Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विचार / विमर्श

सिकाइका लागि जरुरी छ - मनोपरामर्श सहितको प्राज्ञिक गुण

बुधबार, २१ फागुन २०७६

शिक्षार्थीलाई मानसिक चिन्ताबाट मुक्त बनाई पठनपाठनमा ध्यानाकर्षण गराउन  शिक्षा मनोपरामर्श प्रभावकारी विधि हो । जसरी वैज्ञानिकहरुले विभिन्न तथ्यहरुको अनुसन्धान, निरीक्षण र परिक्षण गरी नियमको प्रतिपादन गर्दछन् त्यसरी नै शिक्षा मनोविज्ञान अन्तरगत शिक्षार्थीमा रहेका सकारात्मक वा नकारात्मक बानी, व्यवहार, स्वभाव, रुची, क्षमता लगायतका आन्तरिक एवं वाह्य समस्या वा गुणहरुको अनुसन्धान, अवलोकन र पहिचान गरी समाधान गर्नका लागि मनोविमर्श गर्नु पर्दछ । सिकारुहरुसंग अन्तरक्रिया, छलफल वा कुराकानीको माध्यमबाट समस्या पहिचान गरी समाधानका उपायहरुको खोजी गर्न सकिन्छ । उनीहरुका समस्याहरुको समाधान गर्न सकिन्छ ।

शिक्षण सिकाइमा बालमनो परामर्श अत्यन्त महत्वपूर्ण पक्ष हो । विद्यार्थीलाइ मानसिक रुपमा सिक्न सक्ने वातावरण तयार गर्नको लागि उनीहरुमा रहेको डर, त्रास, घात, आघात, रिस, आवेग, उत्तेजना वा खुसी आदि पक्षहरुको अध्ययन र जानकारी हुन आवश्यक हुन्छ । सिकारु आन्तरिक रुपमा सिकाइ प्रति तत्पर नभएसम्म शिक्षण सिकाइ सफल हुन सक्दैन । सिकाइ प्रभावकारी हुुँदैन । शिक्षार्थीलाइ कक्षामा पढाउने र पढ्ने वातावरण तयार गर्नको लागि उनीहरुमा पढाई लेखाई प्रति सकारात्मक साेंचाइको विजारोपण गर्नु शिक्षण सिकाइको महत्वपूर्ण कार्य हो ।

शिक्षा मनोविज्ञान शिक्षार्थीको समस्याहरुको अनुसन्धान, पहिचान र समस्या समाधानका लागि गरीने आन्तरिक परामर्श भएकोले शिक्षक, विद्यालय प्रशासन, अभिभावक लगायतले उनीहरुमा रहेको समस्याहरु वा मनोरोगको अध्ययन, अनुसन्धान गरी  निराकरणको उपाय अपनाउनु पर्दछ । यसो गर्दा उनीहरुको राय लिनु पर्दछ ।  के गर्दा उ आपूmले भोगी रहेको समस्या बाट मुक्ति पाउन सक्छ ?  निरास हुन बाट जोगिन सक्छ ? हौसला मिल्न सक्छ ? आन्तरिक रुपमा उर्जा पाउन सक्छ ? जस्ता मनौवैज्ञानिक उपचारहरु गर्न मनोपरामर्शको खाँचो हुन्छ ।

शिक्षालयहरुमा अध्ययनको लागि आउने शिक्षार्थी विभिन्न पृष्ठभूमिका हुन्छन् । आर्थिक, लैङ्कि, भाषिक, साँस्कृतिक, धार्मिक शारिरिक, मानसिक, वौद्घिक लगायतका विविधता भएका विभिन्न उमेर समूहका बालबालिका, किशोर किशोरीहरु शिक्षालयहरुमा अध्ययनको लागि आउँछन् । गुरु जनहरुले शिक्षार्थीमा उमेरको वृद्घिसंगै आउने परिवर्तन, विकसित हुने व्यवहार, क्षमता, स्वभाव, आचरण, चाहना लगायतका बिषयहरु जानकारी राख्नु पर्दछ । बालबालिकाहरुको इच्छा एव आकाँक्षाको सम्बोधन विना गरिने शिक्षण सिकाइ एकोहोरो हुन्छ । शिक्षण त होला तर सिकाइ हुन सक्दैन । तसर्थ गुरुजन तथा विद्यालय प्रशासनले बालमनोविज्ञानको अध्ययन गर्न आवश्यक हुन्छ ।

हरेक उमेर समुहका शिक्षार्थीमा आ–आप्mनै किसिमका समस्याहरु हुन्छन् । घर, परिवार, स्वास्थ्य, पढाईको तनाव आदि इत्यादी समस्याहरुमा वेसहारा भएको अवस्थामा बालबालिकाहरुमा पढाई प्रति रुची हुँदैन । आन्तरिक रुपमा उनीहरु सिकाइ प्रति तयार हुन सक्दैनन् । विभिन्न प्रकारका मानसिक तनावहरुले उनीहरु निरासा, कुण्ठा र आत्मग्लानीले कमजोर भएका हुन सक्छन् । मानसिक पिडा र दोधार मनस्थितिहरुबाट छुटकरा पाउनको लागि गुरुजनहरुको सहयोगको आवश्यकता परिरहेको हुन सक्छ । तसर्थ विद्यालय प्रशासन तथा गुरुहरुले शिक्षार्थीको व्यवहार, चाल चलन, स्वभावको अवलोकन गरी समस्याहरुको पहिचान गर्न मनोपरामर्श गर्नु पर्दछ ।

