Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
विचार / विमर्श

कार्यकर्ता भर्ना गरिञ्जेल नयाँ चिन्तनको केन्द्र हुँदैनन् शिक्षालय

सोमबार, १६ असार २०७६

ऋषिमुनी, महापुरुष, विद्वान र दार्शनिकहरुका भनाईमा शिक्षाको कार्य व्यक्तिको सर्वाङ्गीण विकास, समाजको चौतर्फी विकास र सभ्यताको बहुमुखी प्रगति गराउनु हो । शिक्षाले व्यक्तिलाई सक्षम, समाजलाई विकास निर्माणको बाटोमा अग्रसर र राज्यलाई दिशा निर्देश गर्दछ । 

नेपालमा शिक्षाको शुरुवात आरम्भ संस्कार, उपनयन संस्कार र समावर्तन संस्कारका रुपमा अगााडि बढेको पाइन्छ । वैदिक रुपमा गरिएका यस्ता वर्गिकरण राजनिति र समाज विकासको गति संगै परिवर्तन हुँदे आएका छन् । 

आधुनिक शिक्षाको शुरुआत २००७ सालको प्रजातन्त्रको प्राप्ति पछाडिको समयलाई मानिन्छ । विभिन्न समयमा बनेका शिक्षा आयोगहरु र यिनीहरुले सिफारिस गरेका प्रतिवेदनहरुको आधारमा शिक्षालाई सुधार उन्मुख बनाउन योजनागत, प्रणालीगत वा पद्घतिगत रुपमा धेरै प्रयत्नहरु भए तर शिक्षामा समय सापेक्ष पाठ्यक्रम, पाठ्यपुस्तकमा परिवर्तन तथा रचनात्मक शिक्षण पद्घतिको विकास नभएकोले देशका शैक्षिक संस्थाहरुमा गुणस्तरीय शिक्षण सिकाइ हुन नसकेको प्राज्ञिक बझाई छ । 

शिक्षकहरु विद्यार्थीका जीवन निर्माणका स्रोत हुन् । ज्ञान आर्जन र मार्ग प्रदर्शकका माध्यम हुन् । जसरी एउटा कुमालेले काँचो माटोको घंैटोलाई आकार र सुन्दरताको आर्कीटेक्ट् गर्छ त्यसरी नै असल र दक्ष शिक्षकहरुले विद्यार्थीको वौद्घिक विकास र आचरणगत व्यबहारहरु बदल्न सक्छन् । तर हाम्रो देशमा राज्यले समय सापेक्ष पाठ्यक्रम र पाठ्य पुस्तकहरुको संशोधन, परिमार्जन र परिवर्तन गर्न नसक्नु अनि शिक्षण पद्घति परम्परागत विधिमा आधारित हुनु नै गुणस्तरीय शिक्षाको अवरोध हो ।  शिक्षामा राज्यले पर्याप्त लगानी गर्न सकेको छैन । शिक्षाको गुणस्तर बढाउन लगानी वृद्घी गर्नुपर्दछ भन्ने बहस चलेको लामै भयो । 

विकसित देशहरुमा शिक्षाले राजनितिक प्रणाली र समाजलाई दिशा निर्देश गरेको पाइन्छ । तर हाम्रो देशमा राजनितिक निर्णयको आधारमा शिक्षालाई तहस नहस पार्ने काम गरिएको छ । राज्यले  प्रध्यापन पेशाकर्मीहरुलाई आफ्नो पेशा प्रति जिम्मेवार बनाउने कार्य योजना र कार्य नीति बनाएर लागु गर्न सकेको छैन । शिक्षालयहरुमा राजनितिकरण गरिएको छ । भागबण्डाको आधारमा शिक्षकहरुलाई विद्यालय तह देखि विश्व विद्यालयसम्म भर्ना गर्ने काम रोकिएको छैन ।  शिक्षण जस्तो प्राज्ञिक ठाउँमा पनि आरक्षणका कोटाहरु हुनु कति उपयुक्त हो ? बस्तुनिष्ट भएर गरिने स्वच्छ बहसको खाँचो छ । 

