Edukhabar
मंगलबार, ०१ जेठ २०८१
विचार / विमर्श

शिक्षालयका जनशक्ति बकम्फुसे बहसमा

आइतबार, १६ पुस २०७४

हाम्रो समाजमा राष्ट्रिय राजनीतिमा नेता के बोल्छ, त्यस आधारमा वादविवाद चल्छ । निर्वाचन अघि को जित्छ र को हार्छ को विश्लेषण हुन्थ्यो भने निर्वाचनपछि बहसको स्वरुप सत्ता केन्द्रित भएको छ ।
बहसको केन्दको विषय शैक्षिक संस्था, शिक्षा, विद्यार्थी र शिक्षक हुनुपर्नेमा बहस र चर्चाको विषय भएको छ दल र तिनका नेताहरु । लाग्छ, हाम्रो कर्म नै त्यही हो । सत्ता हस्तान्तरणको विषयमा रुमल्लिएको राजनीतिक दृष्यका विचमा शिक्षाका मुद्धा ओझेल परेको छ ।

देशको संरचना परिवर्तन भएसँगै शिक्षाका सवालमा के कसरी कार्यान्वयन गर्ने भन्दा पनि शिक्षाका मुख्य मियो रहेका शिक्षकहरु नेतालाई देवता र राक्षस बनाउनमै तल्लिन छन् । गुणदोषको सापेक्षता हेर्ने दृष्टिकोण नबन्दा सम्म देवकत्वकरण र राक्षसीकरण चलिरहने देखिन्छ ।

शिक्षाका सवालमा संविधानले गरेको ब्यवस्था कार्यान्वयन कसरी गर्ने र चुनौती र अवसलाई कसरी ब्यवस्थापन गर्ने भन्ने कुरा गौण बनेको छ ।    कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने नेपाली उखान जस्तो भएका छन्, हाम्रा सार्वजनिक शिक्षालयहरु । शिक्षालयहरुले राजनीति, शिक्षा, प्रशासन, व्यापार आदि आदि क्षेत्रमा चाहिने नेतृत्व र जनशक्ति दुवै जन्माउनु पर्ने हो तर त्यसको उल्टो भएको छ । निजी शिक्षालयहरुको उद्देश्य अर्कै छ । जे भनिए पनि सारमा मुनाफाकै खोजी त्यस्ता संस्थाहरुमा हुन्छ । त्यस्ता संस्थाहरु व्यक्तिको नियन्त्रणमा हुन्छन्, काम नगरी माम खान पाइदैन ।

सार्वजनिकमा दायित्व र कर्तव्यको कुरा हो । तर दायित्व निर्वाह हुने कुरै भएन । त्यसकारण बकम्फुस्से बहस चिन्तनहरुका लागि यस्ता संस्थाहरु सजिला चौतारी भएका छन् । दलका गफ दिए पछि शैक्षिक परिणाम दिनै परेन । कक्षामा पिरियड लिन जानै परेन । दलले आड आधार दिइहाल्छन् । त्यसैका लागि संघ संघठनहरु छन् । यतिबेला तेरो मेरोको संकीर्णताको चुरोको मारमा सार्वजनिक संस्थाहरु पारिएका छन् भने यही आधारमा निजीलाई मौलाउन दिइएको छ । दलीय राजनीति जोगाउन यस्ता संस्थाहरुलाई धराशायी बनाइ निजीलाई फलाए फुलाएको कुरा कतै छिपेको छैन ।

दलीय राजनीतिले शिक्षकको पनि हित गरेन, शिक्षकबाट जाने एकाध नेता सांसदले पनि राजनीतिमा राम्रो पनि गर्न सकेनन् । जनता पनि चेतनशील हुँदै गएका छन्, उर्जाशील जीवन शिक्षामा दिने र अवकाशको जीवन राजनीतिमा दिनेबाट हाम्रो भविष्य उज्जवल हुँदैमा भन्नेमा । त्यसकारण आफ्नै पेशामा मात्रै प्रतिबद्ध व्यक्तिको खोजी गर्नुपर्ने भएको छ, शिक्षा होस् या राजनीति, प्रशासन होस् या व्यापार सबैतिर । त्यस्तो व्यक्तिले मात्रै तत्तत् क्षेत्रमा संस्थागत र व्यक्तिगत सफलता प्राप्त गरेको देखिन्छ । आज अलि अलि राजनीतिक लोभले शिक्षकहरु बधाई र स्वागतमा लाम लागेका छन् । यसले शिक्षकको गरिमा माथि गहिरो आघात पु¥याएको छ ।

राजनीतिबाट कोही प्रभावित नहुन सक्दैन । त्यसमा चासो राख्नु एउटा कुरा हो, निम्छरो जित हारको बहसमा उत्रिनु नसुहाउने कुरा हो । चासो राख्नुभन्दा पहिला आफ्नो संस्था उदाहरणीय बनाउन पनि सक्नुप¥यो । आफ्नो घर तहस नहस पारेर अर्काको कुरा गर्न कति सुहाउला ? बौद्धिक जमातले स्वस्थ आलोचना गर्न पनि सक्नुपर्ने हो तर त्यसो हुन सकेको छैन । शिक्षालयहरुमा कार्यरत जनशक्ति यसरी बकम्फुसे बहसमा लाग्नु, प्रचारमा लाग्नुले, स्वागत बधाईमा लाम लाग्नुले अस्थिरताका लागि ठाउँ छ भन्ने बुझाउँछ । पूर्वबाट एक जनप्रतिनिधिको स्वर सुनियो, नपढाउने शिक्षक र जनताको काम नगर्ने कर्मचारी चाहिदैन भन्ने खालको । यो भनाइ अबको पाँच वर्षमा परीक्षित होला, वास्तविकता हो कि प्रचारका लागि हो भन्ने ।

तसर्थ अब आउने शिक्षामन्त्रीले हरेक सार्वजनिक शिक्षालयहरुको मूल्याङ्कन परिणाम गर्ने नीति ल्याउनुप¥यो । त्यसो भएमा यस्ता बकम्फुस्से गफहरु हराएर शिक्षालयहरु अध्ययन अनुसन्धान केन्द्र बन्न जान्थे कि ?

प्रतिक्रिया