हेपिएको प्राथमिक शिक्षा


६ वर्ष पुगेपछि मलाई कक्षा १ मा भर्ना गरिएको थियो । धुलोले भरिएको साँघुरो कक्षा कोठामा ठेलम्ठेल गरेर बस्नु पथ्र्यो । कक्षामा एक दुई वटा बेञ्चहरु थिए जो आफ्नो उचाइ भन्दा निकै अग्ला !

अलि अग्ला साथीहरु असहज ढंगले तिनै बेञ्चमा बस्ने रहर गर्थे । कालोपाटीमा शिक्षकले किरिमीरी लेखेका अक्षहरु राम्रोसँग देखिदैन थे । अक्षर नबुझेर हामी खुब हल्ला गथ्र्यौं । शिक्षकलाई सुनाउनकै लागि भए पनि हामी पेटैबाट चिच्याउथ्यौं क,ख,ग...।

शिक्षकहरु पनि विषय पिच्छे फरक फरक आउँथे । कुन सरको चित्त कसरी बुझाउने ? हामीलाई सकस लाग्थ्यो ।
हामीलाई कक्षा कोठा भन्दा चौरमा खेल्न औधि मन लाग्थ्यो । चौरमा खेलेको देख्ने वित्तिकै बैसको लट्ठीले सुम्ला उठ्ने गरि पिटाइ पाइन्थ्यो । धुलै धुलो । निकै उचाइमा पुरानो कालोपाटी । र केही थान ससाना बालबालिकाले बस्नै नमिल्ने बेञ्चहरु बाहेक हाम्रो कक्षा

कोठामा अरु कुनै सामाग्रीहरु थिएनन् । वर्ष भरि हामी के सिक्थ्यौं ? केही थाहा हुँदैन थ्यो । ५ कक्षा पुगि सक्दा पनि हामीलाई मुस्किल हुन्थ्यो कखरा..., ए,बि,सि,डी... चिन्न । भन्न । र लेख्न । 

उमेर बढ्दै गयो । कक्षा अनुसार सिकाइ छैन । शिक्षकले नजान्ने, अल्छि, ग्वाँरको संज्ञा दिन थाले पछि विद्यालय जान खासै रुचिको विषय बन्दैन थियो । विस्तारै विद्यालय छोड्नेहरुको संख्या बढ्न थाल्थ्यो । अभिभावकका आशाहरु तुहिन्थे । बालबालिकाका सपनाहरु अधुरै रहन्थे । यो त कालिकोटको दुर्गम गाउँमा आज भन्दा २१ वर्ष अघिको भोगाइको एक अनुच्छेद मात्र हो । तर आजको मितिसम्म पनि बालविकास, पुर्वप्राथमिक तथा प्राथमिक शिक्षाले प्राथमिकता नपाउनु दुर्भाग्य हो । अन्याय हो । विभेद हो । 

प्रारम्भिक बालविकास भन्नाले गर्भावस्थादेखि ८ वर्ष उमेर समूहका बालबालिकाहरूको सर्वाङ्गीण (शारीरिक, सामाजिक, संवेगात्मक, भाषिक र बौद्धिक) विकास प्रक्रियालाई बुझाउँछ । नेपालमा हाल गर्भावस्थादेखि ५ वर्षसम्मको उमेर समूहलाई प्रारम्भिक बालविकासको उमेर मानिने गरिएको छ । स्नायु विज्ञानमा भएका विभिन्न अध्ययन तथा अनुसन्धानहरूले जीवनको सुरुवाती वर्षमा (५ वर्षसम्म) मस्तिष्कको विकास सबैभन्दा तीब्र गतिमा भएको हुन्छ भन्ने कुरा प्रष्ट्याएको पाइन्छ । तीन वर्षको उमेरमा एउटा बच्चाको दिमाग वयस्कको दिमागभन्दा दुई गुणा बढी व्रिmयाशील हुन्छ भने मस्तिष्कको ८७ प्रतिशत तौल (११०० ग्राम) तीन वर्षको उमेर सम्ममा हासिल भएको हुन्छ । बच्चा ३ वर्ष पुगेपछि शिशु कक्षामा भर्ना गर्ने चलन बढ्दो छ । ९७ प्रतिशत बालबालिकाहरु विद्यालयको पहुँचमा छन् । तर सिकाइ बालमैत्री छैन । सिक्नु पर्ने कुरा समयमा सिकाइदैन ।

