Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अभिभावक / विद्यार्थी

फलानो पढिरा’छ, तँ चाहीँ आलु खा

आइतबार, ११ भदौ २०७४

फलानो पढिरा’छ, तँ चाहीँ आलु खा । 
दाजु कस्तो मिहिनेत गर्छ, तँ चाहीँ पछि तेसैको हली हुनु ।
दिदीले यति नम्बर ल्याई, तेरो चै ...।

हामीले प्रायः हाम्रा वरिपरी सुन्ने गरेका वाक्यहरू हुन् । हामी अभिभावकहरूले हाम्रा नानीहरूलाई लक्षित गर्दै बारम्बार दोहोर्याउने आम वाक्यहरू हुन् यी । भाइ बहिनीलाई दिदी दाजुसँग, नभए छिमेकका अरु नानीहरूसँग, नभए कुनै आफन्तका छोराछोरीसँग । कुनै न कुनै बहानामा हामी हाम्रा नानीहरूको तुलना गरिरहेका हुन्छौँ । तुलना प्रायः शैक्षिक उपलब्धि, सामाजिक व्यवहारदेखि ससाना कुराहरूसम्मका गछौँ । फलानो जसरी हिँड न, फलानो जसरी बोल न, फलानो जसरी बस् न आदि आदि । हाम्रो सोच, तुलनाले प्रतिस्पर्धी बनाउँछ ।

प्रकृतिः कृयामाणनी, गुणैः कर्मणी सर्वशः (भागवत गीता, कर्मयोग) । हामीले विर्सियौँ । हरेकका लागि प्रकृतिले आआफ्नै कर्म निर्धारण गरिदिएको हुन्छ । संसारका हरेक जीवको आआफ्नै प्रकृति हुन्छ । त्यो, जसको हामी तुलना गर्दैछौँ, पनि स्वतन्त्र अस्तित्व र आफ्नै पूर्ण प्रकृति लिएर जन्मिएको छ । उसको आफ्नो सोच छ, प्रतिभा छ । हामी यी सबै बिर्सन्छाँै अनि वरिपरिका विविध उदाहरणले तुलना गर्न थाल्छौँ । तुलना विकासको बाधक हो । तुलनाले नानीहरूमा आफूप्रति नै घृणा उत्पन्न गराउँछ ।

केटाकेटीलाई केटाकेटी नै रहन दिउँ । आज हरेक बुबाआमा आफ्ना नानीहरूमा विशेष प्रतिभा होस् जसले उनीहरूलाई अरु भन्दा अलग्गै पहिचान देओस् भन्ने सोचबाट ग्रसित भएको पाइन्छ । यहि सोचका कारण कति नानीहरूले अनावश्यक तथा अनिच्छित दवाबको भारी बोक्नु परेको छ । नानीहरूको बालापनलाई स्वाभाविक रहन दिनु उनीहरूको बृद्धि र विकासमा सहयोग गर्नु हो ।
हरेक नानीहरू प्रकृतिका विशेष उपहार हुन् । हरेक उपहारभित्र प्रकृतिले विशेष क्षमता भरेर पठाएको छ । त्यस्ता क्षमता पहिचान गर्न नानीहरूको अध्ययन गरौँ । सबै नानीहरू सबै क्षेत्रमा एकसमान नहुन सक्छन् । उनीहरूको सम्भावनाको क्षेत्र पहिचान गर्न उनीहरूको लागि समयको व्यवस्थापन गरौँ । नानीहरूका हरेक व्यवहारको सम्मान तथा उनीहरू हुनुको महत्वको विषयमा उनीहरूकै विच छलफल गरौँ ।

हरेक नानीहरू प्रकृतिका विशेष उपहार हुन् । हरेक उपहारभित्र प्रकृतिले विशेष क्षमता भरेर पठाएको छ । त्यस्ता क्षमता पहिचान गर्न नानीहरूको अध्ययन गरौँ । सबै नानीहरू सबै क्षेत्रमा एकसमान नहुन सक्छन् । उनीहरूको सम्भावनाको क्षेत्र पहिचान गर्न उनीहरूको लागि समयको व्यवस्थापन गरौँ । नानीहरूका हरेक व्यवहारको सम्मान तथा उनीहरू हुनुको महत्वको विषयमा उनीहरूकै विच छलफल गरौँ ।

