Edukhabar
विहीबार, ०६ बैशाख २०८१
विचार / विमर्श

पढेका कुरा सम्झने कसरी !

शनिबार, १० फागुन २०७६

धेरै विद्यार्थीका लागि पढ्नु भनेको एउटा कठिन काम हो । ’किन यत्रो धेरै पढ्नु परेको होला ?’ भनेर धेरै विद्यार्थी गुनासो गरिरहेका हुन्छन् । कसै कसैले आफूले जति पढे पनि दिमागमा नरहने भन्दै चिन्ता प्रकट गरिरहेका हुन्छन् । अर्थात् पढ्ने कुरा थोरै भइदियोस् वा पढ्नु नै नपर्ने अवस्था सिर्जना होस् वा पढेको कुरा सम्झि रहियोस् ।

धेरैले यो पनि सोच्दछन्, “जान्ने“ वा “पढनदास“ हरूले  मात्र राम्ररी पढ्न सक्छन् ! वास्तवमा  “जान्ने“ हरूले पढ्ने हो कि पढ्नेले जान्ने हो ?

धेरै जसो मानिसलाई पढाइ लेखाइको काम गाह्रो लाग्नुका पछाडि धेरै कारणहरू जोडिएका हुन्छन् । कतिले यस्ता कारणको खोजी गरेर समाधान तिर जान्छन् भने अरु कतिपय चाहिँ पढाइबाट दिक्क मान्दै भाग्न मात्र खोजिरहेका हुन्छन् । पढ्न र सम्झनका लागि विभिन्न तरिकाहरूको प्रयोग गर्न सकेमा थोरै समयमा पनि धेरै उपलव्धि हासिल गर्न सकिने, पढाइको तनाव कम हुने, सिकाइबाट साँचो अर्थमा आनन्द प्राप्त हुनाको साथै यसबाट नै जीवनको लक्ष्य प्राप्त गर्ने कुरामा सहयोग पुग्दछ ।

पढ्ने र सम्झने कला अपनाउन सकेमा वास्तवमा नै पढाइ निरस, दिक्कलाग्दो र कठिन नभई आनन्ददायक, फलदायी र दिगो हुन सक्दछ । पढेलेखेका कुरालाई राम्ररी सम्झनका लागि केही सरल उपायहरूको चर्चा तल गरिएको छ :

१. मौन अध्ययन गर्ने

विशेष गरी भाषागत कुराहरू (textual matter) पढ्दा आवाज निकालेर पढ्नुको सट्टा मौन वाचन (मनमनै पढ्ने काम) गरेमा ध्यान केन्द्रित हुने, थोरै समयमा धेरै कुरा पढ्न सकिने मात्र नभई पढाइबाट छिट्टै थकान अनुभव हुन पनि पाउँदैन । बोलेर पढेका बेलामा त्यसको भावतिर भन्दा पनि आवाज तिर धेरै ध्यान जाने गर्दछ । तसर्थ विद्यार्थीले कुनै पनि भाषागत कुरालाई मौन रुपमा अध्ययन गर्नु राम्रो हुन्छ ।

२. महत्वपूर्ण कुराहरू टिपोट गर्ने 

अनुच्छेद पढ्दा खेरी त्यहाँ भएका महत्वपूर्ण र अर्थपूर्ण शब्दहरू (key words) छान्दै  तिनीहरूलाई टिपोट गर्नु राम्रो हुन्छ । यसरी टिपोट गरिएका शब्दहरूलाई मात्र सम्झन सकेमा पनि पूरा अनुच्छेदको भावलाई नै बुझ्न गाह्रो पर्दैन ।

३. शब्द र वाक्यहरूलाई कलात्मक बनाउने 

कतिपय बुँदागत कुराहरू, उदाहरणहरू, मितिहरू, स्थानहरू, प्रकारहरू तथा कुनै अनुच्छेदबाट टिपिएका महत्वपूर्ण शब्दहरूलाई सम्झनका लागि निम्न उपाय अपनाउन सकिन्छ

