Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विचार / विमर्श

शिक्षक आयोग पास गर्दा त्यस्तो कुनै परीक्षा पनि त हुँदैन !

मंगलबार, २२ पुस २०७६

नेपाली शिक्षा क्षेत्रमा देखिएको जटिलता जति फुकाउन खोज्यो त्यति बल्झिने गाँठो जस्तै भइरहेको छ । नितिगत स्पष्टता बढ्दै गए पनि व्यवहारिक र नैतिक जटिलताले झनै बिरोधाभाषी र अन्यौल ग्रस्त बनाइदिएको छ । नेपालमा अहिले मेडिकल शिक्षा र उच्च शिक्षामा देखिएको किचलो बाहेक औपचारिक विद्यालय शिक्षा सबैभन्दा अन्तर बिरोधी देखिएको छ ।

विद्यालय शिक्षामा हुने पहिलो बहस गुणस्तरको हो जुन आँफैमा अमुर्त र अपरिभाषित बन्दै गईरहेको छ, यसको एउटा पहलु शिक्षामा निजीकरण अर्थात निजी विद्यालयसंगको गुणस्तरको तुलना हुनु पनि हो । अर्को पहलु शिक्षक व्यवस्थापन, नियुक्ती, सरुवा, बढुवा आदी राजनीतिक बिषाक्त भुमरीमा फसेका समस्याहरु हुन् । 

आगामी दिनहरुमा जटील भएर माछाको काँडा जस्तै फसीरहेको शिक्षण सिकाइमा विद्यार्थीलाई दिईने दण्ड सजायको मुद्दा हँुदैछ, नीतिकार, दार्शनिकहरुलाइ यो कुरा सामान्य जस्तै लागे पनि शिक्षकहरुलाई थाहा भैसक्यो अब कतिको जागीर चट हुदैछ भने कतिले जेल जानु पर्ने हुन सक्छ । महेन्द्रनगरमा एक जना शिक्षक भर्खरै जेल गए डोटीमा अस्ती एक जना शिक्षक बर्खास्त गरिए यी प्रतिनिधि उदाहरणले देखाइसकेको छ  अबको शिक्षण कति चुनौती पुर्ण छ ।

सबै भन्दा पहिले विद्यालय शिक्षाको गुणस्तरको कुरा गरौ । हिजो आज शिक्षामा चासोराख्ने जो सुकैलाई पनि शिक्षाको गुणस्तर खस्किएको प्रष्ट देखीन्छ कुनै पनि विद्यालयमा आधा भन्दा बढी विद्यार्थिमा न्युनतम स्तरको सिकाइ पनि छैन । ९ , १० मा पढ्ने विद्यार्थीलाई नेपाली शब्द पढ्न आउँदैन, गणितको सामान्य जोड घटाउ आउँदैन । तलका कक्षाहरुमा एक दुइ जना अब्बल हुन्छन् भने बाँकी करीब ८० प्रतिशतले केहि पनि सिकेका हुँदैनन् । यो बिषयमा सबैभन्दा बिचित्र बिडम्बना के हो भने शिक्षकले यस्तो अबस्थाको  जिम्मेवार अहिलेको नीतिलाइ मान्दछन् । अधिकांश शिक्षकहरु एकै स्वरमा कुर्लन्छन – विद्यार्थीलाई पढ भनेर हकार्न गाली गर्न समेत नपाए पछि विद्यार्थी मनपरि गर्छ पढ्दैन हाम्रो समाजमा बच्चालाइ सानै देखी आमा बा ले गाली गर्दै, उस्तै परे पिट्दै काम गराउँछन त विद्यार्थी घरबाटै गाली खाएरै विद्यालय आउँछनर । तर विद्यालयमा शिक्षकसंग उल्टो रीस पोख्छन्, एउटा शिक्षक पनि सामान्य मानिस हो उसलाइ पनि रीस उठ्छ भनेको नटेरे, चकचक गरे, उद्दण्डता देखाए, यस्ता अनेक प्रकारका अमान्य क्रियाकलाप रोक्न गाली गर्नु रिसाउनु वा सामान्य हपकी दप्की गर्नु बाहेक शिक्षकसंग अरु कुनै मन्त्र शक्ति हँुदैन । 

