Edukhabar
बुधबार, १२ बैशाख २०८१
विचार / विमर्श

शिक्षा मन्त्री नजरवन्दमा, शिक्षा संयन्त्र अलमलमा !

आइतबार, २२ असार २०७६

एकजना साथी थिए । समकालीन नेपाली साहित्यका मध्यम स्तरीय विद्वान । नेपाल न हो । अली अचाक्ली मस्तै विद्वान त नेपालमा को ठहर्छ र !

एक कार्यक्रममा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराइले भनेको याद आउँछ अमेरिकाको कुनै एक राज्यमा मात्र नेपालका २७ सय जति इञ्जिनियरहरु छन् ।

भने पछि यो देशमा को टिक्छ र ! सबै उतै हुर्रिएका छन् । उतै कुदेका छन् । कुद्न बाँकी पनि कुद्ने तरखरमै छन् । ठूलठूलो महत्वाकांक्षा बोकेकाहरु बसुन् पनि किन यता । पुँजीवादी दुनिँया । सबै कुराको मापन रुपैँया र पैसामा ! अनि यता ४।५ बर्षमा हुने कमाइ कजाइ ताल परे उतातिर एक महिनामै ! अनि कुद्ने नै भए उतै । यो देशमा बाँकी रहेल पहेलबाट छान छुन पार्दा त अलीअली टाईंफाईं गर्ने वित्तिकै विज्ञ त भइ नै हाल्यो । माथि उल्लेख गरेका साथी तिनै मध्येका एक हुन् । समकालीन साहित्यका मध्यम स्तरीय विद्वान ।

’जाम आज त नाचघर नाटक हेर्न जमल तिर ।’

साथीको प्रस्ताव अस्वीकार गर्ने कुरै भएन । फ्रान्सेली नाट्य महोत्सव त्यस्तै के रहेछ अवसर । साँझको बेला थियो । ट्याईंटुइ ट्याईंटुइ के के हो के के ! केही बुझिएन सबै उतैको भाषामा । मलाई कतिखेर निस्किउँ कतिखेर जाउँ लागिरहेको थियो । लगभग साढे सात बज्यो । साथी आसन ग्रहणबाट टसमस उठ्दैन ।

’जाम अब आठ बजेको लाष्ट गाडी पनि छुट्छ ।’ झक्झक्याए पछि बल्ल साथी तङ्गरीयो । ’कस्तो राम्रो नाटक रैछ । अहो म त दङ्गै परेँ । कथावस्तु¸ अभिनय, नाट्य कृति, शीर्षक, उद्देश्य, पात्र, संवाद, भाषा शैली, द्वन्द्व, परिवेश, सामग्री, भेषभुषा, संगीत, रङ्गमञ्च, प्रकाश आदि सबका सब उत्कृष्ट’ रैछन भन्दै साथी त नाटकको के के न हो के के तारिफमै उत्रिन थाल्यो ।

वरीपरी दर्शकको घुईंचो । साथी जोशिएको छ । धौ धौ बाहिर निकालीयो ।

’क्या हो यस्तो । अचम्मै गर्नु भो त आज त । अंग्रेजी फुट्टु नआउने मान्छे आज त अंग्रेजी नाटकको सार नै खिच्नु भो त ।’ ’मैले त केही पनि बुझिन । अम्रिकान गोरीका सेता पिडौला मात्रै !’

साथीले जमलको पुलपारी दरवार स्कुल नजिक पुगेर भन्छ । ’काँ बुझ्नु मैले पनि । क्या हो क्या हो । त्याँ त अरुका सामु बुझेको अभिनय गरेको पो त !’

मान्नुपर्छ साथीको नाटकलाई पनि । नाटक हेर्न गएको मान्छे आफै नाटक गर्यो ।  

हरेक साल कक्षा १० को (एसइइ) नतिजाको बेला तरङ्गित हुने शिक्षा समुदाय यस पटक पनि तरङ्गित भयो । यस पटक पनि शैक्षिक गुणस्तर खस्किएका चर्चा भए । शैक्षिक गुणस्तरको कुरा गर्दा शिक्षा आँफैमा गुणस्तरीय हो । यसलाई अगुणस्तरीय वा गुणस्तरहीन भन्नै मिल्दैन भन्नेहरु पनि छन् ।

