Edukhabar
विहीबार, १३ बैशाख २०८१
विचार / विमर्श

शिक्षण सुधारका अनुत्तरीत प्रश्न

सोमबार, २७ माघ २०७६

सिकाइ कहाँ कमजोर भयो ? सिकाइ सुधारका लागि कसको कहाँ कमजोरी भयो ? शिक्षक, विद्यार्थी, शिक्षाविद्, शिक्षासँग सम्वद्ध निकाय, शिक्षाका सरोकारवाला, शिक्षा प्रणाली, पाठ्यक्रम, मूल्याङ्कन प्रणाली आदि !

शिक्षण सिकाइ पाठ्यक्रमले देखाएको बाटो उपयुक्त तरिकाले हिँड्न सिकाउने माध्यम मात्र हो । यसको केन्द्र विन्दु भनेका सिकारु वा विद्यार्थी हुन् । शिक्षक पाठ्यक्रमले निर्देश गरेका कुराहरु विद्यार्थी माझ पुर्याउने मध्यस्थकर्ता मात्र हो । यस लेखमा शिक्षण सूधारका लागि सब भन्दा जिम्मेवार को रहनु पर्ला वा सिकाइ सुधार गर्ने जिम्मेवारी कसको हो ? भन्ने विषय सार रुपमा उठाउन मात्र खोजिएको छ ।  

नेपालको विद्यालय शिक्षा प्रणाली विशेषत सामुदयिक र संस्थागत विद्यालयहरुले आ–आफ्नो पद्दति अनुसार सञ्चालन गरेका छन् । यद्यपि विद्यालय तहको शिक्षा पद्दति हाँक्ने यी दुबै संस्था विद्यमान ऐन र कानुन अनुसार नै चलेका हुन् । पाठ्यक्रम तथा पाठ्यपुस्तकमा तादात्म्यता तथा सुसंगती छ छैन ? स्तर अनुकुल छ छैन ? त्यता ध्यान नदिईकन हेर्ने हो भने दुबै संस्था हाम्रो सिकाइ स्तर राम्रो छ भन्न चुकेका छैनन् ! 

देशको शैक्षिक अवस्था उकास्न वा शैक्षिक उपलब्धि उत्कृष्ट हुनमा हाम्रो भूमिका अहं छ भनी रटान लगाई रहेकै छन् । अझ भनौं एसईईको नतिजा प्रकाशन भएका केही दिन त ठूलो रस्काकस्सी नै चल्ने गर्छ । त्यो नतिजा नै गुणस्तर, शिक्षण सुधारको मापदण्ड हो त ? 

गुणस्तर  के हो ?

सामान्य भाषामा तोकिएको मापदण्ड पूरा गर्नु गुणस्तर हो । हिजो भन्दा आज अझ राम्रो भएको अवस्था गुणस्तर हो । थप उपयुक्त वा सान्दर्भिक रहनु गुणस्तर सँग जोडिएर आउँछ । विद्यार्थीको सिकाइ स्तर राम्रो हुनु, हिजोको तुलनामा थप उपलब्धि हासिल हुनु गुणस्तर हो, सिकाइको उत्कृष्ठता नै गुणस्तर हो । तर कुनै विद्यार्थीले हासिल गरेको उत्कृष्ट जि.पि.ए. को आधारलाई नै चाहिँ सापेक्षतामा गुणस्तर मान्न सकिन्न । 
शिक्षण सूधारका अभ्यास 

शिक्षण सुधार गर्नु भनेको विद्यार्थीको सिकाइ स्तर थप वलियो सुदृढ बनाउदै लैजानु हो । यसका अलावा पाठ्यक्रमले तोकेका  मापदण्डहरु पूरा हुदै जानु पनि हो । विद्यार्थीको ज्ञान, बोध तथा प्रयोग सबै पक्षमा सुधार आउनु हो । विद्यार्थीको क्षमता वृद्धि हुनु हो । विद्यार्थीले सिकेका कुराहरु व्यवहारमा  सान्दर्भिक हुँदै जानु हो । तोकिएको सक्षमता पूरा हुनु हो । के यस्तो अवस्था विद्यमान परिवेशमा देखिन्छ त ? 

