Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

हारे शिक्षा मन्त्रीले

बुधबार, २७ मंसिर २०७४

काठमाडौं - शिक्षा मन्त्री गोपालमान श्रेष्ठ हारेका छन् । प्रतिनिधि सभा निर्वाचनमा स्याङ्जा  क्षेत्र नम्बर दुईबाट प्रतिस्पर्धामा उत्रिएका श्रेष्ठ बाम गठबन्धनका तर्फबाट एमाले उम्मेद्वार पदमा अर्यालसँग हारेका हुन् ।  

उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठलाई अर्यालले ३ हजार ७ सय ६ मत अन्तरमा हाराएकी हुन् । अर्यालले ३५ हजार १ सय ४२ मत प्राप्त गरेकी छिन् भने श्रेष्ठले ३१ हजार ४ सय ३६ मत प्राप्त गरेका छन् ।

अर्यालले श्रेष्ठसँग २ दशक अघिको बदला लिएकी छन् । यी दुई उम्मेद्वार २०५४ सालमा पनि संगै भिडेका थिए ।

दुई प्रतिनिधि र चार प्रदेश सभा क्षेत्र रहेको कांग्रेसको गढ भनिदैं आएको स्याङ्जामा यसपाली क्षेत्र नम्बर दुईको ‘ख’ प्रदेश बाहेक सवैमा बाम गठबन्धनका उम्मेद्वार विजयी भएका छन् ।

दलहरु विच भएको लामो विवाद पछि आईतबारबाट बल्ल मत गणना शुरु भएको थियो । प्रारम्भिक गणनामै चुनाव हार्ने संकेत पाएर श्रेष्ठ काठमाडौं फर्कि सकेका थिए ।

गत जेठ २४ गते बुधबार प्रधानमन्त्री शेरवहादुर देउवाले आफ्ना विश्वास पात्र श्रेष्ठलाई उपप्रधान सहित शिक्षा मन्त्रीको सपथ खुवाएका थिए ।

संविधानले माध्यमिक तह सम्मको शिक्षाको अधिकार स्थानीय सरकार मातहत ब्यवस्था गरेको सन्दर्भमा मन्त्री बनेका काँग्रेसका यी पाका नेताका अघिल्तिर नयाँ थिती र विधि बसाउनु पर्ने चुनौती थियो । तर यस अघि बाणिज्य, वन र भौतिक योजना तथा निर्माण जस्ता 'मालदार' भनिदैं आएका मन्त्रालय सम्हालेका उनले शिक्षामा प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ ।

शिक्षा ऐन जारी भएको झण्डै २ बर्ष सम्म पनि शिक्षा नियमावली समेत बनाउन नसकेको अवस्थामा श्रेष्ठका अघिल्तिर संविधानले गरेका शिक्षाका ब्यवस्था सहित शिक्षा ऐन कार्यान्वयन गर्ने अवसर थियो । तर उनी केही हजार आफ्ना कार्यकर्ता रिझाउन मात्रै केन्द्रित भएर थिती विगार्ने शिक्षा मन्त्रीका रुपमा दर्ज भए । सार्वजनिक शिक्षा ध्वस्त हुने भन्दै चौतर्फी विरोध हुँदा हुँदै पनि अस्थायी शिक्षक समस्या समाधान गर्ने बहानामा उनले शिक्षा ऐनमा गरेको नवौं संशोधन उनको कार्यकालको मात्रै नभई शिक्षा क्षेत्रकै लागि अपूरणीय क्षती बनेको छ ।

पढ्नुहोस् : शिक्षाको कालो दिन

शिक्षा मन्त्री हुँदा उनले प्रदान गरेका सिटिईभिटिको सम्बन्धन लगायतका अन्य कृयाकलाप पनि शिक्षामा दूरगामी नकारात्मक असर पार्ने खालका भएका भन्दै आलोचना हुँदै आएको छ । आफ्नो कार्यकालमा गठन गरेको उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगमा आफ्ना पीए समेतलाई सदस्य बनाएर उनी थप आलोचित भएका थिए । श्रेष्ठले चुनाव हार्नुमा यी कुराहरुले पनि भूमिका रहेको आँकलन गरिन्छ ।

पढ्नुहोस् : शिक्षा आयोग की भारदारी सभा ?

मन्त्री भए लगत्तै उनीसँग गरिएको यो अन्र्तवार्ता पनि पढ्नुहोस् : शिक्षा मन्त्रीलाई प्रश्न : रोजेर शिक्षा मन्त्री हुनु भएको की आईलागेको ?

यस अघिनै आएको परिणाम अनुसार शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी पनि हारिसकेका छन् । चितवन २ बाट उठेका उनी पनि बाम गठबन्धनका तर्फबाट एमालेका उम्मेद्वार कृष्णभक्त पोखेरेल सँग हारेका हुन् ।
पढ्नुहोस् : शिक्षा राज्यमन्त्री पराजित

फाईल फोटो

प्रतिक्रिया