– तिनीहरूलाई टिपोट गरेर एक अर्का शब्दलाई मिलाएर अनौठो लाग्ने खालको शब्द बनाउन सकिन्छ ।

– शब्द वा वाक्यको पहिलो अक्षरहरू मिलाएर सुत्र बनाउन सकिन्छ ।

– सम्भव भएसम्म यस्ता चीजहरूको शब्दमाला, सांकेतिक चित्र तथा शब्द भित्रका अक्षरहरूबाट अनौठो आकृति बनाएर पनि यस्ता कुराहरू याद गर्न सकिन्छ ।

–सम्झनु पर्ने कुरालाई अनुप्रास युक्त (rhyming) बनाउने वा आफूलाई मन पर्ने गीतको लयमा ढालेर पनि याद गर्न सकिन्छ ।

४. लेख्ने काम बढाउने

कसैलाई धेरै पटक पढ्दा पनि याद नहुने समस्या छ भने लेखेर अभ्यास गर्नु राम्रो मानिन्छ । लेख्दा पनि आफूले बुझ्ने शैलीमा वा छोट्याएर लेखेर अभ्यास गर्दा प्रभावकारी हुन्छ । यसरी छोट्याएको कुरालाई पछि प्रस्तुत गर्ने बेलामा वा परीक्षामा बढाउन पनि त्यति गाह्रो हुँदैन ।

५. दोहोर्याउने र दोहोर्याइ रहने 

जुनसुकै तरिका लगाएर स्मरण गर्न चाहे पनि पढेका कुरालाई नदोहोर्याउने हो भने त्यसलाई मान्छेले सजिलैसँग बिर्सन सक्दछ । यसर्थ आफूले पढेका कुराहरूलाई दोहोर्याएर स्मरणको प्रयास गरिरहने वा अभ्यास गरेका कुराहरूलाई बेलाबखत हेरिरहने गर्नुपर्छ ।

६. परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि

यस्तो अवस्थाका विद्यार्थीले पहिलेका परीक्षामा सोधेका वा त्यही शैलीका प्रश्न वा प्रश्नपत्रलाई सीमित समयावधि भित्र हल गर्ने अभ्यास गरिरहनु पर्छ । यसरी अभ्यास गरेका कुराहरू के कस्तो हुन पुगे भनी थाहा पाउन दक्ष व्यक्तिको सहयोग लिन पनि सकिन्छ ।

७. स्फूर्ति बढाउने कामहरूमा ध्यान दिने

विद्यार्थीले दैनिक रूपमा कसरत गर्नुस योगाभ्यास गर्नुस सन्तुलित, सादा र हल्का भोजन गर्नु, शरीरमा पानीको मात्रा मिलाइरहने, अध्ययनको बीच बीचमा विश्राम लिने, पर्याप्त आराम र निन्द्रा पुर्याउन सकेमा शरीर र मस्तिष्क दुवै स्फूर्त हुने गर्दछ । यस्ता कुराले गर्दा स्मरण शक्ति बढाउन धेरै नै सहयोग गरिरहेको हुन्छ ।

अध्ययनहरूले के बताएका छन् भने मानिसको मस्तिष्कको क्षमता असीमित हुन्छ । यसको अर्थ सबैले कुनै पनि कुरालाई स्मरण गर्न सक्दछ । वास्तवमा कसैको पनि स्मरण शक्ति भगवानको देन (god gifted) नभइकन दिमागी कसरत र निरन्तरको व्यवहारिक अभ्यासको खेल हो । आफूमा सधैँ ‘मैले स्मरण गर्न सक्छु’ भन्ने आत्म विश्वास राखिरहन सकेमा पनि पढेका कुराहरू दिमागमा रहन सहयोग मिल्दछ ।

लामिछाने मकवानपुर बहुमुखी क्याम्पस हेटौंडामा प्राध्यापन गर्छन् । आफ्नै केही अनुभव र संसारमा भएका विभिन्न अध्ययनले फेला पारेको तथ्यका आधारमा उनले यो आलेख तयार पारेका हुन् ।

प्रतिक्रिया