Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

कांग्रेसको आरोप : मार्क्सवाद पढाउन थालियो !

बुधबार, २६ मंसिर २०७५
काठमाडौं - प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकारले शिक्षामा जनवादीकरण गरेको आरोप लगाएको छ । सत्तामा भएको मौका छोपी कम्युनिष्टहरुले आफ्ना  नेताहरुको तस्वीर  पुस्तकमा छाप्ने र लोकतान्त्रिक शक्तिलाई अपमानित गर्ने काम शुरु गरेको कांग्रेसको आरोप छ । मंसिर २८ गते देखि पुस ३ गते सम्म काठमाडौंमा हुने महासमिति बैठकमा पेश गर्न पार्टीका उपसभापति विमलेन्द्र निधिद्वारा केन्द्रीय कार्यसमितिमा प्रस्तुत राजनीतिक प्रस्तावमा उक्त आरोप लगाईएको हो ।  
 
'कम्युनिष्ट पार्टी सत्तामा भएको मौका छोपी विस्तारै शिक्षामा जनवादीकरण सुरु भएको छ । अहिले कतिपय विद्यालयमा नेपालका कम्युनिष्ट नेताहरुको तस्वीर  पुस्तकको मुखपृष्ठमा नै छाप्ने, लोकतान्त्रिक शक्तिलाई अपमानित गर्ने र सुनियोजितरुपमा मार्क्सवाद पढाउने काम गर्न लागिएको छ' प्रस्तावमा भनिएको छ, 'शिक्षालाई सेवामूलक भन्दा पनि व्यवसायीकरण गर्ने काम कम्युनिष्टहरुले नै गरिरहेका छन् र सरकार यस्तो कृत्यलाई प्रोत्साहित गरिरहेको छ ।'
 
आठ हजार धेरै शब्लको उक्त प्रस्तावको सरकारबारे हाम्रो दृष्टिकोण  शिर्षकमो शिक्षामा जनवादीकरण उपशिर्षकमा शिक्षाको विषय समाबेश गरिएको छ । 
 
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई विदेश भ्रमणमा जान लाग्दा एयरपोर्टबाटै पक्राउ गरी फिर्ता गरिएको घटनालाई दृष्टान्त दिदैं प्रस्तावमा सरकारले शिक्षक, प्राध्यापकहरुलाई अपमानित गर्ने काम गरेको आरोप पनि लगाएको छ । 
 
'यो घटनाले यो सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको प्रमाणित गर्दछ । सरकारले सबै विश्वद्यिालयमा ठाडो हस्तक्षेप गरिरहेका अनेक दृष्टान्तहरु छन्' प्रस्तावमा भनिएको छ, 'कम्युनिष्ट पार्टीका विजयी स्थानीय तहमा विचार नमिलेकै कारण जथाभावी सरुवा गर्ने काम पनि भएका छन् ।'
 
यस्ता कार्यलाई कुनियतपूर्ण कार्यहरुको संज्ञा दिदैं कांग्रेसले कानुन विरोधी, लोकतन्त्रका मूल्य विरोधी कार्यहरु तत्काल रोक्न सरकारसंग माग गरेको छ । 
 
राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र र संघीयतामा प्रतिवद्ध रहेको उल्लेख गर्दै प्रस्तावमा सरकारको तिब्र आलोचना गरिएको छ ।
 
'संसदमा दुई तिहाई सरहको शक्ति आर्जन गर्ना साथ लोकतन्त्रको आवरणमा  सत्तासीन नेपाल कम्युनिष्ट पार्टी एक पछि अर्को गर्दै संविधानको भावना र मर्म माथि प्रहार गरी शक्तिको दुरुपयोग गर्न लागेको हुनाले उसको लोकतन्त्रप्रतिको विश्वास र निष्ठामा शंका गर्नुपर्ने अवस्था सिर्जना भएको छ' प्रस्तावमा भनिएको छ । 
 
गुण र दोषको आधारमा सरकारलाई समर्थन र विरोध गर्ने हाम्रो नीति रहेको उल्लेख गर्दै प्रस्तावमा संसदीय लोकतान्त्रिक प्रणाली प्रति तीव्र विमति राख्ने दुई कम्युनिष्ट पार्टी यही प्रणालीमा सहभागी हुनु आफ्नो पार्टिको सैद्धान्तिक विजय भएको प्रस्तावमा उल्लेख छ । 
 
संविधानको सफल कार्यान्वयनका लागि सरकारको इमान्दारीपूर्ण प्रतिबद्धता तथा लोकतान्त्रिक चरित्र, शैली र व्यवहार र देशको समृद्धि, राष्ट्रिय स्वाधिनता र स्वाभिमानको अभिवृद्धिका लागि परिपक्व, जिम्मेवार र गम्भीर भूमिका नै सरकारसँगको सम्बन्धको आधार हुने कांग्रेसले जनाएको छ । 
 
वर्तमान सरकारका प्रधानमन्त्रीलाई झै सहज राजनीतिक वातावरण विगतका कुनै प्रधानमन्त्रीलाई प्राप्त नभएको स्मरण गर्न आग्रह गर्दै कांग्रेसले देशले अपनाएको ब्यवस्था कार्यान्वयनमा गम्भिर हुन आग्रह पनि गरेको छ । 

प्रतिक्रिया