’चिया खाम’ भनेपछि स्वतः तातो चिया नै हो । ’तातो चिया खाउं’ भनिदैन । त्यसैले शिक्षा भन्ने वित्तिकै आफैमा गुणस्तरीय हन्छ । शिक्षा गुणस्तरीय छैन भने त्यो शिक्षा नै होइन भन्नेहरु पनि छन् ।

अनि खस्केको कुरा गर्दा कहिले माथि थियो र अहिले खस्क्यो भन्नेहरु पनि छन् । यस सम्बन्धमा फेरि उनै बाबुरामले केही दिन अघि भनेको कुरा याद आउंछ ।

’शाह र राणाकालीन भन्दा पहिलेको नेपाल विश्वका २५ विकसित देशमध्ये १७।१८ नम्वरमा पर्दथ्यो ।’

शिक्षा पनि पहिले उहिले औपचारिक नभए पनि व्यावसायिक¸ जीवनपयोगी¸ अनौपचारिक थियो होला । त्यही भएर होला उहिले राम्रो थ्यो । अहिले खस्क्यो भन्ने कुरा ।  

हरेक बर्ष १९९० सालदेखि नै सबैले बुझिने गरी यति उति प्रतिशत कुन कुन डिभिजनमा को पास को फेल भन्दै एसएलसीको नतिजा विश्लेषण हुन्थ्यो । एसएलसी नतिजालाई समग्र शिक्षा प्रणालीको मानक झैँ प्रचार गरिन्थ्यो । प्रतिशत र अङ्ककै आधारमा पुरस्कार¸ सम्मान र सजायहरु हुन्थे ।

आज भोलिको बहस अली नबुझिने खालको छ । माथी वर्णित अंग्रेजी नाटक जस्तो । नेपालमा बाँकी रहेका मध्ये कोही धेरै बुझेका पनि होलान् । त्यो अली अपवाद र अलग्गै पाटो होला । तर समष्टिगत रुपमा बुझ्दा अहिलेको बहस अलिक आधुनिक र म्याथमेटिक पोइन्ट अफ भ्युबाट हुने भएकोले सर्वसाधारण अभिभावकको चासो¸ बुझाइ र बहसमा सक्रिय सरिकपन देखिदैँन ।

कोहीले माथिकै जस्तो बुझेको अभिनय गरेको भए बेग्लै कुरा नत्र यो जिपिएले झन् रनभुन्ल पारेको छ । यसले नतिजालाई निश्चित पोइन्टमा नभइ प्राप्ताङ्कको वर्गान्तर बनाइ त्यसलाई पनि ग्रेडमा रुपान्तर गरी अनि त्यसलाई फेरि ग्रेड पोइन्ट एभरेजमा अदलबदल पार्ने भएकोले विद्यार्थी र अभिभावकबीचको बुझाइलाई समेत थप गोलमटोल र गञ्जागोल पारेको छ । आफ्ना छोराछोरीले के के परिणाम हात पारे भन्ने सवाल सर्वसाधारण अभिभावकको लागि दुरुह भएको छ ।

तै पनी प्राप्ताङ्को बर्गान्तर¸ ग्रेड¸ ब्याख्या¸ स्तरीकृत अङ्क¸ ब्याख्याको विस्तृतीकरणलाई एक छिन थाँती राख्दै माथिको नाट्य दृष्टान्तझैँ बुझेको अभिनय साथ विद्यालयहरुको नतिजालाई विश्लेषण गर्दा हामीले अपेक्षित नतिजा हासिल गर्न नसक्नुका कारणहरु पुर्ववत् रुपमा पहिचान भएकै छन् । जसको निराकरण हामीले अझै गर्न सकिरहेका छैनौ । बरु झन् बढिरहेका छन् ।

