Edukhabar
शुक्रबार, १८ असोज २०८१
खबर/फिचर

सामुदायिक विद्यालयमा अब 'इण्टर्न शिक्षक'

विद्यार्थीको सिकाइ स्तर र नतिजा कमजोर भए पछि सामुदायिक विद्यालयमा इण्टर्न शिक्षक खटाउने नीति, इण्टर्न शिक्षकको लागि आवेदन संकलन र छनोट गरेर अभिमुखीकरण पछि मात्रै विद्यालयमा पदस्थापन गर्ने मन्त्रालयको तयारी छ ।

मंगलबार, ११ भदौ २०८१

काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक अभाव पुरा गर्न यस वर्षदेखि इण्टर्न शिक्षकको अवधारणा अघि सारेको छ । स्थानीय तहले लिएको आधारभुत तहको आठ कक्षा, राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १० र १२ को परीक्षा, शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ)ले गरेको अध्ययनमा गणित, अंग्रेजी र विज्ञान विषयको नतिजा कमजोर पाए पछि मन्त्रालयले सामुदायिक विद्यालयमा इण्टर्न शिक्षक खटाउने नीति अघि सारेको हो । 

सरकारले अंग्रेजी, गणित र विज्ञान विषयमा इण्टर्न शिक्षक पठाउन यसपाली १० करोड रुपैंया बजेट बिनियोजन गरेको छ । यी तीन विषयमा विद्यार्थी संख्या बढी र शिक्षक दरबन्दी कम भएका सामुदायिक विद्यालयमा इण्र्टन शिक्षक परिचालन गर्ने मन्त्रालयले योजना बनाएको हो । जुन योजनालाई अर्थ मन्त्रालयले पनि स्वीकृत दिईसकेको छ । इण्टर्न शिक्षक छनोट, परिचालन र व्यवस्थापन गर्न मन्त्रालयले छुटटै कार्यविधि बनाउने भएको छ । कार्यविधिको आधारमा इण्टर्न शिक्षक आवश्यक पर्ने विद्यालय संख्या र कुन विद्यालयमा कति संख्यामा कुन विषयको इण्टर्न आवश्यक पर्ने हो पहिचान गर्न लागेको अर्थ मन्त्रालयबाट स्वीकृत भएको योजनामा उल्लेख छ । इण्टर्न शिक्षकको लागि आवेदन संकलन र छनोट गरेर अभिमुखीकरण पछि मात्रै विद्यालयमा पदस्थापन गर्ने मन्त्रालयको तयारी छ । 

सुमना श्रेष्ठ शिक्षा मन्त्री भएको समयमा मन्त्रालयले मातहतका कार्यालयमा इण्टर्न प्रयोग गर्ने कार्यविधि जारी गरिसकेको छ । अब विद्यालयमा इण्टर्न शिक्षक परिचालन गर्न अर्को कार्यविधि बनाउनु पर्ने हुन्छ । गैर सरकारी संस्थाहरुले सामुदायिक विद्यालयमा इण्टर्न शिक्षक परिचालन गरेको भए पनि सरकारी स्तरबाट पहिलो पटक यो अभ्यास गर्न लागेको हो । मावि र निमावि तहमा विषयगत शिक्षक नभएका विद्यालयको संख्या सबै भन्दा बढी छ । छ हजार पाँच सय एक मावि मध्ये ७१ वटामा मात्रै गणित, विज्ञान र अंग्रेजी तीनै विषयका शिक्षक अध्यापनरत रहेको सरकारले २०७५ सालमा गठन गरेको कार्यदलको निष्कर्श छ । डा. महाश्रम शर्मा संयोजक रहेको शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदल २०७५  ले सरकारलाई बुझाएको प्रतिवेदनमा मावि र निमाविमा समान तह र दरबन्दीमा कार्यरत विज्ञान, गणित र अंग्रेजी शिक्षकको संख्या न्यून रेको उल्लेख छ । 

देशभर सबैभन्दा बढी विज्ञान विषयका शिक्षकको अभाव छ । प्रतिवेदन अनुसार पाँच हजार दुई सय मावि र आठ हजार चार सय ४४ निमाविमा विज्ञान शिक्षक छैनन् । विज्ञान पछि गणित शिक्षक कम छन् । चार हजार आठ सय मावि र सात हजार सात सय निमाविमा गणित विषयको शिक्षक दरबन्दी छैन । यसैगरी दुई हजार तीन सय ५४ मावि र तीन हजार चार सय ३६ निमाविमा मात्र अंग्रेजी शिक्षक छन् । विषय शिक्षक नहुँदा नतिजा कमजोर भएको मन्त्रालयको ठहर छ । 

राष्ट्रिय परीक्षा बोर्डले असार १३ मा सार्वजनिक गरेको कक्षा १० को नतिजा एसईईमा सबैभन्दा बढी नन् ग्रेडेड हुने विद्यार्थी गणितमा थिए । चार लाख ६४ हजार सात सय ८५ विद्यार्थी मध्ये एक लाख ७७ हजार नौ सय ८५ जना विद्यार्थीको गणितमा एनजी आएको छ । विज्ञानमा एक लाख २६ हजार, अंग्रेजीमा एक लाख १३ हजार विद्यार्थीको एनजी आएको छ । 

त्यस्तै साउन १८ गते सार्वजनिक कक्षा १२ को नतिजामा अनिवार्य अंग्रेजीमा २८ प्रतिशत विद्यार्थीको नतिजा एनजी आएको छ । तीन लाख ९० हजार आठ सय ६८ विद्यार्थीमा एक लाख दुई हजार दुई सय छ विद्यार्थीको अंग्रेजीमा एनजी आएको छ । 

ईआरओको पछिल्लो रिपोर्टमा कक्षा १० को सिकाइ अवस्था अध्ययन गर्दा गणितमा ३० प्रतिशत, विज्ञानमा १७, अंग्रेजीमा ३१ प्रतिशत र नेपालीमा ४० प्रतिशत मात्रै सिकाइ उपलब्धी रहेको छ । कुनै पनि विषयमा विद्यार्थीको सिकाइ ५० प्रतिशत पनि छैन । त्यस्तै नासाको पछिल्लो रिपोर्टमा कक्षा आठ को नतिजा पनि विज्ञानमा ३२, गणितमा ३८ र अंग्रेजीमा ५१.५ प्रतिशत सिकाइ उपलब्धी रहेको छ ।

नासाले २०१७ र २०२० मा गरेको अध्ययन अनुसार कक्षा आठको सिकाइ उपलब्धी पछिल्लो समय झन् खस्किएको देखाएको छ । नासाको रिपोर्ट अनुसार २०१७ मा गणितको सिकाइ उपलब्धी ४६ रहेकोमा २०२० मा ३२ मा झरेको छ । विज्ञानमा ४४ बाट ३८ मा आइपुगेको छ । 

कक्षा आठ र माध्यमिक तहको मात्रै नभई कक्षा ५ को सिकाइ पनि कमजोर देखिएको छ । ईआरओले गरेको पछिल्लो अध्ययनमा कक्षा ५ मा ५५ प्रतिशत विद्यार्थीले अंग्रेजीमा न्यूनतम सिकाइ स्तर समेत हासिल गर्न सकेका छैनन् । अध्ययनको समग्र नतिजामा निजीमा पढेका विद्यार्थीको तुलनामा सामुदायिकमा पढेका विद्यार्थीको सिकाइ कमजोर देखिएको छ ।

प्रतिक्रिया