Edukhabar
विहीबार, ०६ बैशाख २०८१
गतिविधि

यस्ता भवन बनेसँगै पठन पाठनमा सहज

शुक्रबार, २८ माघ २०७३

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको टालटिलेश्वर प्राथमिक विद्यालयलकी प्रधानाध्यापक अनिता पाण्डे हिजो आज निकै खुसी छन् । भुकम्पका कारण विद्यालय भवन भत्केर खुल्ला ठाउँमा विद्यार्थी पढाउनु पर्ने बाध्यता हटेसंगै उनको खुसी बढेको हो ।

‘पहिलेको जस्तो खुल्ला आकासमुनि र कुनै छेकबार नभएको स्थानमा बसेर पठनपाठन गराउनुपर्ने समस्या समाधान भएको छ, उनले भनिन् भवन बनेपछि घाम, पानी, हावाहुरीको कुनै चिन्ता रहेन । राम्रो र सुरक्षित भवन भएपछि पढाउन पनि सजिलो भएको छ ।’  

२ बर्ष पुरा हुन लाग्दा समेत अझै पनि भुकम्पले भत्काएका विद्यालय भवन नबनेर हैरान भएका धेरै विद्यालयका विद्यार्थीको तुलनामा यहाँका विद्यार्थी भाग्यमानि देखिएका छन् । भूकम्पबाट मानसिक रुपमा त्रसित विद्यार्थी गोरखा इको प्यानलको प्रयोगबाट बनेको भवनमा बसेर पढ्न पाएपछि सुरक्षित महशुश गरेको आफूले पाएको पाण्डेले बताइन् । ‘यो प्यानलबाट निर्मित भबनमा एउटा कक्षाकोठाको आवाज अर्काे कक्षाकोठामा आउँदैन, हेर्दा आर्कषक पनि छ ।’ उनले भनिन् ।

काठमाडौंस्थित कमिटेड नेपाल नामक गैरसरकारी संस्थाले विद्यालय भवन बनाइदिएको हो । भवन पाएपछि विद्यार्थी मात्रै हैन अभिभावक र शिक्षकहरुसमेत लाभान्वित भएका छन् । कमिटेड नेपालले सिन्धुपाल्चोकको सो स्थानको विद्यालयमात्र नभएर पाँंच गाउँं विकास समितिमा रहेका अन्य पाँचवटा स्कुलको भबन पनि बनाइदिएको छ ।

यसैबीच भूकम्पले क्षति भएका जिल्लाका अधिकांश विद्यालय पुनःनिर्माण हुने क्रम अगाडि बढेको जिशिअ निर्मल घिमिरेले जानकारी दिए । गैरसरकारी संस्थाले सहयोग गरेपछि विद्यालय पुनःनिर्माण कार्य अगाडि बढेको उनको भनाई छ । भूकम्पले सिन्धुपाल्चोकका ५४२ विद्यालयमा क्षति पुगेको थियो । ‘भवन नहुँदा विभिन्न समस्या झेल्दै आएका विद्यार्थीले अहिले विस्तारै सुरक्षाको प्रत्याभूति गरेका छन् ।’ उनले भने ।

जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकका अनुसार भूकम्पमा तीन हजार ६०० कक्षाकोठा पूर्णरूपमा क्षति भएकोमा एक हजार २०० कक्षाकोठा मर्मत गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । त्यसका लािग अहिले ७० वटा संघसंस्थाले विद्यालय पुनःनिर्माण, कक्षाकोठा मर्मत कार्य अगाडि बढाइरहेका छन् । कमिटेड नेपालले मात्र सिन्धुपाल्चोकको थांपालधाप गाविसस्थित थांपागाल माध्यामिक विद्यालय, भोटेनाम्लांग गाविसस्थित क्षेत्रपालेश्वरी माध्यमिक विद्यालय, भोटांग गाविसस्थित भोटागदेवी माध्यमिक विद्यालय, गुन्सा गाविसस्थित कुम्भेश्वरी प्राथमिक विद्यालय र चिलाउने माध्यामिक विद्यालयका स्कल भबन गोरखा इको प्यानलको प्रयोगबाट बनाएको छ ।

कमिटेड नेपालका इञ्जिनियर बालकृष्ण सुवालले शिक्षा विभागसँंग स्वीकृति लिएर गोरखा इको प्यानलको प्रयोगबाट भूकम्पप्रतिरोधी स्कुल भबन बनाएको बताए ।

प्रतिक्रिया