जस्तो शिक्षकले जोश¸ जाँगर सहित उपयुक्त विधि प्रयोग गरेर राम्रोसंग सहजीकरण गरिरहेका छैनन् । अहिले पनि कैयन विद्यालयमा पाठ्यक्रम¸ शिक्षक निर्देशिका, विषयगत सिकाइ उपलब्धी¸ तहगत सक्षमतालाई शीर्ष स्थानमा राखेर पठनपाठन गर्ने प्रचलन छैन । कुन सिकाइ उपलब्धी कुन पाठबाट प्राप्त गर्ने अपेक्षा गरिएको हो सो को कुनै पुर्व योजना र अन्तर सम्बन्ध कायम नगरी अन्धाधुन्ध विना तयारी पठनपाठन भइरहेको छ । शिक्षणमा हुनै पर्ने ३ पक्ष योजना¸ शिक्षण र सुधार मध्ये तीनैको तालमेल छैन । पढ्ने पढाउनेको उद्धेश्य विना परीक्षाको प्राप्ताङ्कलाई लक्ष्य बनाएर पठन पाठन भइरहेको छ । अन्तरइच्छा¸ उत्प्रेरणा र निरन्तरता विनाको शिक्षण सिकाइ शिक्षणमै सीमित छ । सिकाइमा जोडिन सकेको छैन ।

उत्तरआधुनिक विद्यार्थीमा फेसबुक¸ फोन र ’अरु अरु’ तिर केन्द्रित भएर पढाइ प्रति एक रत्ति पनि चासो¸ जिज्ञासा र सक्रियता छैन । नविनतम प्रविधिको प्रयोग गरी मोबाइल एप्सबाट चिट चोर्ने चोराउने भए पछि पढ्नु पनि किन पर्यो र ! विद्यार्थीमा पढ्ने भनेको त अभिभावक¸ शिक्षक र प्रधानाध्यापकको लागि हो भन्ने एकहोरो बुझाइ छ । हामी हाम्रै लागि पढ्दै छौँ भन्ने विद्यार्थीको संख्या थोरै छ र त्यो पनि घट्दै गइरहेको छ । जसको लागि लगानी छ त्यही पक्ष नै निस्क्रिय भए पछि विद्यार्थी संगसंगै शिक्षक पनि अलमलमै रहनु अनौठो रहेन ।

कुनै पनि ठाउँमा कुनै पनि मान्छे पुग्नको लागि निश्चित उद्धेश्य हुन्छ । विना उद्धेश्य कोही पनि कहिँ पुग्न सम्भव छैन । तर विद्यार्थी नै यस्तो भइदियो । जो दशकौँ देखि विद्यालय धाइरहेको छ । तर उ स्वयम् विद्यालय जानुको अर्थ खोज्दैन । उद्धेश्य खोज्दैन । १०।१० बर्षसम्म लगातार विद्यालय पुगेर हासिल गर्ने लक्ष्यबारे उ स्वयम बेखबर छ ।

सरकार वा राजनीतिक नेतृत्वले शिक्षालाई सैद्धान्तिक रुपमा प्राथमिकतामा राखेको प्रतिवद्धता त गरे तर व्यवहारमा देखिएन । संघ¸ प्रदेश र स्थानीय तहमा गरिएको लगानीको मात्राबाट त्यो प्रष्ट देखिन्छ । उनै बाबुराम भट्टराइ अर्थमन्त्री र पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा तुलनात्मक रुपमा शिक्षामा गरिएको सबै भन्दा धेरै लगानी क्रमश घट्दो क्रममा छ । शिक्षक कर्मचारी तलबमा हुने खर्चलाई सरकारहरुले शैक्षिक लगानी भनिरहेका छन्  । कोही त शिक्षामा गरेको लगानी डोजरले बाटो खनेझैँ तत्काल देखिदैन त्यसैले ५ बर्षे अवधिमा शिक्षामा किन लगानी गर्ने भन्ने सोचाइका पनि छन् । कतिपयलाई जनता शिक्षित र चेतनशील भएमा चुनावमा भोट घट्छ कि भन्ने दिग्भ्रम पनि होला ।

अनुगमनकारी निकायहरु नाम मात्रका प्राण विहीन अस्थिपञ्जर सावित भए । अनुगमन गर्दै गर्दैनन् । गरे पनि अनुगमन पश्चात सुधारको लागि बोल्नै सक्दैनन् । देखिएका कमजोरी निराकरणको लागि सासै निकाल्दैनन् । स्थानीय सरकार शिक्षाको क्षेत्रमा पात नभएको ठ्याङ्ग्रो मात्र भयो । गर्न खोज्नेहरु कता कता कानुनी जालो र जञ्जालमै लट्पटिन्छन् । धेरै जसो त अझै अलमलमै छन् । गुणस्तरको कुरा गरौँ कि कार्यकर्ता समर्थक व्यवस्थापनको भन्ने दोधार पनि छ । विद्यार्थी सिकाइ उपलब्धीबारे त स्थानीय सरकारको चासो पनि अत्यन्त न्युन छ । यता पनि छलफल २ कोठे र ४ कोठे भवनमै सीमित छ । गिट्टी¸ बालुवा र सिमेण्टको हिसाव मुनी विद्यार्थी सिकाइको हिसाव पुरिएको अवस्था छ ।

