Edukhabar
आइतबार, ०८ भदौ २०८२
गतिविधि

चार्टर्ड एकाउन्टेन्सी शिक्षामा १५ हजार विद्यार्थी

मंगलबार, १८ माघ २०७३

काठमाडौं - १५ हजार भन्दा वढी विद्यार्थीले नियमित चार्टर्ड एकाउन्टेन्सी शिक्षा लिइरहेका चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले जनाएको छ । मंगलबार आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको दीक्षान्त समारोहमा अध्यक्ष महेश खनालले संस्थाले हालसम्म तीनसय भन्दा वढी चार्टर्ड एकाउन्टेन्टहरु उत्पादन गरेको जानकारी दिए । त्यस्तै संस्थामा एक हजार भन्दा वढी चार्टर्ड एकाउन्टेन्ट्स तथा ७ हजार भन्दा वढी दर्तावाल लेखा परीक्षक सदस्य रहेको खनालले बताए ।

कार्यक्रममा विभिन्न विश्वविद्यालयका पाठ्यक्रमहरुमा लेखामान तथा लेखापरिक्षणमान जस्ता विषयहरु समेट्नु पर्ने र त्यसका लागि आफूले पहल गर्ने शिक्षा मन्त्री धनिराम पौडेलले प्रतिवद्धता जनाएका छन् । विद्यमान शिक्षा नीति, कार्यक्रम, पाठ्यक्रम, प्रणाली र संरचनामा सामयिक सुधार, विकास र सम्बद्र्धन आवश्यक रहेकोमा जोड दिंदै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

मन्त्री पौडेलले चार्टर्ड एकाउन्टेन्ट्सहरुको छुट्टै दीक्षान्त समारोह आयोजना हुनु मुलुककै लागि खुशीको कुरो भएको बताउँदै चार्टर्ड एकाउन्टेन्ट्सहरुको आफ्नो भिन्न दीक्षान्त समारोह आयोजना हुनुले देशमा पेशागत लेखाको क्षेत्रमा भएको विकासलाई प्रतिविम्वित गरेको उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले देश विकासमा चार्टर्ड एकाउन्टेन्ट्सहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै चार्टर्ड एकाउन्टेन्ट्सहरु देश विकासका मेरुदण्ड भएको बताईन् । आफ्नो पेशागत एवं व्यवसायिक मर्यादामा रहेर देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान दिन दीक्षितहरुलाई उनको आग्रह थियो ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति चिरन्जीवि शर्माले संस्थाले दक्ष चार्टर्ड एकाउन्टेन्ट्स उत्पादन गरिरहेको भन्दै संस्थाको प्रशंसा गरे ।

कार्यक्रममा राष्ट्रपति भण्डारी र शिक्षा मन्त्री पौडेलले उत्कृष्ठ अंक ल्याउने विद्यार्थीलाई प्रमाण पत्र प्रदान गरेका थिए । कार्यक्रममा तीन सय १९ जना विद्यार्थी दीक्षित भएका छन् ।

प्रतिक्रिया