Edukhabar
विहीबार, १५ चैत्र २०८०
विचार / विमर्श

बालबालिकालाई डिजिटल डिभाइस : श्रीखण्ड कि खुर्पाको बिँड ?

आइतबार, १४ बैशाख २०७७

संसारमा सूचना प्रविधिको विकास क्रम तीव्रतर गतिमा अगाडि बढिरहेको छ ।  सबै खालका मानिसलाई यसले प्रभावित पार्न सफल भइरहेको छ । केही वर्षको बीचमै स्मार्ट फोन, ट्याबलोईट, ल्यापटप, स्मार्ट टिभी, स्मार्ट वाच, ब्लु टुथ डिभाइस आदि साधनहरू आम मानिसका लागि एकदमै सामान्य बनिसके । सूचना प्रविधिको गति यतिमै सीमित भएर बसेको भने छैन । मानिसले यस्ता कुराबाट अनेकौँ खालका फाइदाहरू लिन सक्ने अवस्था पनि आइसकेको छ ।

यद्यपि यसका सबल पक्षहरू मात्र चाहिँ छैनन् । धेरै मानिसहरूको महत्वपूर्ण समयलाई यसले नराम्ररी खाइरहेको छ । धेरै अभिभावकले बालबालिकाको दैनिकी, आनीवानी र पढाइमै गम्भीर असर पारिरहेको भनेर डिजिटल दुनियाँ माथि अनेकौँ प्रश्नहरू पनि तेर्स्यारहेका छन् ।

पछिल्लो समय कोरोना भाईरसको जोखिम नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन गरेसँगै विद्यालयहरु बन्द छन् । यस्तो बेला यस्ता डिभाईसमा पहुँच भएका बालबालिकाको समय यसमै वितिरहेको छ । यही सन्दर्भमा लामो समय पठन पाठनबाट बाहिर राख्दा बालबालिकामा नकारात्मक प्रभाव पर्ने भन्दै कतिपय विद्यालयले ईण्टरनेटका माध्यमबाट पठनपाठन शुरु गर्न थालेका पनि छन् । एकातिर बालबालिकाको बढ्दो डिजिटल डिभाइसको प्रयोग र यसले निम्त्याउने खतराका बारेमा चर्चा जारी छ भने अर्कातिर पठनपाठनको साधनका रुपमा डिजिटल डिभाइसको उपयोग पनि शुरु भएको छ ।

यति हुँदा हुँदै पनि बालबालिकाले डिजिटल डिभाइस प्रयोग गर्ने सन्दर्भमा व्यापक छलफलको जरुरीको खाँचो छ ।

के यस्ता कुराबाट उनीहरूलाई जतिसक्दो टाढा राख्ने कोसिस गर्ने हो ?

के यी कुराहरू मानिसलाई बिगार्ने उद्देश्यले नै बनाइएको हो त ? वा बदलिएको दुनियाँ अनुसार चल्नलाई उनीहरूलाई यस्ता साधनहरूको प्रयोगमा बेरोक तोक पो छाडिदिने हो कि ? बालबालिकामा पर्न सक्ने प्रभावका बारे बुझ्न हामीले यिनै प्रश्नको जवाफ खोजी गर्नु जरुरी छ ।

डिजिटल डिभाइस तथा यसमा पाइने सामग्रीबाट पर्न जाने प्रभावका बारे जान्नुअघि निर्माणकर्ताले ती कुराहरूमा सजिलै आकर्षित गराउन के कस्तो प्रयास गरेका हुन्छन् भन्ने बुझ्नु जरुरी छ । डिजिटल दुनियाँमा के कस्ता कुराहरूको खोजी बढी गरिन्छ, कसरी प्रस्तुत गर्दा बढी ध्यान तान्न सकिन्छ, कसरी मानिसहरूलाई भुलाउन र मनोरञ्जन दिन सकिन्छ, कसरी यसलाई सजिलो तथा छरितो बनाउन सकिन्छ भन्ने जस्ता कुराहरूमा व्यापक अनुसन्धान गरेर डिजिटल डिभाइस तथा यसमा रहने सामग्रीहरू तयार गरेर राखिएको हुन्छ । यिनै कारणहरूले गर्दा मानिसले एक पटक यस्ता चीजहरूको प्रयोग गरेपछि बारम्बार चलाइरहन मन लाग्ने भइरहेको हुन्छ ।

अब कुरा गरौँ बालबालिकाको लागि कसरी डिजिटल संसारलाई बढीभन्दा बढी फलदायी बनाउने र त्यसको गलत असर पर्न नदिने भन्ने बारेमा । डिजिटल दुनियाँभित्र शयर गर्ने हो भने यसमा मानिसले खोजेका धेरै कुराहरू (सबै होइन, यसका कयौँ सीमितताहरू पनि छन् ) पाउन सकिन्छ । डिजिटल दुनियाँ बरदान कि अभिषाप भन्ने कुरा  वास्तवमा यसको प्रयोगमा निर्भर रहन्छ । जे जसरी प्रयोग भइरहेको हुन्छ, त्यही खालको नतीजा र प्रभाव पनि यसले दिइरहेको हुन्छ । कतियपले सोच्दछन् मोबाइल वा अन्य डिजिटल डिभाइसहरू चलाउनबाट रोक लगाउनु नै यसको उत्तम विकल्प हो । तर यसरी रोक लगाउनु तत्कालको लागि राम्रो देखिए पनि यसको खास परिणाम भनेको  बालबालिकालाई सूचना प्रविधिको संसारबाट टाढा बनाउनु नै हो । सूचना प्रविधिबाट टाढा बनाउनु भनेको उनीहरूलाई पछाडि पार्नु हो । यस्तो बेला के गर्ने त आफ्ना बालबालिकाहरूलाई ? अवश्य पनि प्रश्न गम्भीर छ । वास्तवमा हामीले बुझ्नु के जरुरी छ भने सूचना प्रविधिका आधुनिक साधनहरू खराब होइनन् तर त्यसको प्रयोग सही किसिमले नहुनु चाहिँ ठूलो चुनौती हो । चक्कुलाई आवश्यक चीज भन्ने कि अनावश्यक भन्ने भनेको जस्तै हो । बालबालिकामा यसको फलदायी प्रयोग गर्ने र गराउने भन्ने सन्दर्भमा के के कुराहरूमा जोड दिने त ? यहाँ अभिभावकहरूका लागि केही सुझावहरू प्रस्तुत गरिएको छ ।

