौडेल, भावना अधिकारी र सौरभ कोइरालाले स्वदेशी भविष्य र राष्ट्र सेवाप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेको समाचारमा उल्लेख छ । पदक विजेताहरूले नियमित अध्ययन र कडा परिश्रमलाई नै आफ्नो सफलताको सूत्र मानेका र युवाहरूमा व्याप्त विदेशिने लहर र स्वदेशमा उपयुक्त अवसरको आवश्यकताका बारेमा समाचारमा चर्चा गरिएको छ ।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले दीक्षित विद्यार्थी जहाँ रहे पनि, जुन क्षेत्रमा काम गरे पनि मानवता, सामाजिक संवेदनशीलता र राष्ट्रप्रतिको दायित्वलाई हामीले कहिल्यै पनि बिर्सन नहुने बताउँदै प्रधानमन्त्री कार्कीले ज्ञान, श्रम र प्रतिबद्धताले नेपाल र विश्वको उज्ज्वल भविष्य निर्माणमा सकारात्मक योगदान पु¥याउन आग्रह गरेको समाचारमा उल्लेख छ । त्यस्तै कार्कीले विद्यार्थीको परीक्षा सञ्चालन र नतिजा प्रकाशनको काममा गम्भीर बन्न त्रिविका पदाधिकारीलाई निर्देशन दिनुभएको समाचारमा उल्लेख छ ।
सार्वजनिकमा पढेर उत्कृष्ट शीर्षकमा पाल्पा तानसेनका कमल पौडेलले तानसेनकै पदम पब्लिक नमुना विद्यालयबाट एसएलसी र विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरी त्रिविबाट अर्थशास्त्रतर्फ एमएमा सर्वोत्कृष्ट नतिजा ल्याएको कान्तिपुरमा समाचार छ । राजनीतिशास्त्रमा स्नातकोत्तरमा सर्वोत्कृष्ट भएकी प्रतिभा पौडेलले २०७० सालमा काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन सामुदायिक माविबाट विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेकी हुन् । सौरभ कोइरालाले समाजशास्त्रतर्फ एमएमा सर्वोत्कृष्ट नतिजा ल्याएका छन् । समाचार अनुसार उनले गोरखाको विन्ध्यबासिनी सामुदायिक विद्यालय, नारेश्वरबाट २०६७ सालमा एसएलस उत्तीर्ण गरेका हुन् । त्यस्तै गोरखाको सहिद लखन गाउँपालिकाका राज श्रेष्ठले ह्वील चियरमा धायर दोहोरा स्नातकोत्तर गरेको समाचार छ । यसअघि आरआर क्याम्पसबाट मानविकी संकायमा स्नातकोत्तर गरेका उनले जनप्रशासन क्याम्पसबाट मास्टर अफ पब्लिक एडमिनिस्ट्रेसन पूरा गरेपछि दीक्षित भएको समाचार छ ।
दीक्षान्त समारोहमा न्यून संख्यामा विद्यार्थी सहभागी भएपछि त्रिविले उपत्यका बाहिर पनि दीक्षान्त समारोह गर्न लागेको अनलाइन खबरमा समाचार छ । कामको शिलशिलामा र दीक्षान्त समारोहमा आउन धेरै खर्च लाग्ने भएकाले उपत्यका बाहिर पनि समारोहको आयोजना गर्ने निष्कर्षमा त्रिवि पुगेको हो ।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको नेतृत्वमा गठित कार्यदलले विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुने प्रावधान कसरी हटाउने भनेर छलफल अगाडि बढाएको छ । दुई चरणमा छलफल सकेपछि कार्यदलले विकल्प सहति सरकारलाई सुझाव दिन कुलपति कसलाई बनाउने भनेर कार्यदलमा विमर्श भएको समाचारमा उल्लेख छ ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपाललाई निवासमै पुगेर ५÷६ जनाको अज्ञात समूहले कालो मसी छर्केर दुव्र्यवहार गरेको समाचार छ । विश्वविद्यालयका शिक्षाध्यक्ष भोजराज जोशीले उपकुलपति प्रा.डा. धनेश्वर नेपाल लगायत माथि सुनियोजित आक्रमण भएको विज्ञप्ति निकालेको समाचार छ । उपकुलपति नेपाल, उपप्रशासक खिमबहादुर केसी र उपकुलपतिका स्वकीय सचिव चोलेन्द्र रिजालमाथि सुनियोजित आक्रमण भएको विश्वविद्यालयले जनाएको छ । समाचार अनुसार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले मोसो दलेको प्रहरी अनुसन्धानबाट खुलेको समाचारमा उल्लेख छ ।
काठमाडौंको थापाथलीमा रहेको ब्रिटिश कलेजमा तोडफोड गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । ब्रिटिश कलेजमा इण्टर्नशीपको विषयमा युएईमा विद्यार्थीलाई अलपत्र पारेको भन्दै विवाद भएपछि आक्रोशित भिडले तोडफोड गरेको समाचारमा उल्लेख छ । विद्यार्थीको पढाइमा सो कलेजले लापरवाही गरेको भन्ने विषयमा छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षा शाखाका उपसचिव परशुराम तिवारीको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको समाचार छ ।