अभिभावकहरुका आफ्नै गुनासा । हामीले त बच्चाबच्ची विद्यालय पठाइसक्यौँ । हाम्रो काम त्यत्ति हो । पढाउने नपढाउने सबै जिम्मा शिक्षककै भरमा ! घरमा पढ्ने त कता हो कता विद्यालयमै दिनभरी पढेको कुरा समेत घरमा १।२ लाइन लेख्ने र १५।२० मिनेट सम्झिने समेत अवस्था छैन विद्यार्थीमा ।

संघीय सरकारले के गरिरहेको छ । सबैका सामु छर्लङ्गै छ । संघीय शिक्षा मन्त्रीले संघीय शिक्षा नीति¸ ऐन ल्याउछु भन्न थालेको पनि कति भो कति ! निजी विद्यालय सञ्चालक¸ केही शैक्षिक माफिया¸ शिक्षक महासंघ र उपल्लो तहका नीहित स्वार्थका कर्मचारीतन्त्रको नजरवन्दमा पर्नुभएको धेरै भइसक्यो । उहाँले यो घेरा तोड्नसक्ने कुनै सम्भावना देखिदैन । गत फागुन २१ भित्रै संघीय कानुन र मापदण्ड बनाउनुपर्ने शिक्षा मन्त्री आफै चौतर्फी घेरावन्दीमा परे पछि शिक्षा संयन्त्रको अन्यौल र दुविधा यथावत छ । यो देशमा अहिलेसम्म कोही सभासद प्रकट भएको छैन जसले संघीय र प्रदेश संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्तावको रुपमा शिक्षालाई राखेर छलफल गराओस् र शिक्षाको क्षेत्रमा देखिएका नीतिगत अन्यौलता तोड्ने प्रयास गरोस् ।

प्रदेश सरकारमा शिक्षा सम्बन्धी गाईंगुईं शुन्यतामै साईंसुईं । त्यता पनि उही छ कुरो । विद्यालय भवन र खेल मैदान सिधै प्रदेश टु विद्यालय । निकासा र भुक्तानी । अरु के चाहियो !

समुदाय शिक्षालयबाट अलग भएको धेरै भइसक्यो । आफुलाई पर्दा विद्यालयमा जम्मा हुने । नत्र त्यता तिर देखा नपर्ने । देखा परे पनि विद्यालयको भौतिक वातावरण¸ भवन ट्वाइलेट¸ घेराबार¸ खानेपानीको योजना झार्ने कुरामै केन्द्रित । विद्यालयको पठन पाठनबारे न विव्यसमा छलफल हुन्छ न अभिभावक भेलामा । समग्र भौतिक वातावरण विद्यार्थीको पठनपाठनको लागि हो । केन्द्र भागमा विद्यार्थी सिकाइ उपलब्धीलाई राख्नुपर्छ भन्ने कुरा गाईंगुईंमै सीमित । विद्यार्थी पठनपाठन र सिकाइ उपलब्धीबारे छलफल गर्ने विव्यसहरु विरलै होलान् यो देशमा ।

कुनै बेला उत्तीर्ण अनुत्तीर्णको भय वा शंशयको कारण समेत विद्यार्थी मरीमेटी पढ्ने अवस्था थियो । अब तल्ला कक्षाहरुमा निरन्तर विद्यार्थी मुल्याङ्कनले फेल¸ पास भन्नै नमिल्ने । तल्लो कक्षामा रोक्नै नमिल्ने । जति सुकै कमजोर भए पनि उपल्लो क्लास उकाल्नै पर्ने । हुन त तल्लो कक्षामा हासिल नभएका सिकाइ उपलब्धी माथिल्लो कक्षामा प्राप्त हुने गरी उदार कक्षोन्नतीको नीति ल्याइयो । तर स्वत कक्षोन्नतीमा रुपान्तर भयो । कसले हेर्ने कुन विद्यार्थीको कुन विषयमा कुन कक्षामा कति सिकाइ उपलब्धी हासिल हुन बाँकी छन भनेर !