१. बालबालिकाका अगाडि अभिभावकले पनि डिजिटल डिभाइसहरू अनावश्यक रुपमा प्रयोग नगर्ने

बिना खास उद्देश्य र प्रयोजन सामाजिक सञ्जालहरू चलाउन वा युट्युब हेर्न तथा मोबाइल गेम खेल्नमा भुल्ने अभिभावकहरूबाट बालबालिकाहरू सही किसिमले प्रेरित हुन सक्दैनन् ।

२. केको लागि त्यसको प्रयोग गर्ने भन्ने बारे सचेत गराउने

धेरै मानिसले मोबाइल फोन वा अन्य यस्तै साधनहरू चलाइरहने तर खास केको लागि चलाइरहेको छु भन्ने चाहिँ खोज्दैनन् वा खोज्न  चाहँदैनन् । त्यसमा समय बिताए पछिको उपलब्धि के रह्यो भनेर आफैँलाई सोध्ने हो भने उनीहरूसँग खास कुनै जवाफ नै हुँदैन । बालबालिकालाई पनि कुनै न कुनै सही उद्देश्यका साथ यस्ता साधनहरू चलाउने प्रेरित गर्ने हो भने त्यसले उपलब्धि मुलक नतिजा दिने सम्भावना नै बढी रहन्छ ।

३. बालबालिकाको रुचि कस्तो सामग्रीमा वा के गर्नमा बढी छ भन्नेमा जानकार रहने

अभिभावकले आफ्ना बालबालिकाहरूको खास रुचि र झुकाव के कस्ता कुरामा छन् भन्ने कुरा थाहा पाउनका लागि बेलाबखत उनीहरूसँग नजिक भएर कुराकानी गर्नुपर्छ । यस्ता कुरा बुझे पछि उनीहरूलाई डिजिटल डिभाइसहरूमा सोही अनुसारका सामग्रीहरू प्राप्तिका लागि सहजीकरण गर्न सकिन्छ ।

४. कुन सामग्री बढी महत्वपूर्ण छ भन्ने कुरा जानकारी गराउने

बालबालिकाहरू कहिलेकाहीँ अनलाइनमा वा मोबाइल एपमा कम महत्वका, निरर्थक वा उल्टो असर गर्ने खालका कुरामा अल्झिरहेका हुन सक्दछन् । उनीहरूलाई त्यही कुरा बढी महत्त्वपूर्ण लागिरहेको पनि हुन सक्छ । यस्ता बेला अभिभावकले डिजिटल दुनियाँका सामग्रीमध्ये कुन महत्वपूर्ण हो र कुन होइन भन्ने ज्ञान दिनु आवश्यक हुन्छ ।

५. डिजिटल सामग्रीको प्रयोग गर्ने बहाना कम गर्न  वैकल्पिक कुराहरूको लागि प्रेरित गर्ने

डिजिटल डिभाइसको बानी हुँदै गएपछि बच्चाहरू त्यतातर्फ लाग्नका लागि विभिन्न बहानाहरू खोजिरहेका हुन्छन् । एकदमै सामान्य र नभए पनि फरक नपर्ने कुराहरू छन् भने सकेसम्म ती कुराहरूको विकल्पतिर लाग्न अभिभावकले प्रेरित गर्नुपर्दछ । जस्तै, मोबाइल डिक्सनरीको सट्टा डिक्सनरी किताब, मोबाइलको क्याल्कुलेटरको सट्टामा छुट्टै क्याल्कुलेटरको प्रयोग गर्न लगाउने आदि ।

अभिभावकहरूले थोरै मात्र सतर्कता अपनाएर केही समय दिने हो भने बालबालिकालाई स्मार्ट फोन, कम्प्युटर र ईण्टरनेटबाट अनेकौँ फलदायी कुरातर्फ केन्द्रित गराएर स्क्रिनको नसा (screen addiction) को सट्टा स्क्रिनबाट फाइदा (screen benefits) तर्फ मोड्न सकिन्छ । उनीहरूको पढाइ, स्तर र रूचिका कुराहरू ईण्टरनेटमा खोज्न सिकाउनु, त्यसको प्रयोग गरी कुनै नयाँ ज्ञान र सीपको विकास गर्न प्रेरित गर्नु तथा त्यसमा पाइने कस्ता सामग्रीको असर के कस्तो पर्दछ भन्ने समेत जानकारी दिन सक्नु नै यसको सही प्रयोग हो ।

लामिछाने मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडामा अध्यापन गर्छन् ।

प्रतिक्रिया