स्वास्थ्य मन्त्रालयले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको उपकुलपति नियुक्ति गर्न मंसिर २५ गते गरेको सूचना हाललाई रोक्ने अन्तरिम आदेशलाई उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय दुर्गाबहादुर विश्वकर्मा र यज्ञबहादुर राना मगरको सयुक्त इजलासले निरन्तरता दिएको छ ।
जनपक्षीय विद्यार्थी युनियन नेपाल नाममा १८ बुँदे माग राखेर काठमाडौं उपत्यकामा शैक्षिक हड्ताल आह्वान गरेको समाचार छ । संगठनले निजी विद्यालयले लिइरहेको शुल्कमा ५० प्रतिशत घराउनु पर्ने, विदेशमा रहेका नेपाली विद्यार्थी तथा श्रमिकले भोट हाल्न पाउनु पर्ने लगायतको १८ बुँदे माग राखेर हड्ताल गरेको समाचारमा उल्लेख छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालय शिक्षा सुधारका लागि अभिभावकहरूले नै आन्दोलन गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत पुनले नेपाल भरिका धेरै विद्यालयमा भए गरेका राजनीति हटाउन अभिभावकले नै आन्दोलन गर्नुपर्ने बताएको समाचारमा उल्लेख छ ।
शीतलहर र बढ्दो चिसोका कारण रौतहत गौरका विद्यालय चार दिन बिदा दिएको छ । गौर नगरपालिकाले आफ्नो क्षेत्रमा रहेका सबै सार्वजनिक तथा निजी विद्यालयहरु बर्से बिदाबाट कट्टा हुने गरी पठनपाठनको कार्य बन्द गर्न गराउन सूचना जारी गरेको समाचारमा उल्लेख छ ।
शैक्षिक सुधारमा दलहरु शीर्षकमा गोरखापत्रमा प्रा.डा. कृष्णकान्त पराजुलीले नेपालको बिग्रिएको शिक्षा प्रणाली सुधार गर्न दलको अस्तित्वमा नभई दलभित्र विकसित सोच, संस्कार र व्यावहारिक अभ्यासमा परिवर्तन आवश्यक रहेको लेखेका छन् ।
रामजी दाहालले गोरखापत्रमा विश्वविद्यालय सुधारको अवसर शीर्षकमा विगतका अनुभवबाट सिक्दै विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउन प्रधानमन्त्री कुलपति रहने विद्यमान व्यवस्था हटाउन मात्र सके पनि त्यो कदम विद्यमान बेथिति अन्त्यको प्रस्थानविन्दु बन्न सक्ने लेखेका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा फाराम खुलाएको समाचार छ । ०८३ सालमा हुने वार्षिक परीक्षाका लागि फाराम खुला गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
काठमाडौँ महानगर क्षेत्रभित्रमा एक सय सात विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको पाइएको समाचार छ । महानगरपालिकाको नगर शिक्षा समितिको गत साउन २८ गतेको निर्णय अनुसार विगतमा अनुमति लिएका त्यस्ता विद्यालयहरुको स्थलगत अनुगमन गर्दा सञ्चालनमा नरहेको पाइएको हो । यस्ता विद्यालयलाई १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क गर्न महानगरले अल्टिमेटम दिएको समाचारमा उल्लेख छ ।
जाजरकोटको जुनीचाँदे गाउँपालिकाको श्री मावि सिर्पचौरका विद्यार्थीले शिक्षक वीरबहादुर बस्नेतमाथि कुटपिट गरी घाइते बनाएका छन् । विद्यालयमा भएको दौड प्रतियोगितामा शिक्षक बस्नेतले पक्षपात गरेको भन्दै विद्यार्थीले कुटपिट गरेको समाचारमा उल्लेख छ ।
विद्यालय तहमा विद्यार्थीको स्वास्थ्य हेरचाह गर्ने जिम्मेवारीमा रहेका विद्यालय नर्स आफैँ समस्यामा रहेको समाचार छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले ‘एक विद्यालय, एक नर्स कार्यक्रम’को समीक्षाको क्रममा सरोकाकारवालाले विद्यालय नर्सहरूले दरबन्दी विना करारमा काम गर्नुपरेको, पर्याप्त तलब सुविधा नरहेको, उचित वातावरणमा कम गर्न नपाएको, एकै जना नर्सले एक हजार भन्दा बढी विद्यार्थीलाई सेवा दिनुपर्ने बाध्यता रहेको, विद्यालय प्रशासनबाट असहयोग हुने गरेको समस्या सुनाएको समाचारमा उल्लेख छ ।
साताभरिका शैक्षिक विषयवस्तुको सामाजिक न्याय र सिर्जनशील शिक्षण विधिका दृष्टिबाट वर्गीकरण र संश्लेषण गरी सान्दर्भिक टिप्पणी सहित नीति निर्माता एवं सरोकारवालाहरुलाई शैक्षिक समाचारको सार उपलब्ध गराउनु यसको उद्देश्य हो । शिक्षा नीति तथा अभ्यास केन्द्र र एडुखबरको संयुक्त प्रयासमा दैनिक पत्रिकाहरु कान्तिपुर, गोरखापत्र र दि हिमालयन टाईम्स, न्यूज पोर्टलहरु अनलाईन खबर, सेतोपाटी र रातोपाटी अनि हिमालय टिभिको बेलुका ७ र नेपाल टेलिभिजनको बेलुका ८ बजेको समाचारलाई यसमा समेटिन्छ । यस पटक २०८२ पुस ५ देखि ११ गते सम्मका विषयवस्तु समेटेका छौं – सम्पादक ।
गत साताका सामग्री पढ्नुहोस् : शिक्षामा गत साता
प्रतिक्रिया