Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

शिक्षक नियुक्तिको विरोध, ऐन विपरीत भन्दै पालिका अध्यक्षलाई ज्ञापनपत्र

बुधबार, ०९ फागुन २०७४

तेह्रथुम - आठराई गाउँपालिकाले मनलाग्दी रुपमा शिक्षक नियुक्ति गरेको भन्दै नेपाल शिक्षक संघले विरोध जनाएको छ । संक्रान्ति बजारका त्रिमहोन मावि र राम संस्कृत मावि, सरस्वती आधारभूत विद्यालय ह्वाकू, सिंहवाहिनी आधारभूत विद्यालय खाम्लालुङ लगायतका विद्यालयहरुमा पालिकाले आधारभूत र माध्यमिक तहमा अस्थाई शिक्षक करारमा नियुक्ति गरेको छ ।

विद्यालयहरुमा भईरहेको अस्थाई शिक्षक करारमा नियुक्ति ऐन विपरीत भएको ठहर साथ संघको आठराई ईकाईले मंगलबार गाउँपालिका अध्यक्षलाई ध्यानकर्षण सहितको ज्ञापन पत्र बुझाएको हो ।

शिक्षा सम्बन्धि अधिकार स्थानीय, प्रदेश र केन्द्र तीनै तहमा स्पष्ट नभएकाले शिक्षक नियुक्तिको विषयमा स्थानीय तहले अहिले हतार नगर्न शिक्षक संघले गाउँपालिकालाई अनुरोध गरेको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ को उपदफा २ को “ज” मा आधारभूत र माध्यमिक शिक्षा सम्बन्धि केही विषय मात्र उल्लेख भएको र अस्थाई शिक्षक नियुक्तिको विषय उल्लेख नभएको तर्क गर्दै उक्त कार्यको विरोध गरिएको छ ।

'शिक्षा ऐन, कानुन र प्रदेश सँगको कानुनी तलमेल प्रकृयामा नपुगी विद्यालय र विद्यालय व्यावस्थापन समितिको अधिकार वेवास्तगरी ऐन विपरीत भएको कार्य प्रति गम्भिर ध्यानकर्षण भएको छ' उक्त ज्ञापन पत्रमा भनिएको छ, 'शिक्षक नियुक्ति, रोष्टर छनौट तथा प्रकृया स्वेच्छाचारी नभई स्पष्ट कानुनी आधारमा र निश्पक्ष ढंगबाट गर्न अनुरोध छ ।'

जिल्ला कार्य समितिका अध्यक्ष भूवनसिंह चोङवाङ, केन्द्रिय प्रतिनिधि सन्तोष गौतम र शिक्षक संघ आठराईका अध्यक्ष विरेन्द्र कन्दङवा सहितको टोलीले ज्ञापन पत्र बुझाउँदै शैक्षिक विकासको सवालमा आवश्यक सहकार्य र समन्वय नभए संघ आन्दोलित हुन सक्ने चेतवानी समेत दिएको छ ।

ज्ञापन पत्र बुझ्दै गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले जनप्रतिनिधि र जिल्ला शिक्षा कार्यलय सँगको छलफलबाटै शैक्षिक क्षेत्रको गतिविधि अघि बढाएकोले ऐन विपरीत नभएको जिकिर गरे । माध्यमिक तह सम्म्को शिक्षा सञ्चालनको अधिकार स्थानीय सरकार मातहत भएसँगै गाउँपालिकाले रोष्टर तय गरी छनौट गरेर नियुक्ति दिएको नले बताए ।

प्रतिक्रिया