शिक्षा क्षेत्र राजनितिक हस्तक्षेपबाट आक्रान्त छ । राजनितिक आस्थामा खोलिएका संघ संगठनहरुमा शिक्षकहरुलाई सदस्य बनाउने र पार्टी प्रवेश गराउने कामले शिक्षा जस्तो संवेदनशील र अनुशासनको स्रोतको शाख घटेको छ । विगतमा योग्य र सक्षम व्यक्ति भन्दा पनि दलका आ–आफ्ना कार्यकर्ताहरुलाइ जागिर खुवाउने भर्ना स्थलको रुपमा शिक्षालयलयहरु प्रयोग गरिएकोले पठन पाठन गुणस्तरीय हुन नसकेको हो । राजनितिक हस्तक्षेपले शिक्षा क्षेत्रलाई तहस नहस पारिएको छ । 

शिक्षा ऐनले शिक्षकहरु कुनै पनि राजनितिक दल र आस्थाका आधारमा खोलिएका वर्गीय संघसंगठनहरुको सदस्य हुन नपाउने व्यबस्था गरेको छ । यो स्वागत योग्य कुरा हो । तर यतिले मात्र शिक्षामा सुधारको अपेक्षाा गर्न सकिंदैन । राज्यले गुणस्तरीय शिक्षाको उठानका लागि शिक्षकहरुलाई आफ्नो पेशा प्रति वफादार र जवाफदेही बनाउनु पर्दछ । राज्यले विद्यालयमा खालि भएका दरबन्दीहरुमा शिक्षा आयोगको योग्यता परीक्षा मार्फत योग्य व्यक्तिलाई छनोट गर्ने कामको शुरुवात भएको छ । राज्यको कार्ययोजना अन्तरगत कार्यरत अस्थायी शिक्षकरुलाई गोल्डेन हेण्ड्सेक्को माध्यमद्वारा व्यबस्थापन गरी दक्ष शिक्षकहरुलाई नियुक्ति गर्न गुणस्तरीय शिक्षाको एउटा पाटो हो । राज्यले शिक्षक तालिममा करोडौ रुपैयाँ खर्च गरेको छ । शास्त्रीय शैलीको शिक्षण विधिलाई रुपान्तरण गर्न शिक्षकहरुलाई तालिम र प्रशिक्षण दिने मात्र होइन की उनीहरुले सिकेका सीपहरुलाई कक्षा कोठाहरुमा प्रयोग गरे नगरेको रेख देख, निरिक्षण र मुल्याङ्कन गर्ने प्रणालीलाई राज्यले आफ्ना संयन्त्र मार्फत प्रभावकारी रुपमा लागु गराउनु पर्दछ । शिक्षार्थी केन्द्रित, रचनात्मक, सिर्जनशील र प्रयोगात्मक शिक्षण विधि शिक्षाको गुणस्तर उकास्ने एउटा मापदण्ड हो । 

