Edukhabar
बुधबार, ०२ जेठ २०८१
विचार / विमर्श

चौमासिक बुझ्नेको अवस्था र मर्यादा जोगाउने बाटो

आइतबार, १४ कार्तिक २०७३

बढ्दो महंगी, परिवर्तित चालचलन, प्राविधिक दुनियाँले ल्याएको चुनौती जस्ता कारणले गर्दा शिक्षणको हिजोको मान्यता परिवर्तन हुँदै गएको छ । यो परिवर्तनमा शिक्षण पेशा की व्यवसाय त ? व्यवसाय भन्ने वित्तिकै नाफा घाटा प्रधान हुन्छ भन्ने कुरा बुझ्न अर्थशास्त्रका कुनै सिद्धान्त पल्टाउनु पर्दैन तर शिक्षणमा नाफा घाटाको कुरा गर्नु पनि ‘पाप’ सरह मानिन्छ ।

शिक्षामा गरिएको लगानी तुरुन्तै प्राप्त हुँदैन । त्यसको प्रतिफल प्राप्त हुन धेरै लामो समय लाग्न सक्छ । त्यसका लागि धैर्यता चाहिन्छ । शिक्षकबाट समाजको अपेक्षा के हो त ? पैसा कि उसको श्रम वा पेशाबाट निस्कने शैक्षिक गुणस्तर ? शैक्षिक गुणस्तर रातारात परिवर्तन गर्न सकिने कुनै राजनीतिक क्रान्ति पनि होइन । फेरि शैक्षिक उपलब्धिको मापन किलोको तौल वा घर घडेरी जोडेको आधारमा निर्धारण गर्न पनि सकिदैन ।

पाँच सयमा खरिद गरेको स्याउ हजार रुपैयाँ पारेजस्तो पनि होइन शिक्षण पेशा । विगतमा नाफा घाटा नहेरिको हुँदा शिक्षणप्रति सम्मानित दृष्टिकोण थियो । कताकता आज शिक्षण पेशाले नाफाको हजार खोज्दै छ ।
समाजले पनि शिक्षकहरुसँग पनि त्यस्तै हजारौं रुपैयाँ खोजिरहेछ । अझ पछिल्लो एक दशक शिक्षित युवाहरुको युरोप अमेरिका पलायनले गर्दा समाजका धारणामा बिस्तारै परिवर्तन ल्याएको छ । परिवारले पनि छोराछोरीले युरोप अमेरिकामा काम गर्छन् भन्न पाउँदा गर्व गर्न थालेका छन् । देशमा अझ शिक्षण पेशामा लाग्नेहरु प्रति सकारात्मक धारणा क्रमशः ह्रास हुँदै गएको छ ।

नगएर होइन नसकेर विदेश नगएको भन्ने मान्यता स्थापित हुँदै गएको छ । अझ निराशालाग्दो कुरा त यो छ कि समाजका बुढापाकाहरुले राम्रा मान्छेहरु सबै विदेशिए भन्न थालेका छन् । त्यस्तो कथन शिक्षकले बढी सुन्नुपर्छ किनकी ऊ समाजसँग दैनिक सम्पर्कमा हुन्छ । यसले त शिक्षकलाई आफू कमजोर रहेछु भन्ने हीन भावनाको विकासमा सहयोग पु¥याइरहेको छ ।

आर्थिक हिसाबले पनि शिक्षक बल्लबल्ल चौमासिक बुझ्छ । वर्षभरिको आम्दानी हिसाब गर्दा पनि उसले राज्यलाई पन्ध्र प्रतिशत कर तिर्न मुस्किल मुस्किल पर्छ । अर्काेतिर युरोप अमेरिकाबाट आएको एक सय डलरले समाजमा धमाका पिटिरहेको हुन्छ । विदेशमा थोरै बचाएर यहाँ पठाएको पैसा सोडा हालेको खाद्यान्न जस्तै फुलिदिन्छ । अनि त्यसको दाँजोमा शिक्षक कर्मचारी लाग्न सक्ने कुरै हुन्न ।