यस बिषयमा अर्को केलाउनु पर्ने कुरा के हो भने हिजो आज ठुला शहरमा बिशाल लगानीमा खुलीरहेका निजी विद्यालयहरुमा निश्चित रुपमा बालमैत्री शिक्षण हुन्छ त्यहाँ अत्याधुनिक साधन स्रोत छन्, आवश्यक प्रविधि उपलब्ध छ शिक्षक एउटा सहजकर्ता छ विद्यार्थीका अभिभावकले बाल मनोविज्ञान बुझेका छन्, शिक्षाको अर्थ र प्रयोजन बुझेका छन् । त्यसैलाइ शिक्षाको उच्च गुणस्तर मानेर गाउँघरका विद्यालयलाई पनि त्यस्तै बनाउनु पर्ने सपना सबले देख्छन् । 

नेपाली समाजको अहिलेको स्तर कस्तो छ भने जब अभिभावक विद्यालयमा आफ्नो बच्चाको पढाइको बारेमा बुझ्न आउँछ सारै कमजोर भएको र नपढ्ने भएको थाहा पाउँछ त्यति बेला जसरी पनि पढाउनु पर्यो हकार्नु पर्यो, गाली गर्नु पर्यो, गृहकार्य दिनु पर्यो अझ कतिपयले त आफ्नो छोरा छोरी बिग्री सके बेस्सरी कुट्नु पर्यो भनेर पनि जान्छन् । तर कुनै दिन कुनै विद्यार्थिले अनुशासन भंग गर्दा शिक्षकबाट कुटाइ खान्छ र यदि उसले त्यस बिषयलाइ सोसल मिडिया , आम संचार र सरकारी निकायमा पुर्याउँछ तिनै अभिभावक शिक्षकलाइ बर्खास्त गर्न र जेल हाल्न तम्सिन्छन् ।  शिक्षाबिदहरु बालमैत्री शिक्षा, हिंसारहीत शिक्षाको वकालत गर्छन् । सरकारी शिक्षाका कर्मचारीहरु नीति नियम र ऐन कानुनका कुरा ल्याएर शिक्षकलाई कारवाही गर्छन् । आज नेपालको गाउँघरमा सरकारी विद्यालयका शिक्षक आफुलाइ दुबैतिरबाट बजाइएका ढोलक बनिरहेका छन् । एकातिर विद्यार्थी यति कमजोर किन भए ? अर्को तिर विद्यार्थिलाइ डराउनु तर्साउनु बाहेक शिक्षकलाइ अरु केहि आउँदैन ? बिचरा शिक्षक यति ठुलो आध्यात्मिक साधक र तान्त्रिक त छैन की विद्यार्थीलाई हँसाइ हँसाइ माया गरी गरी सबै बिषयमा परफेक्ट बनाओस् ! एकाध शिक्षक त्यस्ता उच्चकोटीका होलान् तर शिक्षक आयोग पास गर्दा त्यस्तो कुनै परीक्षा पनि त हुँदैन ! 

अहिले नेपालमा देखिएको विद्यालय शिक्षाको अन्यौलको जरो चाहि शैक्षिक दर्शन हो । शिक्षाको समसामयिक र व्यवहारिक अर्थ र प्रयोजनको बुझाइमा देखिएको मतभेद हो,  एउटा गाँउले गरीब परिवारले आफ्नो छोरा छोरी पढाएर ठुलो मान्छे बनाउन चाहन्छ जसले समाजमा धेरै पैसा र नाम कमाओस । यसर्थ विद्यालय शिक्षा तथा उच्च शिक्षाको मुख्य उद्देश्य कमाउन सक्ने बनाउनु हो साथै समाजमा ठुलो मान्छे बन्नु हो, तर नेपालको स्थिती हेरेर थाहा हुन्छ नेपालको शिक्षाले यि दुबै उद्देश्य हासिल गर्न सक्दैन । पढे लेखेर एक त बेरोजगार बस्नु पर्छ, काम पाईहाले पनि बेइमानी सिक्नु पर्छ, भ्रष्ट हुनु पर्छ समाजमा यस्तै मानिसको नाम र दाम हुन्छ भन्ने मानक बन्दै छ । 