चाइनाको ग्रेटवाल होस् या मिश्रको पिरामीड । आग्राको ताज महल होस् या भक्तपुरको ५ तले मन्दिर यी सबै संरचना आजसम्म किन छन् ? जवाफ सरल छ, यीनको जग बलियो छ । र अस्तित्व आजसम्म छ । ‘जग बलियो भए पो घर बलियो हुन्छ ।’ हामी माझ यो उखान त्यसै प्रचलित भएको होइन । सक्षम,चरित्रवान् तथा योग्य मानिसको जग उस्को बाल्यकाल हो । बालबालिकाले प्रारम्भिक कक्षामा के सिके ? कहाँ सिके ? कसरी सिके ? कस्ले सिकायो ? भन्ने कुराले अधिकांश बालबालिकाको भविष्य निर्धारण हुन्छ । मुलुकले कस्तो नागरिक पाउँदैछ भन्ने कुराको र्निधारण पनि प्रारम्भिक सिकाइले गर्दछ ।

हाम्रा पुर्व प्राथमिक कक्षाहरु कस्ता छन् ?

साँघुरा पुराना कक्षाकोठा, भित्ताहरु उजाड, अझैं पनि शिक्षकको हातमा लठ्ठी । लठ्ठीको इशारामा खियाएको कक्षाकोठाको गहिराइ कति होला र ? कोठामा कतै अमैत्री बेन्च त कतै एक दुई टुक्रा धुलै धुलो भरिएको कार्पेट । कक्षा कोठामा बालबालिकाले खेल्ने साहेदै सामग्री । भएपनि प्रभावकारी उपयोगीतामा कमि ।

कालोपाटी / सेतोपाटीमा शिक्षकले क,ख,ग...लेख्छ । एकचोटी आफै भट्याउँछ । विद्यार्थी टाउको कन्याउँदै दोहोर्याउँछन् । अनि शिक्षकले अलि बोल्न सक्नेलाई उठाउँछ । उस्को हातमा सकेसम्म लठ्ठी थमाउँछ र टिनका पाता हल्लिने गरि क, ख,ग...भन्न लगाउँछ । दिन भरि यस्तै तिक्डममा बाँच्छन् बाmबालिका । शिक्षक आफ्नो कर्तव्य निभाएको सपना देख्छ र अर्को दिन दोहोर्याउँछ । यसैगरी शिक्षकले वर्ष विताउँछ । बच्चाले एक वर्ष गुमाउँछन् । के सिकाउने ? किन सिकाउने ? कस्ले सिकाउने ? अभिभावकहरु बेखबर छन् । कक्षा ५ पुग्दासम्म पनि अधिकांश बालबालिकाहरुलाई कखरा चिन्न, अंकहरुको सामान्य जोड्घटाउ गर्न मुस्किलै हुन्छ । बच्चाको कक्षा र उमेर बढ्दै जान्छ । बच्चाले केही नजानेको महशुस गर्न थाल्छ । सिक्न चाहेपनि सहि मार्गदर्शक पाउँदैन ।

