Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

फेल भएपनि अस्थायी शिक्षकलाई सुविधा, शिक्षा ऐन संशोधनका लागि संसदमा दर्ता गरिदैं

विहीबार, ०१ भदौ २०७४

काठमाडौं - अस्थायी शिक्षकका लागि गरिएको ब्यवस्थामा परिमार्जन गर्दै शिक्षा मन्त्रालयले शिक्षा ऐनको नवौं संशोधनको तयारी गरेको छ ।

बाढि पहिरोका बहाना बनाएर शिक्षक सेवा आयोगले अन्तिम समयमा परीक्षा सारेको दोश्रो दिनमा मन्त्रालयले परीक्षामा फेल भएपनि सुविधा पाउने ब्यवस्था सहित ऐनको नवौं संशोधन विहीबारै संसदमा दर्ता गर्ने अन्तिम तयारी गरेको हो ।

आफ्नो ब्यवस्थापनका बारेमा आठौं संशोधनमा भएको ब्यवस्थाले आफूहरुलाई अन्यया भएको भन्दै आन्दोलनरत अस्थायी शिक्षकको माग सम्बोधन गर्न संशोधन प्रकृया शुरु गर्न लागिएको हो ।

यस्तै संशोधनमा २०६१ साउन २१ देखि २०६७ माघ ९ गते सम्म नियुक्ति भएका अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामा सामेल गराउने ब्यवस्था समेटिएको छ ।

२०६७ साल माघ ९ गते देखि २०७३ चैत १९ सम्मका अस्थायी शिक्षकका हकमा आन्तरिक ६० र खुल्ला ४० प्रतिशत हुने ब्यवस्था संशोधनमा समेटिएको मन्त्रालय श्रोतले जनाएको छ ।

०६७ साल माघ १० मा नियमावलीको छैठौं संशोधन भएको थियो । त्यो भन्दा पहिले अस्थायी र करारमा नियुक्ति गरिएको शिक्षकलाई पनि समेट्ने गरी ऐनमा संशोधन गर्न लागिएको हो ।

अस्थायी शिक्षकको ब्यवस्थापनका लागि आठौं संशोधनमा भएको परीक्षा र गोल्डेन ह्याण्डसेक मध्ये एक रोज्नु पर्ने ब्यवस्थालाई परिमार्जन गरेर परीक्षामा फेल भएपनि सुविधा पाउने ग्यारेण्टि गरिएको छ ।

आठौं संशोधनमा परीक्षा नरोजी गोल्डेन ह्याण्डसेक रोज्ने अस्थायी शिक्षकलाई अधिकतम सेवा अवधि बीस वर्ष मानी तिन तहको सुविधा दिने ब्यवस्था छ । पाँच वर्षदेखि दश वर्षसम्म सेवा गरेको शिक्षकलाई उसले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलब बराबरको रकम, दश वर्ष भन्दा बढी पन्ध्र वर्षसम्म सेवा गरेको शिक्षकलाई उसले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब बराबरको रकम र      पन्ध्र वर्षभन्दा बढी सेवा गरेको शिक्षकलाई उसले काम गरेको प्रत्येक वर्षको  निमित्त आखिरी डेढ महिनाको तलब बराबरको  रकमदिने व्यवस्था छ ।

उक्त ब्यवस्था अनुसार २६ हजार अस्थायी शिक्षक मध्ये सुविधा त्यागेर १५ हजार ६ सय ९७ ले परीक्षा रोजेका छन् ।

तर उक्त परीक्षाको विरोधमा अस्थायी शिक्षकको एक समूह आमरण अनसनमै बसेपछि अन्तिम समयमा आएर शिक्षक सेवा आयोगले परीक्षा समेत सारेको छ । ३ गतेका लागि तोकिएको परीक्षा १० गते पुर्याईएको छ ।

प्रतिक्रिया