बालबालिकाहरुमा रहेका विभिन्न झमेला, तनाव र निरासाहरुबाट मुक्त बनाई सकारात्मक सोचको विकास गर्नको लागि शिक्षालयहरुको ठूलो भूमिका हुन्छ । शिक्षार्थीका पढाई लेखाईमा शिक्षालय प्रशासन, शिक्षक शिक्षिकाहरुको भूमिका, साथीहरुको संगत लगायतका तत्वहरुले प्रभाव पारेको हुन्छ । शैक्षिक व्यवस्थापन तथा गुरुजनहरुको व्यवहारले शिक्षार्थीको मनमा परेको चोट, तनाव, नकारात्मक असर तथा मानसिक क्षोभ लाई हटाएर उनीहरुलाई शिक्षण सिकाइमा प्रेरित गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

शिक्षा मनोविद् रुशोले विद्यार्थी एउटा सिङ्गो पुस्तक हो र शिक्षकहरुले त्यो पुस्तक रुपी विद्यार्थीका प्रत्येक पेजहरु पढेको हनु पर्दछ भनेझंै उनीहरुमा निहित विभिन्न पृष्ठभूमी, प्रतिभा, क्षमता, सिर्जनशीलता लगायत  समस्या र कठीनाईहरुको जानकारी विनाको शिक्षण सिकाइ उपलब्धीमुलक हुन सक्दैन । यस अर्थमा गुरुजनहरुले शिक्षार्थीमा रहेका आन्तरिक र वाह्य समस्या तथा चाहनाहरुको बारेमा जानकारी राख्नु पर्दछ । र समस्या समाधानको साधक बन्नु पर्दछ ।  

विद्यालय उमेर समुहका किशोर किशोरीहरु अनेक प्रकारका समस्याहरुले सताईएका हुन सक्छन् । पारिवारिक, सामुदायिक, व्यक्तिगत, शिक्षालय प्रशासकहरुको शासन, गुरुजनहरुको व्यवहार, सहपाठीहरुको संगत, अग्रज साथीहरुको व्यवहार, वुलिङ्गको तनाव, शिक्षालयको वातावरण लगायतका तत्वहरुले प्रत्यक्ष वा परोक्ष रुपमा प्रभाव पारीरहेको हुन्छ । यी र यस्ता प्रकारका तत्वहरुले शिक्षार्थीको अध्ययन प्रतिको रुचीमा असर गरीरहेको हुन्छ । उनीहरुको कलिलो मस्तिष्कमा परेको असरले व्यवहार र प्रगतिमा उतार चढाव हुन सक्छ । सहजै बाहिर आउन नसकेका आन्तरिक कथा र व्यथाहरुले सताईएको अवस्थामा मनोपरामर्शले ठूलो काम गर्दछ । उनीहरुमा आईपरेका समस्याहरुको निराकरणको लागि मनोविमर्शले प्रभावकारी भूमिका खेल्दछ । यसले खुट्टामा बिझेको काँडा नकाले जस्तै उनीहरुमा रहेको मानसिक तनाव र समस्यालाई पखाली दिन सक्छ । हटाई दिन सक्छ ।

हाम्रो देशको सन्दर्भमा शिक्षा मनोविज्ञानको पक्ष अत्यन्त कमजोर भएको मनोविदहरु बताउँछन् । शिक्षालयहरुमा मनोपरामर्शदाताको व्यवस्था छैन । गुरुहरुसँग बालमनोविज्ञानको प्राज्ञिक गुण सन्तोषजनक नभएको गुनासो छ । एकातिर शिक्षालयहरुमा विद्यार्थीका मनोदशाको अध्ययन गर्ने संस्कृति नहुँदा उनीहरुका खुसी, हर्ष, ईच्छा निरासा, कुण्ठा, पीडा लगायतका प्रेरणा र आवेगहरुको व्यबस्थापन हुन नसक्दा पढाईमा कमजोर हुने, पढाई प्रतिको रुची घट्ने र अन्त्यमा विद्यालय छाड्ने समस्याहरु व्याप्त भएको तथ्याङ्क छ भने अर्कोतिर गुरुजनहरुले शिक्षार्थीमा भएको प्रतिभाकोे पहिचान गर्न नसक्दा उनीहरुको क्षमता, सिर्जनशीलता र शैक्षिक उर्जा ओझेलमा पर्ने गरेको प्राज्ञिक बुझाई छ ।

