Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

सामाजिक सञ्जालमा शिक्षा मन्त्रीको चर्को आलोचना

बुधबार, १२ बैशाख २०७५

काठमाडौं - पत्रकार अनिल गिरीले फेसबुकमा स्टाटस लेखे - गणतन्त्रका राजा (मन्त्री) लाई स्वागत गर्न गोरखा पालुङटारको अमरज्योती जनता माविका विद्यार्थीले चर्को घाममा लाइन बस्नुपर्यो...

अर्का पत्रकार कृष्ण मल्लको स्टाटस छ - तन्त्र फेरिएर के भो र फरक ? बालबालिकालाई लाइन लगाएर मन्त्रीको स्वागतमा लगाउने चलन जिउँदै रैछ !

यी दुई प्रतिनिधि स्टाटस हुन् ।

भुकम्पको तीन बर्ष पुगेको दिन दाताले बनाईदिएको विद्यालयको उद्घाटन गर्न गोरखा पुगेका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले लाममा बसेका विद्यार्थीको हातबाट पुष्प गुच्छा लिदैं गरेको फोटो अपलोड गर्दै सामाजिक सञ्जालमा चर्को आलोचना भईरहेको छ ।

उनीहरुको स्टाटसमा कमेण्ट गर्नेहरुले पनि मन्त्रीको मोह प्रति ब्यङ्य गरेका छन् ।

एक त तीन बर्ष सम्म चर्केका, भत्केका र अस्थायी छाप्रामा बसेर पढ्न वाध्य विद्यार्थीको पिडा दोश्रो बैशाखको टण्टलापुर घाममा लाम लागेर मन्त्रीको स्वागत गरेको दृष्य ! यो दृष्यले पञ्चायतकालमा राजाको जन्मदिन मनाउन भन्दै विद्यार्थीलाई प्रयोग गरेर निकालिने जुलुसको झझल्को दिदैं थियो ।

जिम्मा लिएर पनि निकै सुस्त गतिमा विद्यालयको पुनर्निर्माण गरिरहेका ठूला दाता मध्येको एक जापानी सहयोग नियोग (जाईका) ले भुकम्पको तीन बर्ष पुगेको दिनमा बुधबार आफ्नो सहयोगमा बनेको विद्यालय भवनको शिक्षा मन्त्रीबाट उद्घाटन गराएको थियो । मिरकोट पालुङटार नगरपालिकाका स्थित धर्माेदय माध्यमिक विद्यालयको नव निर्मित भवनको उद्घाटन गर्दै मन्त्री पोखरेलले समयमा काम नगर्नेका बारेमा सोच्ने भने बताए ।

पढ्नुहोस् : दाताले बनाएको विद्यालयमा उभिएर शिक्षा मन्त्रीले भने : समयमा काम नगर्नेका बारेमा सोच्छौं !

पुनर्निर्माणको जिम्मा लिएका जाईका सहित अमेरिकि सहयोग नियोग (यूएसएआईडी) र एशियाली विकास बैंक (एडिबी) जस्ता ठूला दाताकै काम सुस्त हुँदा विद्यार्थीको भुक्तमान जारी छ ।

२०७२ बैशाख १२ को भूकम्पबाट देश भरी ९ हजार विद्यालय मध्ये बढी प्रभावित ३२ जिल्लाका ती विद्यालयहरुको २१ हजार १ सय ६९ कक्षाकोठा पूर्ण रुपमा क्षती भएका छन् । १२ हजार ५ सय २२ कक्षा कोठा अधिक रुपमा र १५ हजार ९ सय ९० कक्षाकोठामा आंशिक रुपमा क्षति पुगेको थियो ।

भूकम्पबाट बढी प्रभावित ३२ जिल्लाका ७ हजार ९ सय २३ विद्यालय पुनर्निर्माण गर्नु पर्ने छ । विद्यालय पुनर्निर्माण गर्ने गरी विभिन्न संस्थाहरुसँग सरकारले सम्झौता गरे पनि भुकम्प पछि विद्यालय पुनर्निर्माणको कार्य गर्ने जिम्मेवारी सहित गठन गरिएको शिक्षा मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई मार्फत् गरिएका पुनर्निर्माणको सुस्त प्रगतिका कारण आगामी बर्खामा पनि लाखौं विद्यार्थीले उस्तै भुक्तमान भोग्नु पर्ने निश्चित भएको छ ।

पढ्नुहोस् : विद्यालय बनाउने जिम्मा लिएका ठूला दाताकै काम सुस्त, सरकारसँग वहानै वहाना !

प्रतिक्रिया