साना नानीहरुलाई उपेक्षित गर्ने हामीमा मानसिकता छ । ससाना बालबालिकालाई जे सिकाए नि भयो । जसरी सिकाए नि त भयो । अलि अलि सिकाए पुग्छ, बच्चालाई के थाहा छ र ? हामी यसरी नै सोच्छौं र बच्चालाई जिन्दगीभरि असक्षम बनाउने खेलमा दौडिन्छौं । गुणस्तरीय पुर्व प्राथमिक तथा प्राथमिक शिक्षा विना हामीले परिकल्पना गरेको सक्षम नागरिक हाम्रो शैक्षिक प्रणालीले निर्माण गर्न असम्भव नै छ । हाम्रा सरकारी विद्यालयमा जाने हो भने प्रष्टै देखिन्छ विभेद । सानो कक्षाहरुको लागि जीर्ण भवन । कक्षाकोठा गोठ जस्ता । अव्यवस्थित  । अस्वस्थ चर्पि । स्वच्छ तथा शुद्ध खानेपानीको अभाव । शिक्षक आए भयो नआए भयो । बच्चाले प्रश्न गर्ने होइन । जागिर खानको लागि त प्राथमिक तह काइदाको व्यवस्था हो । तर मान्छे निर्माणको लागि निकै कठिन र संवेदनशील तह हो ।
बालबालिकाले गुणस्तरीय शिक्षा नपाउनु मौलिक हक हनन हो । जुन अन्याय हो । हाम्रा प्राथमिक तथा पुर्वप्राथमिक तहलाई एकातिरबाट सहानुभुती प्रर्दशन गरेको पाइन्छ भने अर्को तिरबाट विभेद र दोषको भागिदार । सामुदायिक विद्यालयमा तपाईले भिजिट गर्नु भयो भने तहहरु बिच निम्न प्रकारको विभेद तथा तालमेल नमिलेको देख्न सक्नुहुन्छ ।

भौतिक संरचनामा विभेद तथा हेलचेक्र्याईं 

माध्यमिक तथा उच्च माध्यमिक तहको भन्दा प्राथमिक तथा पुर्व प्राथमिक तहका लागि भवन, कक्षा कोठा, शौचालय, खेल मैदान, शैक्षिक सामग्रीहरु प्रर्याप्त प्रदान गरिको पाईदैन । जीर्ण भवन । उकुसमुकुस लाग्दो कक्षाकोठा । भाँचिन लागेका बेन्च । मैलो कार्पेट । पुरानो फोहोरले भरिएको शौचालय । यस्तै यस्तै भौतिक पुर्वधारहरुको घेरामा रहेर बालबालिकाले स्कुले जिन्दगीको सुरुवात गर्नु परेको लाजमर्दो यथार्थता हामी माझ छ । 

तल्लो तहका विद्यार्थीहरुलाई खासै सेवा सुविधा नचाहिने, कम भएपनि हुने जस्तो व्यवहार तथा गतिविधिहरु विद्यालय प्रशासनले गरेका थुप्रै उदाहरण छन् । यसको अर्थ माथिल्लो तहलाई जति महत्व दिन्छौं । त्यो भन्दा बढि तल्लो तहमा सबैको ध्यान जानै पर्छ भन्ने हो । आधार मजबुद नबनाउने अनि राम्रो फलको अपेक्षा गर्ने ? जबसम्म आधारलाई महत्व दिदैनौं तबसम्म हामीले खोजेको गुणस्तरीयता हामी भन्दा धेरै टाढा भइरहने छ । रहिरहने छ ।

शिक्षकको  दक्षता र पारिश्रमिकमा विभेद

प्राथमिक तहमा माध्यमिक तहभन्दा बढि दरबन्दी छ । तर पुर्व प्राथमिक तहमा अधिकांश विद्यालयमा प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिती प्रमुखको खल्तिका मान्छेहरुले बालबालिकाको भविष्यलाई अप्ठेरोमा पारिरहेका छन् । सजिलो ‘इसिडी’ भनेर बालमनोविज्ञान,बालविकास विषयमा सामान्य कुराको जानकारी नभएकाहरुलाई थमाइदिएको पाइन्छ । इसिडीका शिक्षकहरुले प्राथमिक तहका कक्षाहरुको पनि जिम्मेवारी लिएको देखिन्छ । केटाकेटीलाई स्कुल आउने बानी बसाउने भनेर इसिडिलाई हल्कारुपमा लिनु नै समस्या हो । असल बानी निर्माण गर्न सजिलो छैन । असल बानी निर्माण गर्न सगाउने शिक्षक दक्ष तथा अनुभवी हुन जरुरी छ । विडम्बना हामी माझ निकै कम छन् । 