निरन्तर विद्यार्थी मुल्याङ्कन (क्यास) को कहानी नै बेग्लै । कक्षा १ मा परीक्षण गरेपछि अनुसन्धान गरियो । अनुसन्धानबाट क्यासले शिक्षण¸ सिकाइमा सकारात्मक प्रभाव नपारेको निष्कर्ष आयो । तर सरकारले यसलाई उल्टो कक्षा ७ सम्म विस्तार गर्ने निर्णय गर्यो । नेपाली परिवेश उदार भन्ने वित्तिकै¸ कुनै वन्धन र सीमारेखा नराख्ने वित्तिकै को हिड्छ लिकमा ! त्यस्तै भयो क्यास । परीक्षाको वहानामा अलीअली पढ्ने विद्यार्थी पनि निष्क्रिय ।

माथिल्लो कक्षामा अक्षराङ्कन भइहाल्यो । अक्षराङ्कन भने पछि के हो के हो ! झिलीमिली झिल्ला ! यति जिपिए¸ उति जिपिए¸ न नीति निर्माताले बुझाउन सके¸ न शिक्षकले¸ न विद्यार्थीले¸ न कर्मचारी र सरोकारवाला ले नै ! कहिले छ वटा ग्रेड भनेको छ¸ कहिल्यै नौ वटा भनेको छ । ए मात्रै होइन ए प्लस पनि भनेको छ । नौ वटा ग्रेडै बनाउनुथ्यो भने सरासर ए देखि आइ सम्म लेखेनि हुने ! ए प्लस¸ बी प्लस¸ सी प्लस¸ डी प्लस भन्ने अल्फाबेट त कतै शब्दकोषमै भेटिदैन । तिनले बनाएको अक्षराङ्कन निर्दे्शिकाको ब्याख्या र ब्याख्याको बिस्तृतीकरण त सबैले हेर्दैनन् ।

ग्रेडलाई प्रतिशतमा लिन पाइन्न भनेको छ । अक्षर र अङ्क त संगै हुदै हुन्न भनेको छ । अनि अङ्कैबाट अक्षरमा रुपान्तर गरेको छ । अक्षराङ्कन भनेको छ । एक छिन मानिलउ फेरि ग्रेड पोइन्ट एभरेज अङ्कमै भनेको छ । अक्षराङ्कन भनेपछि अङ्क किन प्रयोग ! अक्षराङ्कनको सिधा अर्थ त अक्षरमा अङ्कन हो । सिधा नेपाली भाषामा ।

कि ए¸ बि¸ सी मात्रै बनाए पनि हुने । उत्तम¸ मध्यम¸ सामान्य बनाए पनि हुने । प्रयोगात्मक र सैद्धान्तिकको ग्रेड जोडेर जम्मा ग्रेड निकालेको छ । ग्रेड पोइन्ट जोडेर ग्रेड पोइन्ट एभरेज निकालेको छ फेरि ग्रेड पोइन्ट एभरेजबाट एभरेज ग्रेड निकालेर ब्याख्या गर्ने प्रचलन यथावत् ।

शिक्षक¸ विद्यार्थी र अभिभावकको सहजता¸ विद्यार्थीलाई प्रोत्साहित र उत्प्रेरित हुने गरी जनसाधारणले बुझ्ने भाषामा आफ्नो नतिजा सम्प्रेषण हुन नसक्नु पनि उदेकलाग्दो नै भयो । सरोकार राख्नेहरुलाई गोलमटोल पारेर केही गणितज्ञ र तथ्याङ्कका जानकारलाई मात्रै जानकारी हुने खालको नतिजा अभिव्यक्तिको पाटोले पनि शिक्षालाई झन अज्ञेय र अन्टसन्ट बनाएको छ । अनि फेरि पनि उस्तै छ हामी सबैको बुझाइ उही माथिको अंग्रेजी नाटक जस्तै !

शिक्षा अधिकृत खड्का हाल मुसिकोट नगरपालिका¸ रुकुम पश्चिममा कार्यरत छन् ।

प्रतिक्रिया