Edukhabar
शनिबार, १५ बैशाख २०८१
गतिविधि

विद्यार्थी, शिक्षक र अभिभावकले ज्यान गुमाएको विद्यालयमा नयाँ भवन, मन्त्रीले गरे उद्घाटन

शनिबार, ०१ माघ २०७३

सिन्धुपाल्चोक - भूकम्पले क्षतिग्रस्त कालीका ६ सिन्धुपाल्चोकमा रहेको महेन्द्र कान्ति माध्यमिक विद्यालयमा निर्माण गरिएको ट्रस भवनको शिक्षा मन्त्री धनिराम पौडेलले उद्घाटन गरेका छन् । शुक्रवार विद्यालयको ५५ औं वार्षिकोत्सव तथा  ५२ औं अभिभावक भेलाको अवसरमा मन्त्री पौडेलले ६ कोठे ट्रस भवनसँगै विद्यालयमा स्थापना गरिएको कम्प्युटर प्रयोगशालाको पनि उद्घाटन गरे ।

२०७२ साल बैशाख १२ गतेको भूकम्पले विद्यालयको २९ कोठे विद्यालय भवन पूरै क्षतिग्रस्त भएको थियो । विद्यालयमा अध्ययनरत ५ जना बालबालिका, १ जना शिक्षक र १६ जना अभिभावकले पनि भुकम्पमा परी ज्यान गुमाएका थिए ।

विभिन्न संघसस्थाको ३५ लाख १० हजार ४ सय ९८ रुपैयाँको लागतमा ६ कोठे ट्रस भवन निर्माण गरिएको हो । ट्रस भवन बनेपछि विद्यालयमा पठनपाठन केही सहज भएको प्रधानाध्यापक केदारप्रसाद भण्डारीले बताए । विहेल्फ नेपालले प्रदान गरेको १० वटा कम्प्युटर तथा शिक्षा मन्त्रालको ५ लाख रुपैयाँ आर्थिक सहयोगमा विद्यालयमा कम्प्युटर प्रयोगशाला निर्माण गरिएको हो ।

कार्यक्रममा शिक्षा मन्त्री धनिराम पौडेलले भूकम्पले तहसनहस भएर पनि सिन्धुपाल्चोक जिल्लाले शैक्षिक क्षेत्रमा गरेको प्रगति प्रशंसनिय भएको बताए । दुर्गम र भूकम्प अति प्रभावित जिल्ला भएर पनि सिन्धुपाल्चोक मध्यमाञ्चाल क्षेत्रका १९ जिल्लाको शैक्षिक मूल्यांङ्कनमा पहिलो हुनु गौरवको विषय भएको मन्त्री पौडेलको भनाई थियो ।

विगतमा निर्माण भएका विद्यालयको भौतिक संरचना कमजोर हुँदा भूकम्पले बढी क्षति पु¥याएको भन्दै उनले सरकारले अब बनाउने शैक्षिक संरचना भूकम्प प्रतिरोधी हुने बताए । उनले भूकम्प अति प्रभावित १४ जिल्लामा विद्यालय भवन निर्माणको लागि सरकारले यस बर्ष ४ अर्ब रुपैयाँ छुट्याइएको जानकारी दिए ।

भवन अभावले विद्यालयका ७ वटा कक्षा अहिले पनि अस्थायी टहरामा संचालन भैरहेका भन्दै प्रधानाध्यापक भण्डारीले त्यसप्रति ध्यानदिन शिक्षा मन्त्रीलाई आग्रह गरे ।

कार्यक्रममा केद्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख इमनारायण श्रेष्ठ, अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष गंगा बेल्बासे, विहेल्फ नेपालका सन्देश पौडेल, टुकी संघ सुनकोशीका अध्यक्ष कृष्ण थापा, चाइल्ड फण्ड जापानकी कोअर्डिनेटर आइलिन शान्तिआवो लगायतले बोलेका थिए ।

कार्यक्रममा विद्यालयका संस्थापक, विद्यालयलाई विभिन्न ढंगले सहयोग गर्ने संघसंस्थाका प्रतिनिधी र विभिन्न खेलकूद प्रतियोगितामा बिजयी हुने विद्यार्थीलाई मन्त्री पौडेलले नगद र प्रमाण पत्र सहित सम्मान गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीले देशभक्तिपूर्ण गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया