Edukhabar
शनिबार, १५ बैशाख २०८१
गतिविधि

राजनीतिक भागवण्डा नमिले पछि क्याम्पसमा रडाको

विहीबार, ०८ चैत्र २०७४

काठमाडौं - नियुक्तिमा आफ्ना दल निकट प्राध्यापक नपरे पछि आर्युवेद क्याम्पस कीर्तिपुरमा रडाको शुरु भएको छ । माओवादी निकट प्राध्यापकले मनोमानी गरेको भन्दै काँग्रेस निकट प्राध्यापकहरुको संगठन प्रजातन्त्रवादी प्राध्यापक संघ विरोधमा उत्रिएको छ ।

खाली रहेको क्याम्पस प्रमुख र हस्पिटल डाईरेक्टर मध्ये एउटा पद आफूहरुले पाउने आशामा बसेको संघ दुवै पद नपाउने भएपछि विद्यार्थीको साथ लिएर उपकुलपति सहितका सम्बन्धित निकायमा ध्यानाकर्षण गराउन जुटेको छ ।

गत असार १८  गते देखि खाली रहेको क्याम्पस प्रमुखमा माओवादी निकट शिव मंगल प्रसादलाई निमित्त दिए पछि संघ आन्दोलित भएको हो । प्रमुख छनौट गर्न डा. देव बहादुर रोक्काको संयोजकत्वमा कितृका गौतम र विनोद सिंह सहितको ३ सदस्यीय समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । समितिले प्रा.डा. रतिश झा, प्रा.डा चन्द्रराज सापकोटा र शिव मंगल प्रसादको नाम उपकुलपति कार्यालयमा बुझाएको थियो । रेक्टर सुधा त्रिपाठिको जोडले माओवादी निकट प्रसादलाई निमित्त क्याम्पस प्रमुख नियुक्ति गरिए पछि संघले खाली रहेको हस्पिटल डाईरेक्टरमा आफू निकटका ब्यीक्तको नियुक्ति हुने आशा गरेको थियो । तर, त्यहाँ पनि माओवादी निकट रोकालाई नियुक्ति गर्ने तयारी भए पछि संघले प्रसादको नियुक्तिमै विरोध जनाउन थालेको हो ।

डाईरेक्टर रिफारिस गर्न प्रसादको संयोजकत्वमा संघका सचिव पुष्पमान श्रेष्ठ र काजल झा सम्मिलित समिति गठन गरिएको थियो । उक्त समितिले क्रमै सँग सापकोटा, रोका र डा. राम किशोर शाहको नाम सिफारिस गरेको थियो । बरिष्ठताका आधारमा सापकोटा डाईरेक्टर हुनु पर्ने भन्दै संघले लविङ् गरेको थियो । तर रोकाको नियुक्तिको तयारी भए पछि संघले निमित्त प्रमुखको नियुक्तिमै असहमती जनाउन शुरु गरेको हो ।

तर संघका सचिव श्रेष्ठ स्वायत्त संस्थामा त्रिविका पदाधिकारीबाट भएको बलजफ्तििका कारण असहज अवस्था आएको दावी गर्छन् ।

'जो ब्यक्ति नियुक्त भए पनि सिष्टमबाट हुनु पर्यो, यो स्वायत्त संस्था हो तर, यहाँ रेक्टरको बलजफ्ति भयो, वरिष्ठतम ब्यक्ति नियुक्ति गर्नु पर्छ भन्ने हाम्रो भनाई हो' उनले भने, 'तर सबै भन्दा कनिष्ठ ब्यक्तिलाई नियुक्ति गरिएको छ, यसले संस्थाको हित गर्दैन भन्ने हाम्रो मत हो ।'

क्याम्पस प्रमुख हुन कम्तिमा सह प्राध्यापक हुनु पर्ने  भन्ने ब्यवस्थाको स्मरण गर्न आग्रह गर्दै उनले उप प्राध्यापकलाई क्याम्पस प्रमुख बनाउँदा बरिष्ठ ब्यक्तिहरुको मानमर्दन भएको पनि बताए ।

प्रतिक्रिया