यस कारण निष्कर्ष के हो भने आज हामी जुन जुन राष्ट्रिय समस्यामा छौँ त्यसको एकमात्र जिम्मेवार नेपालको शिक्षा प्रणाली हो । निश्चित छ की भोलीको हाम्रो समाज आज भन्दा झन् बिषाक्त, निरस र जटील हुने छ किन की आजको शिक्षाले जुन जटीलता पैदा गरेको छ त्यो नै भोलीको समाजमा देखीनेछ ।

शिक्षाविद् दार्शनिकहरु भन्छन् – विद्यार्थिलाइ फेल भन्नु हुँदैन एउटा कुनै स्तरमा कुनै विषयमा अयोग्य हुँदैमा उ जीवनमा अयोग्य हुँदैन, मानिसहरु ठुलठुला वैज्ञानिक, कवि, लेखक, खेलाडीका उदाहरण दिन्छन् । हरेक बच्चामा आफ्नो जीवनमा गरेर देखाउन केहि न केही क्षमता अवश्य हुन्छ । त्यसैले कुनै पनि मानिस अयोग्य छैन त्यसो हो भने १० कक्षामा कसैलाइ सामान्य जोड गर्न आएन भने उ भविष्यमा राम्रो खेलाडी, गायक, कृषक वा अरु केही पनि हुन सक्छ ? असल र गुणी हुन सक्छ ? प्रश्न यथावत छ । 

शिक्षक र विद्यालयले हरेक बच्चालाइ ससम्मान उसको जीवनको बाटो देखाउन सक्यो की सकेन भन्ने प्रश्न मात्र गुणस्तरको प्रश्न हुनु पर्ने हो । नत्र गएका केहि दशक यता निजी क्षेत्रका अब्बल विद्यार्थि जसले १०० मा १०० नम्बर पाउँथे ती सबैले आजको समाजलाइ उन्नत बनाइसक्नु पर्ने हो । आज भ्रष्टाचार, कुशाशन, अशान्ति अपराध, अविकास आदिको बीज नै दुषित राजनीति बनेको छ । तथाकथित पढेलेखेका मानिस नै यसका कारक भएका छन् । एउटा विद्यार्थीले  आज बढी नम्बर ल्याउँदैमा भविष्यको समाज शान्त समृद्ध  बन्ने ग्यारेण्टी छैन । डाक्टर, इञ्जिनियर, व्यवसायी बन्न धेरै नै जान्ने हुनु पर्छ । तर ति सबै ठुला मगजहरु नेपालमा बस्दैनन् नेपालमा बसे पनि आफ्नो पढाइमा लागेको लगानी उठाउनमा मात्र लाग्छन् । चाहे त्यो देश विकास र समाजको शान्तिका लागी प्रतिकुल नै किन नहोस ।

यसर्थ धेरै नम्बर भएको मानिस भन्दा नेपाललाइ धेरै गुण भएको मानिस चाहिएको छ दया, माया, शान्ति, सदभाव, र परम सन्तोषी नागरिक चाहिएको हो, जसले कुनै न कुनै प्रकारले यहि देशको माटोमा आफ्ना नङ्ग्रा खियाएर खान सकोस् सबैलाइ अगाडी बढाउन सकोस् । 

आज जसरी पनि १ नम्बर हुन सिकाईएका विद्यार्थी भोली समाजमा पनि अरुको खुट्टा तानेरै भए पनि रातारात एक नम्बर हुन खोजीरहेका हुनेछन् । त्यसैले यहाँ हरेक मानिस भ्रष्ट बन्न पुग्छ नेपाली नेताहरु २ बर्षमै नेपाललाइ अमेरिका जस्तो बनाउने सपना बाँडछन अनि जनता त्यहि अनुसार छटपटाइरहेका हुन्छन् । यसको अर्थ हामीसंग विकासलाई बुझ्ने र अगाल्ने तरिका र दृष्टिकोण नै उधारो छ, जुन सरासर अपुर्ण र गलत छ । जसको दोष सदा सर्वदा नेपालको शिक्षालाइ नै लागीरहनेछ । 

नेपालको विद्यालय शिक्षा जहाँ भोलीको समाज हुर्किरहेको छ त्यो कोलाहलको विषाक्तता हो वा योग्य जनशक्ति उत्पादनको थलो ? प्रश्न यथावत छ ।

बुढाऐर, श्री पदम पव्लिक मुक्तिनारायण माध्यमिक विद्यालय सिलगढी, डोटीका शिक्षक हुन् । 

प्रतिक्रिया