अर्कोतिर शिक्षण पेशा दिनभर अफिस गएर केही फाइल पल्टाएर वा जाडोमा घाम तापेर बिताउने पेशा पनि होइन । काम गर्नुभन्दा पहिल्यै भत्ता गोजीमा प्राप्त हुने क्षेत्र त झन् हुँदै होइन । ‘टेबुलमुनि’ बाट रकम प्राप्त हुने क्षेत्र पनि यो परेन । निजामती प्रशासनमा हजारौं लोकले मानेका त्यस्ता कर्मचारीहरु छन्, जसको शहरमा घर नभएको होस् ।

हरेक जिल्ला तथा क्षेत्रका कार्यालय प्रमुखहरु गर्वले आफ्नो पुरानो घर गाउँमा र नयाँ घर काठमाडौंमै वा त्यस्तै शहरमा भएको बताउँछ । त्यो कसरी संभव हुन्छ ? लोकसेवाले लिने परीक्षाको शुद्धतामा खिल्ली उठाउने काम उसले सिफारिस गरेका मानिसहरुबाट भएको छ । तापनि उनीहरुको इज्जत समाजले बढी गरेको पाइन्छ । तर हेडसरहरु शहरमा घर जोड्न त सक्नुहुन्न । त्यसकारण यो क्षेत्र भविष्यका योग्य नागरिक निर्माणका लागि श्रम र मेहनत गर्नुपर्ने पेशा रहेछ यो ।

पत्रकारितामा अलिक पहिला एउटा पदावली प्रचलनमा थियो, ‘पेशागत इमान्दारिता’ ! त्यो शब्द शिक्षणमा पनि आवश्यक छ । हाम्रोमा अहिले एक व्यक्तिले धेरै जिम्मेवारी बोक्ने प्रचलन छ । शिक्षण पेशामा लागेकाहरु पनि त्यसबाट अछुतो छैनन् । सफलताका लागि आफ्नै क्षेत्रमा बाहेक अन्यत्र ध्यान दिनै सकिदैन । तर अवस्था ठिक विपरीत छ । कतिपय अवस्थामा बाध्यता पनि छ । एउटा शिक्षकले दशथरी जिम्मेवारी बोकेर हिडँको छ ।

सहकारी, पार्टी, व्यवासाय, सामुदायिक वन आदिआदिको जिम्मा उसकै थाप्लोमा छ । नेतृत्वले नीति बनाउन नसक्दा बेरोजगारी बढाउनमा पनि दोहोरो तेहेरो जिम्मेवारीले काम गरेको छ । नीति नियम बनाउने जनप्रतिनिधिहरु नै कतै मेडिकल कलेज खोल्न कतै व्यापार गर्न लागेपछि त्यसको प्रभाव सबैतिर नपर्ने कुरै भएन । अर्कोतिर चुलिदो मंहगी र अस्वस्थ प्रतिष्पर्धाका कारण शिक्षक पनि पेशागत रुपमा इमान्दार बन्न सक्ने अवस्था ह्रास हँुदै गएको छ ।

तसर्थ आजको शिक्षण व्यवासाय बन्दै गएको छ । चन्दा, दान आदिआदिका थप व्ययभार पनि शिक्षकले बोक्नै पर्ने छ । प्राप्त हुने न्युन पारिश्रमिक त्यही नै हो, जसले उसले महिनाभरिको पारिवारिक खर्च धानेर बचत गर्नुपर्ने हुन्छ । अरुलाई लाग्ने नियम कानुन शिक्षकलाई नलाग्ने कुरै भएन । तसर्थ शिक्षकले राज्यलाई आम्दानी कर नतिरी हुँदैन । अनि शिक्षण पेशाबाट व्यवसायमा जान्छ । पेशा बन्ने क्रम रोकिएन भने शिक्षणका मूल्य मान्यता क्रमशः हराउँदै जाने निश्चित छ ।

तथापि शिक्षकसँग विकल्प छैन, पेशाको मर्यादालाई जोगाउँदै हिड्नुको । त्यसकारण शिक्षकले भन्नैपर्ने भएको छ, कि मैले चन्दा दिन सक्दिन, दान दिन सक्दिन । म सँग ज्ञान बाहेक केही पनि छैन । त्यसो भनेनौं भने शिक्षकको मर्यादा जोगिने छैन ।

प्रतिक्रिया