शिक्षा दिने दायित्व राज्यको हो । राज्यले शिक्षामा ठूलो लगानी गरेको छ । शिक्षामा गरिएको लगानी वालुवामा पानी खन्याए सरह भएको जनगुनासो पनि छ । विद्यालय भवनहरुमा शिक्षार्थी र गुरुजनहरु भेला भएर मात्र शिक्षण सिकाइ हुन सक्दैन । शिक्षण सिकाइ प्राविधिक कार्य भएकोले यससंग जोडिएका भौतिक र मनोवैज्ञानिक प्रविधिहरुको प्रयोग नभई उपलब्धी मुलुक सिकाइ संभव छैन । शिक्षालयहरुलाई अब्बल र गुणस्तरीय बनाउन राज्यले शिक्षाको क्षेत्रमा आवश्यक पर्ने, गुणस्तरीय शिक्षण सिकाइ, विद्यार्थी मैत्री शैक्षिक वातावरण, नियन्त्रण, नियमन र मूल्याङ्कन आवश्यक ठानिन्छ ।

शैक्षिक सत्रको शुरुआत संगसंगै राज्यले विद्यार्थी भर्ना अभियानलाई सञ्चालन गर्ने गरेको छ । तथापि मुलुकमा लाखौंको संख्यामा विद्यालय उमेर समूहका बालबालिकाहरु विद्यालय शिक्षाको पहुँच भन्दा बाहिर छन् । समाजमा रहेको गरिवी, अभाव, पछौटेपन र चेतनाको अभाव जस्ता सामाजिक मनोविज्ञानको गहिरो अध्ययन गरी अभिभावकहरुमा शैक्षिक चेतनाको जागरण नगराएसम्म विद्यार्थी भर्ना गर्ने विज्ञापन र शैक्षिक नाराले विपन्न वर्गका समुदायहरुबाट बालबालिकाहरु विद्यालय आउन सक्दैनन् । एकातिर अभिभावकहरुलाई शैक्षिक चेतनामूलक कार्यक्रम, परामर्श, अन्तरक्रिया, बहस र छलफलको खाँचो देखिन्छ भने अर्कोतिर शिक्षालयहरुलाई  भर्ना भएका शिक्षार्थीलाई टिकाउन र सिकाउन त्यत्तिकै चुनौति छ ।

शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार भर्ना भएका विद्यार्थीले विद्यालय परीक्षा दिन समयसम्म विभिन्न कक्षाहरुमा लगभग ६० प्रतिशत विद्यार्थीले बीचैमा विद्यालय छाडेको देखिन्छ । यति ठूलो संख्यामा प्रत्येक बर्ष विद्यालय छाड्ने विद्यार्थीको मनोविज्ञानको अध्ययन गरिएको छैन । शिक्षार्थीले किन विद्याालय छाडे ? विद्यालय छाडेका ती विद्यार्थी कहाँ छन् ? के गर्दै छन् ? विद्यालय छाड्नको पछाडिका कारणहरु के के हुन् ? यस बिषयमा शिक्षा मन्त्रालय लगायतका राज्यका संयन्त्रहरु अनभिज्ञ छन् ।  

गरिवी, अभाव,पछौटेपन तथा बाढी, पहिरो, भूकम्प जस्ता प्राकृतिक प्रकोपबाट प्रभावित भएका घरपरिवारहरुका बालबालिकाहरुले वाध्यताबस विद्यालय जान सकेका छैनन् । उनीहरुमा मनोवैज्ञानिक डर, त्रास र मानसिक तनाव छ । जीवनमा आईपरेका समस्याहरुबाट मुक्त बनाई सामान्य जीवनमा फर्कनको लागि राय, सल्लाह, सुझाव, मनोविमर्श जस्ता अन्तरक्रियाको ठूलो अभाव छ । प्राकृतिक प्रकोप लगायतका विभिन्न कारणहरुबाट पढाई छाड्न वाध्य भएका बालबालिकाहरु अभिभावक र उनीहरुलाई परामर्शको खाँचो छ । मन वलियो बनाएर सकारात्मक सोचका साथ विद्यालय पुनआगमनको लागि वातावरण सिर्जना गर्न आवश्यक हुन्छ ।

शिक्षालयहरु दक्ष, अनुशासित, कर्मशील, सरल, सभ्य, सुसंस्कारि जनशक्ति उत्पादन गर्ने थलो हुन् । अनुशासन विनाको शिक्षाले व्यक्ति, घर–परिवार, समाज र देशलाई योगदान दिन सक्दैन । व्यक्ति शिक्षित भए पनि असल र सुयोग्य बन्न सक्दैन । नागरिकमा नैतिकता, शिष्टता, सभ्यता, शालीनता, व्यवहारिकता, मानवता, परोपकारी चिन्तन र लोककल्याणकारी भवनाको विकास नभएमा सामाजिक अनुशासन कायम हुन सक्दैन । तसर्थ शिक्षालयहरुले शिक्षण सिकाइमा विद्यार्थीका मनोरोगहरुको पहिचान एवं उपचार गरी उनीहरुको सर्वाङ्गीण विकासको लागि सिर्जनात्मक भूमिका खेल्नु पर्दछ ।

प्रतिक्रिया