निरन्तरको तुलनाले उनीहरूको आत्मसम्मानमा चोट पुराउँछ । आफू, आफ्नो वरपर हरेक वस्तुप्रति नकारात्मक तथा प्रतिशोधको भावना जगाउँछ । एक पटक सोचौँ त, हामी कतै कसैबाट पटक पटक तुलना गरिएमा हाम्रो मनमा कस्तो भावना जागृत हुन्छ ? तुलनाको सिकार भएका नानीहरूले हरेक वस्तु तथा अवस्थाप्रति नकारात्मक धारणा बनाउन थाल्दछन् । साना कुरामा रिसाउने, अरुलाई होच्याउने, अरुका गल्तीहरू मात्र खोज्न थाल्ने स्वभावको विकास हुनुको मुख्य कारण नै तुलना हो ।

बालापनका हरेक व्यवहारहरूको असर दीर्घकालिन हुन्छ । यो उमेरमा तुलनाको सिकार बनेका नानीहरूलाई जीवनभरि यसले लखेटिरहन्छ । आफैँप्रति सधैँ असन्तुष्ट रहने अनि हरेक वस्तु तथा व्यक्तिमा कमजोरीमात्र खोज्ने स्वभावको विकास हुन्छ । तुलनाकै कारण उनीहरूमा असहभागिताको व्यवहार देखिन्छ भने आफूमा भएको विशेष क्षमतालाई पनि उजागार गर्न डराउँछन् ।
तुलनाले नानीहरूमा देखिने प्रभावलाई यसरी हेर्न सकिन्छ ।

क) आफैँप्रति अविश्वास गर्ने जसले गर्दा अरु कसैको पनि विश्वास नगर्ने ।
ख) समुह तथा सहभागितादेखि भाग्ने, मुख लुकाउने । जानेको कुरा पनि भन्न हिच्किचाउने ।
ग) गलत कारण तथा उपायको सहारा लिने तथा झुटो बोल्न प्रेरित हुने ।
घ) आत्मजलन तथा आत्मग्लानिको कारण साथी समुहमा मिल्न नसक्ने ।
ङ) आत्मसम्मान तथा आत्मविश्वासको कमिका कारण खुल्न नसक्ने ।
च) हारिएला अथवा अरुले जित्लान् भन्ने डरले कुनै पनि क्रियाकलापमा भाग नलिने ।
छ) झुटो कारण वा वहाना बनाउन थाल्ने ।
ज) आफ्नो प्रतिभा तथा क्षमतालाई पनि लुकाएर राख्ने ।

त्यसैले, हाम्रा नानीहरू प्रकृतिका श्रेष्ठतम् उपहार हुन् । हरेक नानीहरूमा अलग अलग प्रतिभा र क्षमता हुन्छ भन्ने कुरालई स्मरण गर्दै अफ्ना नानीहरूलाई अरु कोहीसँग पनि तुलना नगरौँ । उनीहरूको बालापनलाई स्वभाविक र प्राकृतिक रूपमा रहन दिऊँ । कुनै पनि दुई व्यक्ति कुनै पनि हालतमा कुनै विशेष कार्यका लागि समान क्षमताका नहुन सक्छन् । चराको उड्ने क्षमता छ भने माछाको पौडने, त्यस्तै कमल पानीमा फुल्छ भने सयपत्री जमिनमा । प्राणी प्राणी नै हुन्, फूल फूल नै । सयपत्रीले पोखरीमा पनि फुल्नु पर्छ अथवा माछा पनि चरा जस्तै उड्नु पर्छ भनेर तुलना गर्न खोज्नु भनेको हाम्रो मुर्खता सिवाय केही होइन । हाम्रा सन्तानमा रहेका अद्वितीय प्रतिभालाई प्राकृतिक रूपले उजागार हुने वातावरण निर्माण गरौँ । यो नै उनीहरूको लागि श्रेष्ठ उपहार हुनेछ ।

 

प्रतिक्रिया