नागरिकलाई कस्तो शिक्षा दिएर कस्तो जनशक्ति उत्पादन गर्ने भन्ने कुरो राज्यको कार्य क्षेत्र हो । शिक्षाले व्यक्तिको अन्तरनिहित प्रतिभा र व्यक्तित्वको विकास गर्दछ । शिक्षाले व्यक्तिलाई आत्मनिर्भर स्वाबलम्बी, परिश्रमी, सिर्जनसील र सहिष्णु बनाउँछ । कुनै पनि व्यक्ति शिक्षित हुनु भनेको उसले समसामयिक समाजमा सामञ्जस्य पुर्ण जीवनयापन गर्न सक्नु हो । शिक्षाले समाजलाई सुसंगठित, सभ्य, परिस्कृत, सहिष्णु, मर्यादित, शिष्टाचारी, आत्मसंयमी, परोपकारी, कल्याणकारी र उदार आचरणहरुको निर्माण गर्न सहयोग गर्दछ । शिक्षाका यी कार्यहरुलार्ई शिक्षार्थीहरुमा विजारोपण गर्नको लागि पाठ्यपुस्तकीय विषयवस्तुको मात्र रटान गराउने, कण्ठस्थ गर्न लगाउने शिक्षण प्रणालीमा अभ्यस्त पेशाकर्मी गुरुहरुले शिक्षण विधिलाई आधुनिक शैलीमा रुपान्तरण गर्न आवश्यक छ ।  समाजका मुल्य र मान्यताहरुलाई रचनात्मक तरिकाले विद्यार्थीहरुमा आत्मानुभुति गराउँदै व्यबहारमा उतार्न सक्ने क्षमताको वृद्घी गराउनु पर्दछ ।

शिक्षा समय सापेक्ष हुनु पर्दछ भन्नेमा कसैको विरोध छैन परन्तु समय सापेक्ष भनेको के हो ? उत्तर मौन छ । समयको गति संगै समाजका मुल्य, मान्यता र आवश्यकताहरु परिवर्तन हुन्छन् । यी परिवर्तनका आयामहरुलाई शिक्षाले  अङ्गीकार गर्न सक्नु पर्दछ । एकातिर हाम्रा देशका शिक्षालयहरुमा अध्यापन गराइने पाठ्यपस्तकीय विषयबस्तु समसामयिक नभएको गुनासो छ भने अर्को तिर परम्परागत शिक्षण विधिबाट विद्यार्थीलाइ ज्ञान थुपार्ने काम भइरहेको छ । शिक्षण संस्थाहरु शैक्षिक बेरोजगार जनशक्ति उत्पादन गर्ने वौद्धिक प्रयोगशालाका रुपमा चित्रित भएका छन् । शिक्षण सिकाइ न्यारेसन सिक्नेस्बाट ग्रस्त भएकोले शिक्षित जनशक्तिमा मौलिक सिर्जना, आत्मविश्वास र स्वावलम्बी पनमा ह्रास आएको जन गुनासो छ । घोकन्ते विद्याले विद्यार्थीको निजी मौलिक सिकाइलाई प्रसय दिंदैन । शिक्षणलाई पाठ्यपुस्तकीय ज्ञानको पर्यायवाचीका रुपमा मात्र बुझ्ने संस्कृतिले शिक्षार्थीको ज्ञानको दायरा रचनात्मक हुन नसकेको हो । पाठ्यपुस्तकहरुमा लेखिएका विषयबस्तुहरुलाई कण्ठस्थ गराउने र लेखाउने अभ्यासको माध्यमले कक्षागत श्रेणी बढाउने कार्यले शिक्षार्थीको प्रतिभा फस्टाउँदैन । मौलिक सिर्जना मर्छ । आफ्नो पन हराउँछ । शिक्षार्थीहरुमा मौलिक चिन्तन, सिर्जनात्मक शक्ति, अन्वेषण–अनुसन्धान गर्न सक्ने क्षमता, प्रतिभा र आत्म विश्वास साँघुरिन्छ । 