प्रारम्भिक बालविकास केन्द्रको राष्ट्रिय न्युनतम् मापदण्ड २०६७ का अनुसार शिक्षकको शैक्षिक योग्यता निम्नतम् १२ उतिर्ण गरेको हुनु पर्ने प्राब्धान छ । भने आदर्श मापदण्ड स्नातक तह हुनु पर्ने उल्लेख छ । तर हामी माझ कक्षा ८ पास गरेका । १० पास गरेका । केही १२ पास गरेका शिक्षकहरु छन् । विरलै होलान् स्नातक पास गरेका । बालमनोविज्ञान बुझेर सिकाउने शिक्षकको त खडेरी नै छ । एकातिर हामी गुणस्तरीय शिक्षाको नारा लगाउँछौं अर्को तिर जग बनाउने काममा दक्ष तथा अनुभव नभएका शिक्षकहरुको भागमा बालबालिकाहरु सुम्पिन्छौं । 

इसिडी तहका शिक्षकहरुको मासिक पारिश्रमिक ६ हजार छ । शिक्षकको यो तलब पनि न्यायिक छैन । जम्मा ६ हजार कमाउने लोभले बालबालिकाको जिन्दगी किन बर्वाद गर्ने ? यो भन्दा बढि त आलु पसल राख्दा बढि आम्दानी हुन्छ । पसल नचले कसैको जिन्दगी बर्वाद त हुँदैन । तर कक्षा चलाउन जानिएन भने सयौं बच्चाको जिन्दगी आलु जस्तो बनिदिन्छ । त्यसैले तालिम प्राप्त शिक्षक राखौं । राम्रै सेवासुविधा प्रदान गरौं । अनि गुणस्तरीय सिकाइको अपेक्षा गरौं अन्यथा परिणाम शुन्य नै लागि रहने छ ।

नैतिक सहयोगमा विभेद

‘मेरो बच्चाले कति अंक ल्याउला ? पास होला त ?’ बच्चा १० कक्षा पुगेपछि अभिभावकलाई चिन्ता बढ्छ । ‘केही पनि नजान्ने छन् कसरी पास गराउने ?’ शिक्षकलाई सकसक बढ्छ । बच्चा हतोत्साहीत हुन्छ । विद्यार्थीलाई एसइइ परिक्षा मृत्युको मुख जस्तो लाग्छ । अभिभावकले ठुलै कक्षाको शिक्षकलाई सबथोक ठान्छन् । शिक्षकले पनि आफु माथिल्लो तहका विद्यार्थीलाई सिकाउने प्राणी भएकोमा तल्लोतहका शिक्षकलाई हेय भावले हेर्छ । आफुले राम्रोसँग सिकाउन नसक्नुको कारण तल्लो तहले राम्रोसँग नसिकाएको गुनासो गर्छ । समग्रमा शिक्षक,अभिभावक तथा सम्बन्धित सरोकारवालाहरुको ध्यान माथिल्लै कक्षामा देखिन्छ । यसरी तल्लो कक्षालाई सबैबाट उपेक्षित गरिएको प्रतित हुन्छ ।

बालबालिका अबोध छन् । अबोधपनको फाइदा उठाउने धन्दा अब बन्द गरौं । प्रभावकारी सिकाइको प्रकाश हरेक बालबालिकाले सानै कक्षाबाट पाउनु पर्छ । सानैबाट सिकाइ राम्रो हुने हो भने विद्यालय छाड्ने विद्यार्थीको संख्या धेरै घट्ने छ । निश्चित तह पास गरेपछि विद्यार्थीलाई पनि आफुले प्राप्त गरेको डिग्रीप्रति गर्व हुनेछ ।

स्थानिय सरकारले आफ्नो नगर तथा गाउँको शैक्षिक उन्नयन गर्ने सपना देखेका छन् भने प्राथमिक तहलाई केन्द्रमा राख्न जरुरी छ । विभेद मुक्त तल्लो तहलाई नबनाई पात पखालेर परिर्वतनको अपेक्षा गर्नु र बालुवामा पानी हाल्नु उस्तै हुनेछ ।

देवकोटा टिच फर नेपाल नामक संस्थामा एडुकेशन इम्प्याक्ट कोर्डिनेटरका रुपमा कार्यरत छन् ।