शिक्षण सुधारको पहिलो सर्त सिकारु सिक्न पूर्ण तयार रहनु पर्छ । हामीले शिक्षण सुधारका लागि के ग¥यौं त ? सिकारु भन्दा पहिला हामी तयारी भयौं, विद्यार्थीको तत्परता बुझ्यौं, विद्यार्थीलाई सिक्ने अवसर कसरी उपलब्ध भयो त ? विद्यार्थीको उत्साह जोश जाँगर रुचीलाई हेरियो कि हेरिएन । कहिल्यै पनि जबरजस्त गरेर विद्यार्थीको सिकाइ सुध्रदैन, सिकाइ स्वेच्छिक हुनु पर्छ । सिकाइका लागि पटक पटक अवसर दिनुपर्छ । घरदेखि विद्यालयसम्मको सम्पूर्ण वातावरण सिकाइका लागि उपयुक्त हुनु पर्दछ ।

शिक्षण सुधारको दोश्रो सर्त सिकारुको पूर्वज्ञान हो । विद्यार्थीको पूर्वज्ञान बुझेर गरेको शिक्षण मात्र प्रभावकारी बन्दछ । सिकाइका आधारभूत कुरा सिकेको छ छैन, सिकाइको आधार तय भएको छ छैन बुझ्नु पर्छ कि पर्दैन ? 

टुप्पामा आएर कुनै विषयबस्तु विद्यार्थीमा राख्दा कस्तो प्रभाव पर्छ, अनि सिकाइ सूधार कसरी सम्भव छ ? विगतका विषयबस्तुसँग जोडेर नयाँ सिकाइ र सिकाइमा सूधारको लागि हामीले गरेको प्रयास पुग्दो छ त ?
तेस्रो कुरा पाठ्यक्रमले विषयबस्तु समावेश गर्दा लम्बीय र समतलीय समन्वय कायम गराउन प्रयास गरेको हुन्छ । जुन विषयगत तथा तहगत दुबै अवस्थासँग मेल खाएको पाइन्छ । सिकाइ सरलबाट जटिल वा क्रमवद्ध हुनुपर्छ भन्ने त सिद्धान्त नै छ । हाम्रो अवस्था चाहिँ के छ त ? एउटा विषयबाट विद्यार्थीले हजार कुरा सिक्न सक्छ वा सिक्नु पर्छ भन्ने प्रेरणा हामीले विद्यार्थीलाई दिलाउन सक्यौं त ? सिकाइमा हामीले अनेकन प्रश्न तिनका उत्तर खोज्ने खोजाउने प्रयास ग¥यौं त ? विद्यार्थीमा प्रश्न गर्ने सामथ्र्य आयो, विद्यार्थीले यो पछि के कसरी भन्ने प्रश्न राख्न सक्यो त ? यो सब नभई शिक्षण सुधार कसरी सम्भव छ ?  

चौथो विषय, सिक्ने विषयबस्तु विद्यार्थीको अपेक्षा अनुसार बनाउन सकियो वा सकिएन भन्न हो । विषयबस्तुले विद्यार्थीको सिकाइको तिर्सना मेटाउन सक्यो वा सकेन ? सिकाइले विद्यार्थीको व्यवहरिक पक्षलाई सम्बोधन गर्न सक्यो वा सकेन ?। सिकाइ र काम वा सीप बिच सम्बन्ध स्थापित गराउन सकियो वा सकिएन ? विद्यार्थीको सिकाइलाई निश्चित तवरले शिक्षकले डोहो¥याउन सकेको छ त ? 

पाँचौ विषय अभ्यास हो । अभ्यासले मानिसलाई पोख्त बनाउँछ । हाम्रो सिकाइ वातावरणले सिकाइमा अभ्यासलाई कति महत्व दिएको छ त ? अभ्यासको वातावरण निर्माणमा हाम्रो भूमिका कस्तो रह्यो त । संस्कृतमा एउटा भनाई छ –

शनै: पन्था शनै: कन्था शनै: पर्वतलङ्घनम् ।
 शनै: विद्या शनै: वित्तं पञ्चै तानी शनै: शनै: ।।

लामो यात्रामा होस्, टालटुले काममा होस् लेक चढ्दा, विद्या आर्जन गर्दा, धन सम्पत्ति आर्जन गर्दा क्रमश ः विस्तारै विस्तारै पटक पटकको मेहनतबाट गर्नुपर्छ, प्रसस्त अभ्यासको जरुरत पर्छ यो सवाल हामीले विद्यार्थीलाई बुझाउन सक्यौ वा सकेनौं ? हाम्रा विद्यार्थी अभ्यास कति गर्छन् ?

छैटौं विषय ज्ञानले थप ज्ञान आर्जन गर्न सक्नु पर्दछ भन्ने हो । विद्याार्थीले सिकेको सामान्य ज्ञानबाट नयाँ नयाँ ज्ञान हासिल हुनुपर्छ । पूर्ण ज्ञान अर्थात् ज्ञानको भण्डार वृद्धि हुदै जानु पर्छ । त्यो कुरा शिक्षणमा लागू हुन सक्यो वा सकेन ? विद्यार्थीमा ज्ञान प्राप्तीको लागि हामीले साधना गर्न सिकायौं वा सिकाएनौं ? विद्यार्थीलाई चिन्तनशील वा सिर्जनात्मक बन्न कहिँ कतै बाट प्रेरित गरियो वा गरिएन ?

