Edukhabar
बुधबार, ०२ जेठ २०८१
गतिविधि

महायज्ञबाट विद्यालयमा कम्प्युटर देखि क्याण्टिन सम्म

मंगलबार, ११ माघ २०७३

तेह्रथुम - जिल्लाको पश्चिमी छथर क्षेत्र हमरजुङ गाविस स्थित सरस्वती माविलाई जिल्लाकै नमुना बनाउन आवश्यक आर्थिक संकलन गर्ने उद्धेश्यले ‘तेह्रथुम छथर शुक्रबारे शैक्षिक तथा धार्मिक महोत्सव’ गरिने भएको छ । शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयलाई अत्याधुनिक सेवा सुविधायुक्त प्राविधिक शिक्षा सहितको जिल्लाकै नमुना विद्यालय बनाउन धार्मिक महोत्सव अर्थात् साता व्यापी अष्टज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको प्रधानाध्यापक टिकाराम बस्नेतले जानकारी दिए ।  

महायज्ञबाट सहयोग संकलन गरी विद्यालयको भौतिक पुर्वाधारलाई पुर्णता दिने, आधुनिक पुस्तकालय, विज्ञान प्रयोगशाला तथा कम्प्युटर ल्याव कक्ष स्थापना, सुविधा सम्पन्न शौचालय, श्रव्य दृश्य शैक्षिक सामाग्रीको व्यवस्था गर्ने योजना निर्माण गरिएको बस्नेतले बताए । विद्यालयमा सिसि टिभी जडान, आकर्षक विद्यालय भवन निर्माण, आधुनिक कक्षा कोठा, बैठक कक्ष व्यवस्थापन, यस क्षेत्रका राम्रो हल निर्माण, खेल मैदान तथा खेल पुर्वाधार विकास, पौष्टिक सन्तुलन सहितको क्याण्टिन निर्माण, पार्किङ क्षेत्र लगायत व्यवस्थापन गर्ने योजनाहरु समेत बनाईएको छ ।  

विद्यालयमा आधुनिक सेवा सुविधा सहितको छात्रावास निर्माण गर्ने र प्राविधिक शिक्षासहितको ५ हजार बढी विद्यार्थी अध्ययन गर्नसक्ने शैक्षिक संस्थाको रुपमा विकास गर्ने योजना बनाइएको उनले बताए ।
फागुन १५ देखि २२ गतेसम्म सञ्चालन महोत्सवबाट महोत्सवबाट ३ करोड रुपैयाँसम्म उठाउने योजना बनाईएको  व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर कटुवालले बताए । त्यति रकम संकलन गर्न सके विद्यालयलाई प्रदेश नं. एक कै शैक्षिक हबको रुपमा विकास गर्ने योजना रहेको उनको भनाई छ ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुती रहने जनाइएको छ । महायज्ञमा गोविन्दशरण महाराज र मिरादेवीबाट धार्मिक प्रवचन हुने छ ।

प्रतिक्रिया