Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

एसईई केन्द्रबाटै अनुगमन भत्ता असुल!

मंगलबार, ०८ चैत्र २०७३

रौतहट– कक्षा १० को माध्यमिक शिक्षा परीक्षा(एसईई)को अनुगमनको क्रममा केन्द्रबाट रकम असुल गरिएको पाइएको छ । अनुगमनमा पुगेका जिल्ला शिक्षा कार्यालय रौतहटका विद्यालय निरीक्षक, स्रोतव्यक्ति तथा सहायक जिल्ला शिक्षा अधिकारीहरुले केन्द्रबाट रकम असुल्ने गरेको पाइएको हो ।
‘हामी अनुगमनमा आएका छौं, अनुगमन गरेपछि भत्ता त चाहियो नि, भनेर हामीबाट एकजनाले २ हजार लगे ।’ रौतहटको एक केन्द्रका केन्द्राध्यक्षले भने । उनले अनुगमन गरेबापत रकम दिनुपर्ने र नपर्ने विषयमा आफूलाई जानकारी नभएको बताउँदै विनि, स्रोतव्यक्तिलगतयले भनेपछि दिएको जनाए ।
यसरी अनुगमनको नाममा रकम असुलेको विषयमा जिल्ला शिक्षा अधिकारी रामविनय सिँहलाई थाहा नभएको होइन, उनले पनि परीक्षाको अनुगमन गर्दा एकदुई जनालाई अनुगमन भत्ता दिन केन्द्राध्यक्षहरुलाई आफूले भनेको स्वीकारे । ‘अनुगमन गर्दा हामीले केही नपाउने भनेर चित्त दुखाउँछन, उनीहरुलाई कम्तीमा भत्ता मिलाइदिनुस् न भनेर हामीले भनेका हौं ।’ जिशिअ सिंहले भने । सो जिल्लाबाट परीक्षामा सहभागी कूल ८ हजार ३ सय ५ जना परीक्षार्थीका लागि २६ केन्द्र निर्धारण गरिएको छ । स्रोतका अनुसार ती केन्द्रहरुबाट जिशिकाले २ हजारका दरले रकम उठाएको छ ।
सो सन्दर्भमा जिशिअ सिँहसँग जानकारी माग्दा उनले सुरुमा रु. २ हजारको दरले रकम उठाएको होइन, त्यस्तो कहाँ हुन्छ, किन उठाउने ? भन्ने प्रतिप्रश्न गरे पनि उनले परीक्षाको अनुगमन गर्न जिशिकाका कर्मचारीलाई भत्ता दिन भने अनुरोध गरेको जनाए । ‘हामीले उहाँ(केन्द्राध्यक्ष) हरुलाई के भन्यौं भने एउटा सहायक केन्द्राध्यक्ष हाम्रो व्यक्तिलाई राखिदिनुस्, हामी जिल्ला शिक्षा कार्यालयबाट सबैठाउँमा एकजना अनुगमनकर्ता राखिदिन्छौं, त्यसको भर्पाइ उनीहरुसँग गर्नु भनेका छौं ।’ उनले भने । उनले एसईई परीक्षामा अनुगमन गर्दा सरकारले दिने रकम कम हुँदा अनुगमन गर्न नरुचाउने भएकोले कन्द्रहरुले नै रकम व्यहोर्न भनेको बताए ।
जिशिअ सिंहले परीक्षालाई व्यवस्थित, मर्यादित बनाउनका लागि त्यसो गरिएको बताउँदै परीक्षा सकिएकै दिन भर्पाइ गराउनने गरिको र त्यसको पेश्की फछर्योट पनि गराउने बताए । ‘जिशिकाबाट त्यो खर्च व्यहोर्न सक्तैन, केन्द्रहरुले नै त्यो पैसा व्यवस्था गरेकोले अनुगमनमा अलिकति सहयोग भयो ।’ उनको भनाइ छ ।
परीक्षामा नियमिततर्फ ६ हजार ८४३ परीक्षार्थी छन् भने ६०८ एक्जाम्टेड परीक्षार्थी सहभागी भएको जिल्ला शिक्षा कार्यालय रौतहटले जनाएको छ । यसैगरी ग्रेड वृद्धिका लागि ८ सय ५४ जनाले परीक्षा दिँदै छन् । परीक्षार्थीमध्ये छात्रहरुको संख्या ४ हजार ३८२ छ भने ३ हजार ९२३ छात्रा सहभागी छन् ।

 

प्रतिक्रिया