अर्को विषय आधुनिक विश्व परिवेश सुहाँउदो प्रविधि मैत्री शिक्षा हामीले प्रदान गर्न सक्यौं वा सकेनौं भन्ने हो । हरेक ज्ञान सूचना प्रविधिको प्रयोगबाट हामीले कति सिकायौ ? हरेक ज्ञान विश्व परिवेश सँग जोडेर प्रदान गर्नुपर्ने हुन्छ त्यसका लागि हामी कति अध्ययनशील भयौं ? कम्प्यूटर, इमेल, इण्टरनेटसँग हरेक सिकाइलाई जोड्नु अनिवार्य जस्तै भएको छ, कक्षा कोठामा त्यसको प्रयोगको अवस्था के छ ? कम्प्यूटर विषय सिकायौं तर त्यसको प्रयोगको अवस्था के छ ? विद्यालयमा एक पटक कम्प्यूटर छुदैमा वा हेर्दैमा सिकाइ भयो त ? यसै गरी सिकाइमा सुधार आउछ त ? सरकारबाट प्रत्येक वर्ष विज्ञान ल्याव, गणित ल्याव, कम्प्यूटर ल्यावका शीर्षकमा करोडौं रकम विनियोजन भएको त सुनिन्छ !

अवस्था कस्तो छ ? 

सिकाइको साधन के के प्रयोग गर्छौं, पुस्तक बाहेकका सामग्री प्रयोगको अवस्था के छ ? सन्दर्भ सामग्री, साहायक सामग्रीको खोजी कति गरियो र प्रयोग पनि । पाठ्यक्रमले निर्देश गरेका लक्ष्य उद्देश्यसँग तालमेल मिल्ने गरी शिक्षण सिकाइ प्रक्रिया अघि बढाइयो वा बढाइएन ? विद्यार्थी कति स्रोतपूर्ण बने । हामीमा नवप्रर्वतन सम्बन्धि सीप कति छ अनि प्रयोग कति गर्छौं ?

त्यसरी नै विद्यार्थीको सिकाइको लेखाजोखा कसरी गरियो ? पाठ्यक्रमले निर्धारण गरेको मापदण्ड कति उपयोग भयो ? विद्यार्थी सिकाइ उपलब्धिको विश्लेषण भयो ? परीक्षा पछि विद्यार्थीले सिकाइ सूधारका लागि पृष्ठपोषण पायो त ? कमजोरी कहाँ के कुरा अनुभूति दिलाउन सकियो । मूल्याङ्कनका सबै मापदण्डको प्रयोग गरियो । २०७१ सालबाट विद्यालय शिक्षामा लागू भएको अक्षराङ्कन पद्धतिको पूर्ण कार्यान्वयन भयो ? यसका सजिला गाह्रा विषयलाई चिरफार गर्ने काम भयो कि भएन ?

यी र यस्तै कैयन विषयहरु सिकाइ सूधारका आवश्यक सर्त हुन् । सिक्नका लागि सिकारुमा आत्मवल चाहिन्छ, आत्मविश्वास चाहिन्छ । सिकारु प्रतिको माया आदर उनीहरुको विचारको कदर हुनु पर्छ । सिकारुमा गरिने व्यवहारले पनि सिकाइमा प्रभाव पार्दछ । सिकारुका अभिभावकहरुको आचरण, व्यवहार, शिक्षा, सम्पन्नता आदि पनि सिकाइमा प्रभाव पार्ने पक्ष हुन् । समय लगाव विद्यालयको आन्तरिक वातावरण अनुशासन, विद्यालय व्यवस्थापन समितिको दृष्टिकोण, सिकाइ सम्बन्धि योजना आदिले पनि महत्व राखेको हुन्छ । 

अन्त्यमा, 

सिकाइ सुधार सिकाइको कमजोर पहिचान गरेर त्यहिँ बाट तत्काल मात्र सम्भव हुन्छ । सिकाइका कमी कमजोरी सूधार गर्ने पक्ष कि त शिक्षक हो कि विद्यार्थी स्वयम् नै । यसमा पनि सिकाइ सुधारका क्षेत्र पहिचान गर्ने र त्यसलाई कार्यान्वयन गर्ने मूख्य जिम्बेवार भनेको शिक्षक नै हो । सिकाइ सुधारको वातावरण निर्माण गर्ने पक्ष घरमा अभिभावक, अन्य सरोकारवाला, नीति निर्माता लगायत अरु अरु पनि हुन सक्छन् । अतः सिकाइ सुधारको लागि सबैले आफ्नो तर्फबाट कोशिस गर्नु आवश्यक छ ।

दाहाल शिक्षक हुन् । 

प्रतिक्रिया