नेपालको संविधान २०७२ ले शिक्षालाई नागरिकहरुको मौलिकहक भित्र राखेको छ । यसको अर्थ शिक्षा पाउनु प्रत्येक नेपाली नागरिकको मौलिक अधिकार हो । तर अहिले पनि लाखौंको संख्यामा विद्यालय जाने उमेर समुहका ( छ बर्ष देखि दस बर्ष) बालबालिकाहरु विद्यालय शिक्षाबाट बञ्चित छन् । राज्यले शिक्षालाई सबै नागरिकहरुको पहुँचमा सर्वसुलभ बनाउन सकेको छैन । शिक्षित युवाहरुमा विदेश पलायनको चिन्तन व्याप्त छ । देशलाई विकास गर्न सक्ने युवा जोस र शिक्षित मानवस्रोत पलायन हुने संस्कृति दिन प्रतिदिन बढ्दो छ । राज्यले अख्तियार गरेको शिक्षा प्रणाली र यसले उत्पादित शिक्षित वर्गले प्राप्त गरेको ज्ञान र सीपले स्वरोजगार, स्वावलम्बन र आत्मनिर्भर बनाउन नसकेकोले शिक्षित युवाहरु विदेशीएका हुन् । शिक्षाले कृषि, पशुपालन, फलफुल खेति, पुष्पखेति, माहुरी पालन, जमिन, जंगल र जलको सदुपयोग, वैज्ञानिक अनुसन्धान र आविष्कार गर्ने क्षेत्र, उद्योगीकरण लगायतका ज्ञान र सीपहरु प्रदान गर्न सकेन । 

देशका विद्यालय र विश्वविद्यालयहरुबाट उत्पादित शिक्षित जनशक्तिमा आत्मविश्वास, परिश्रम मैत्री सोचाई, स्वरोजगारमुलक सिर्जनात्मक सीपको अभाव खड्किनाले व्रेनडे«न भएको हो । देश विकासमा रचनात्मक भुमिका खेल्नु पर्ने शिक्षित वर्गमा नैतिक विचलन र विदेश पलायनको आकर्षण बढ्नु समृद्घ नेपालको सुन्दर भविष्यमा ग्रहण लाग्नु हो ।

शिक्षा व्यक्तिलाई सवल, सक्षम र उर्जासील बनाउने र समाजको आवश्यकता, रुची, आदर्श, मुल्य मान्यता र प्रचलनहरुलाई परिपुर्ति गर्ने माध्यम हो । अहिले हाम्रो समाज पाश्चात्य संस्कृति उन्मुख, चारवाक दर्शनको उपभोगवादबाट प्रभावित छ । सामाजिक मुल्य र मान्यताहरुमा ह्रास आएको छ । शिक्षाले सामाजिक आदर्श र प्रचलनहरुलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न असफल भएको नागरिक बुझाई छ । परम्परागत सबै कुराहरु असल नहुन सक्छन् र नयाँ सबै मुल्य र मान्यताहरु पनि खराब नहुन सक्छन् । शिक्षाले वैज्ञानिक र तर्क शास्त्रको आधारमा नयाँ पुस्तालाई असल ज्ञान र व्यबहारको हस्तान्तरण गर्न जरुरी हुन्छ । हाम्रा शिक्षालयहरुमा अध्ययन गर्ने विद्यार्थी आफ्नो मौलिक सिर्जना, रचनात्मक कार्य र अवधारणागत स्पष्टताबाट बञ्चित छन् । शिक्षकहरुबाट विद्यार्थीलाई वैंकीङ्ग विधिको शिक्षण प्रणाली मार्फत ज्ञान थुपार्ने काम गरिएको छ । यस विधिले सिर्जना फस्टाउँदैन । मौलिक ज्ञानको विकास हुुँदैन । नयाँ चिन्तन र आविष्कारका बाटाहरु थुनिन्छन् । आफ्नोपन हराउँछ । एक्काइसौं सताब्दी ज्ञान, विज्ञान र प्रविधिको युग हो । शिक्षण कलामा पनि नयाँ तरिका, प्रयोग र सीपहरुको आविष्कार र प्रयोग भइसकेको छ । यस्तो सुविधा र प्रविधिको युगमा पनि हाम्रा शिक्षालयहरु किताबी ज्ञानको परम्परागत शैलीबाट माथि उठ्न सकेका छैनन् ।

शिक्षालाई मौलिक ज्ञान र सिर्जनामा आधारित बनाउन पढाइने बिषयबस्तु र पढाउने विधिमा रुपान्तरण गर्न अब ढिला गर्नु हुँदैन ।  

प्रतिक्रिया